|

काभ्रेपलाञ्चोक : जिल्लाको मण्डन देउपुर नगरपालिका-७ बाट वडा अध्यक्षसहित द'ई जनालाई विद्युत चोरी गरेको आरोपमा पक्राउ गरिएको छ। नेपाल विद्युत प्राधिकरण बनेपा शाखाका प्रमुख इञ्जीनियर रविन्द्र यादवका अनुसार विद्युत लाइनबाट सिधै हुकिंग गरी कुखुरा फार्म सञ्चालन गरेको अवस्थामा विद्युत प्राधिकरणको टोलीले बिहिबार पक्राउ गरेकाे हो। 

पक्राउ पर्नेमा मण्डनदेउपुर नगरपालिका-७ का वडा अध्यक्ष नारायण लम्साल र सोही ठाउँका सन्तोष लम्साल रहेको यादवले बताए। ‘उनीहरूले मुख्य लाइनबाट विद्युत हुकिंग गरी चोरी गरेर कुखुरा फार्म चलाएको अवस्थामा फेला पारी पक्राउ गरिएको छ।’ यादवले भने, ‘फार्म कुनै पनि निकायमा दर्ता नगरी नै सञ्चालनमा ल्याएको पाइएका छ।’

पक्राउ पर्नेहरूलाई विद्युत चोरी ऐन २०५९ अनुसार कारवाही हुने उनले बताए। प्राधिकरणले हालसम्ममा जिल्लाभरि नै विद्युत मुख्य लाइनबाट हुकिंग गर्ने, मिटर विगारेर प्रयोग गर्ने लगायतका क्रियाकपलामा संलग्नहरू २१७ जनालाई पक्राउ गरी कारवाही  गरेको जनाइएको छ।
 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.