|

काठमाडौं : नेकपाका सांसद खगराज अधिकारीले पूर्ववर्ती सरकारले बिरामीलाई दिने भनी घोषणा गरेको पैसा आफैँले खोसेको आरोप लगाएका छन्। प्रतिनिधिसभाको शुक्रबारको बैठकमा स्वास्थ्य मन्त्रालयअन्तर्गत विभिन्न शीर्षकमा विनियोजित बजेटमाथिको छलफलमा आफ्नो धारणा राख्दै पूर्वस्वास्थ्यमन्त्री अधिकारीले  तात्कालीन प्रधानमन्त्री शेरबहादुरले नै विरामीको पैसा खोस्न लगाएको आरोप लगाएका हुन्।

पूर्ववर्ती कांग्रेस नेतृत्वको सरकारले बाहिरिदै गर्दा बिनाबजेट शीर्षकमा किड्नी, स्पाईनल इन्जुरी,  स्ट्रोकका विरामीलाई  प्रतिमहिना पाँच हजार रुपैयाँ भत्ता दिने निर्णय गरी हस्पिटलमा नाटक मञ्चन गर्ने काम गरेको टिप्पणी गरे। उनले पूर्वस्वास्थ्यमन्त्री गगन थापालाई व्यङग्य गर्दे भने, 'पूर्वमन्त्री गगन थापाले नै यो काम गर्नुहुन्थ्यो होला। उहाँले खोज्दाखोज्दै नपाएर छोड्नुभयो होला।'

किड्नीको फ्रि ट्रान्सप्लान्ट र विरामीलाई भत्ता दिने निर्णय गरेको सरकारका प्रधानमन्त्रीले नै विरामीको पैसा खोसेको आरोप उनले लगाए। उनले भने, 'तिमीलाई पैसा दिएँ भनेर कसैले पैसा पाएको छैन। पैसा पाउँदाको भोलिपल्ट खोस्न सम्मानिय प्रधानमन्त्री शेरबहादुर देउवाले नै लगाउनुभयो भनेर त्यही बिरामीले भन्छ।'

स्वास्थ्यलाई पूर्ववर्ती सरकारले खेलवाडको रूपमा लिएको भन्दै उनले भने 'स्वास्थ्य खेलवाड गर्ने ठाउँ होइन।'

आफ्नै नेतृत्वमा स्वास्थ्य नीति बनेको र त्यसकै आधारमा  १५ जिल्लामा सुरु गरेको स्वास्थ्य बिमा पाइलटिङ कार्यक्रमको श्रेय सांसद थापाले लिन खोजेको भन्दै आपत्ती जनाए। सामाजिक स्वास्थ्य बिमा कार्यक्रमलाई नामै परिर्वतन गरेर स्वास्थ्य बिमा बनाई पुँजीपति वर्ग र धनाड्यको लागि काम गरे पूर्ववर्ती सरकारका मन्त्रीले वर्तमान सरकारले विपन्नलाई गरेन भनेर खर्च कटौति प्रस्ताव गरेको भन्दै पूर्वमन्त्री थापाप्रति कटाक्ष गरे।

छात्रवृत्तिका डाक्टरलाई गाउमा पुर्‍याउने काम आफ्नै पालामा सुरु भएको भन्दै हरेक गाउँ चिकित्सक पुर्‍याउ कार्यक्रमका लागि एमडिएमसिएचलाई नि:शुल्क पढाउनका लागि ४५ करोड विनियोजन गरिएको दाबी गरे।

स्वास्थ्य मन्त्रालय राजनीतिक गर्ने थलो होइन भन्दै उनले गुणस्तरीय औषधी उपचार र मानव बचाउ गर्ने एक मात्रै संकल्प स्वास्थ्य मन्त्रालयको हुने बताए।

औषधीको मूल्य निर्धारण आफूले गरेको र त्यस यता औषधीको मूल्य निर्धारण हुन नसकिएको भन्दै त्यस तर्फ सरकारको ध्यानाकर्षण गराए।  पूर्व स्वास्थ्यमन्त्री गगन थापाले खर्च कटौतिको प्रस्ताव पेस गरेपछि सांसद अधिकारीले विनियोजित बजेटमाथि धारणा राखेका थिए।

शुक्रबार श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय , उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालय, शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालय र स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको विभिन्न शीर्षकमा विनियोजित बजेटमाथिको छलफल सकिएको छ। प्रतिनिधिसभाको अर्को बैठक आइतबारका लागि बोलाइएको छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.