|

गुल्मी : जिल्लाका विभिन्न स्थानमा सडक निर्माणमा प्रावधानविपरीत माटोसहितको गिट्टी र बालुवा प्रयोग गरेको पाइएको छ। घुम्ती, चारपाला, खरज्याङ, जुभुङ, झिरबास, मजुवा, शान्तिपुर सडक निर्माणमा पूरै माटो मिसिएको गिटी प्रयोग भएको पाइएको हो।

  निर्माण व्यवसायीहरूले  वर्षौंसम्म चल्ने सडकहरू निर्माणमा यसरी ठगेपश्चात कसरी सडक मजबुत बन्ने हो भन्नेमा स्थानीयहरूले चिन्ता व्यक्त गरेका छन्।  एक त निर्माण व्यवसायीहरूले समयमा काम गर्दैनन् भने आर्थिक मसान्त समाप्त हुन थाल्दा धमाधम काम त गर्छन् यसैमा पनि ठग प्रवृतिका साथ।

निर्माण व्यवसायी आशिष हरिहर पन्थको ठेक्का नं ४७ मा रु १० करोड ९२ लाखमा ठेक्का परेको काममा सुनिल समिर, बासुरी जेभी निर्माण सेवाले काम गर्दै आएको तम्घास, सिमलटारी, प्युठान सडक परियोजनाका इन्जिनियर अच्युत बिलास पन्तले बताए। उनका अनुसार सो सडक खण्डमा ५ किलोमिटर ग्राभेल र १२ किलोमिटर कटिङको कार्य गर्ने गरी काम भइरहेको छ।

सडक निर्माणको क्रममा नालीमा पहिले ढलान गर्दा माटोवाला गिट्टी प्रयोग भएको र बालुवा र गिट्टीको मात्रा नमिलेको पन्तले बताए। यदि गिट्टीमा माटोको मात्रा भएमा त्यसलाई धोएर राख्नुपर्ने निर्माणमा प्रावधानसमेत रहेको परियोजनाका प्रमुख सुजन अधिकारीले बताए।  अधिकारीका अनुसार निर्माणमा त्यस्तो अनियमितता भएको पाइएमा निर्माण व्यवसायीलाई कारवाही गरिने बताए।

निर्माण हुँदै गरेको सडकका साइड इन्जिनियर अच्युत विलासपन्तले सडक निर्माणमा यसरी माटोवाला गिट्टी प्रयोग गर्न नहुने भन्दै यसलाई सुधार गर्दै लैजाने बताए। निर्माणमा त्यस्तो खालको गिट्टी प्रयोग भएको र अबदेखि त्यसो नगर्ने  उनले सुनाए। सो सडक निर्माणको ठेक्का २०७३ साल कार्तिकमा सम्झौता भएको हो। २०७५ साल चैतमा काम सम्पन्न गर्नुपर्ने समयसीमा छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.