|

  • दीपक शर्मा-

सल्यान: उचित संरक्षण र प्रचारको अभावमा सल्यानमा रहेको प्रसिद्ध धार्मिक तथा पर्यटकीय क्षेत्र ढकढके ओझेलमा पर्दै गएको छ। क्षत्रेश्वरी गाउँपालिका ५ लेखपोखरा, ढकढकेमा अवस्थित यो क्षेत्रमा गुफा, मन्दिर, ढुंगाको मादल, ढुंगेपानी, ढकढके ढुंगा रहेका छन्। 

गुफाको प्रवद्र्धनमा समेत सम्बन्धित निकायले खासै ध्यान नदिँदा ओझेलमा परेको स्थानीयवासी ध्वजबहादुर पुनको भनाइ रहेको छ। ‘प्राकृतिक सुन्दरताले भरिएको यस गुफाको अहिले संरक्षणमा कुनै पहल हुन सकेको छैन। यसको संरक्षण र प्रचारप्रसार गर्न सके संभावनाका धेरै मुहानहरू खुल्थे’ उनले भने। 

के-के देख्न सकिन्छ ढकढके क्षेत्रमा?

जिल्लाको सदरमुकाम खलंगादेखि झण्डै आठ कोष टाढाको दूरीमा रहेको यस क्षेत्रले चर्चा बटुल्न सकेको छ्रैन। चारैतिर हराभरा जंगल लेकको टुपोमा रहेको शिद्ध बाबाको मन्दिरले पनि यसको महत्व बढाएको छ। जहाँ हरेक वर्ष कोजाग्रत पूर्णिमाको दिनमा भब्य मेला लाग्ने गर्दछ। मन्दिरमा गएर पूजापाठ गर्दा आफ्नो मनोकांक्षा पूरा हुने जनबिश्वास रहेको छ।

मन्दिरको नजिकमा ढकढके ढुंगा रहेको छ। जुन ढुंगाको रहस्य पनि बिचित्र रहेको छ। त्यस ढुंगाको टुप्पोमा जान सबै सक्दैनन्, जुन ब्यत्तिः जान्छ, त्यो भाग्यमानी हुने बिश्वास रहेको छ। यस ढुंगा हल्लिएमा मात्रै पानी पर्ने जनबिश्वास पनि रहिआएको छ। मन्दिरको नजिकमा ढुंगैढुंगाको ढुंगे पानी रहेको छ। जो दुध दुहुने गाबु आकारको रहेको छ। यसमा पानी बाह्रै महिना भइरहन्छ। न त यसको कतै पानी आउने मुहान छ। न त पानी बगेर जाने ठाउँ छ। तर यहाँ बाह्रै महिना पानी रहेको हुन्छ। त्यहाँबाट पानी निकालेको केही दिनपछि आउँदा पानीले भरिएको हुने गरेको स्थानीयको भनाई छ। 

मन्दिरदेखि करिब ५०० मिटर तल लेकको फेदमा चाँदनी सात सते गुफा रहेको छ। हेर्दा आश्चार्य लाग्ने यस गुफाभित्र बिभिन्न प्रकार प्राकृतिक मूर्तीहरू रहेका छन्। गुफाभित्र भगवानका आकृतिहरू हुनुको साथै बिभिन्न जनाबरका आकृतिहरू पनि रहेका छन्। यस गुफाभित्र ढुंगाको मादल रहेको छ। त्यहाँ रहेको ढुंगालाई हिर्काउदा मादल बजे जस्तै आवाज आउने स्थानीयले बताए। गुफामा ७ वटा तला भएको स्थानीयको भनाई छ। गुफाभित्र हजारौँ चमेराहरु समेत रहेका छन्।

कहिले हुन्छ गुफाको अनुसन्धान 

नेपाल कै ठूलो गुफाको रुपमा स्थानीयले दाबी गर्दै आएको यस गुफाको बारेमा अध्ययन अनुसन्धान अझै हुन सकेको छैन। एक सताब्दी पहिले स्थानीय कुलबहादुर पुनले गाइबाख्रा चराउन जंगल गएको बेला उक्त गुफा देखेका थिए। 

अहिलेसम्म गुफाको विषयमा अध्ययन र अनुसन्धान नभए पनि करिब ३० मिटर चौडाई, १५ मिटर उचाई र लम्बाई ३०० मिटर बढी भएको स्थानीयको दाबी छ। यस्तै गुफा सात तलाको भए पनि अहिलेसम्म तीन तलासम्म मात्रै पुग्ने गरेको स्थानिय बताउँछन्। गुफामा चाँदी जस्तै टल्कने टल्कएमा वस्तु भए पनि त्यसको अझैसम्म अनुसन्धान हुन सकेको छैन। 

संरक्षणको पखाईमा गुफा

बि.सं. २०६५ सालको गाउपरिषद बाट रकम बिनियोजन गरेर यस गुफामा गेट निर्माण गरिएको थियो। त्यसयता सांसद प्रकाश ज्वालाको सांसद बिकास कोषको रकम र पर्यटन कार्यालय भैरहवाको आर्थिक सहयोगबाट अहिले गुफाको नजिकमा पर्खाल, गुफादेखि मन्दिर सम्म सिढी लगायतका निर्माणका कामहरू सम्पन्न भएका छन्। 

गुफाको संरक्षण गर्नु पर्छ भनेर स्थानीयले चाँदनी साततले गुफा संरक्षण समिति नामक एक समिति गठन गरेर संरक्षणको लागि अगाडि बढे पनि सरोकारवालाहरूले ध्यान नदिँदा यस गुफा अझै पनि ओझेलमा परेको समितिका अध्यक्ष यामबहादुर पुनले बताए। यस गुफामा मोटरबाटो, बिजुली बत्ती, खानेपानी आदिको व्यवस्था नहँुदा आन्तरिक तथा बाह्य पर्यटकहरू कम मात्रामा आउने गरेको उनले दुखेको पोखे। 

गुफामा मोटरबाटो, बिजुली बत्ती, खानेपानी आदिको व्यबस्था भएसँगै प्रचारप्रसारलाई व्यापक रुपमा अगाडि बढाउन सके पर्यटकहरूको संख्यामा पनि बृद्धि हुने उनले बताए। सो क्षेत्रको उचित संरक्षण र प्रचार गर्नसके आन्तरिक र बाह्य पर्यटनमा विकास हुने स्थानीयवासीको भनाइ छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.