|

दमक (झापा) : केही दिन यताको मौषम बदलीका कारण झापामा बालबालिका बिरामी हुने दर बढेको छ। बिभिन्न स्वास्थ्य संस्थाहरूमा ज्वरो आउने, टाउको दुख्ने, वान्ता हुने, छाला चिलाउने जस्ता समस्याका बिरामी उपचार गराउन आउने क्रम बढेको छ। यस्ता बिरामी मध्ये धेरैजसो बालबालिका हुने गरेका छन्। 

केही दिन यताको चर्को गर्मी, अनियमित खानपान र लापरवाहीका कारण बालबालिकाहरू घर घरमा बिरामी परेको स्वास्थ्यकर्मी बताउँछन्। स-साना बालबालिकामा ज्वरो, रुघाखोकी लाग्ने, नाकबाट पानी बग्ने,घाँटीमा घ्यार घ्यार र पखाला लाग्ने समेत समस्या देखा परेको हो। 

झापाको कमल गाउँपालिका-६ सिनियर अहेव चन्द्र साहले प्रत्येक दिन बिहान करिब २ घण्टाको अवधिमा मात्रै १८ जना बालबालिका ज्वरो र रुघाखोकीको समस्या लिएर आउने गरेको बताए। उनले बालबालिकाहरूमा रुघखोकी, ज्वरो हुँदै झाडा पखालाको समेत समस्या देखिने गरेको जानकारी दिए। गर्मीको समयमा बालबालिका र आमाले समेत खानपानमा सतर्कता नअपनाउँदा र चर्को घाममा बस्नाले यस किसिमको समस्या बढी हुने खतरा रहेको उनले औंल्याए।

झापाको शिवसताक्षी -४ पाँचगाछीका १० वर्षीय आकाश लावती ज्वरोका कारण थलिएको पाँच दिन भयो। सुरुमा ज्वरो आएपछि स्थानीय मेडिकलमा गएर औषधि उपचार गराए पनि ज्वरो निको भएन। दिन दिनै उनलाई खानामा अरुची पनि बढ्न थाल्यो। छिमेकी पाँच वर्षीया रितिशा साह उसै गरी चार दिन अघिदेखि ज्वरो र रुघाखोकीका कारण थलिएकी छन्। आकाश र रितिसा मात्रै होइन। घर घरमा बालबालिकाहरू गर्मी बढेसँगै बिरामी परेका छन्। रितिशाकी आमा रुविनाका अनुसार घरमा अर्की एक बालिका पनि रुघाखोकी र ज्वरोका कारण थलिएकी छन्। 

स्थानीय स्वास्थ्य संस्थामा जाँच गराएर औषधि खुवाए पनि निको नभएपछि आफ्नी छोरी रितिकालाई थप उपचारका लागि बिहीबार बिहान लखनपुरको मंगलबारेमा ल्याएको उनले बताइन्। गाउँमा घर घरै जस्तो बालबालिकाहरूमा उस्तै खाले समस्या रहेको उनले बताइन्। विभिन्न अस्पताल र क्लिनिकहरूमा पछिल्लो समय सर्वसाधारणहरू आफ्ना बालबालिकाहरूमा  यस किसिमका समस्या लिएर आउने क्रम उच्च रहेको बताइएको छ। दमकका लाइफलाइन, एड्भान्स मल्टिस्पेशियालिटी, आम्दालगायतका अस्पतालहरूमा भाइरलबाट संक्रमित बालबालिकाहरू उच्च संख्यामा उपचारका लागि आउने गरेका ती अस्पतालहरूले जनाएका छन्।  


आँप र पानी मुख्य कारण

स्वास्थ्यकर्मीहरूले भने बालबालिकामा देखिएको स्वास्थ्य समस्याको मुख्य कारण विशाक्त आँप र दुषित पानी हो। आँप पकाउन प्रयोग गरिने कावाईड नामक रसायनले बालिकामा छाला चिलाउने, वाकवाकी लाग्ने, डावर आउने जस्ता समस्या देखिने गरेको स्वास्थ्यकर्मी शाहले बताए। यस्तो हानिकारक आँप बालबालिकालाई नखुवाउन पनि उनको सुझाव छ। 

धेरै विरामी बालबालिकाले एक/दुई दिन अघि आँप खाएको र त्यस लगत्तैदेखि हाँछ्यु आउने, नाकबाट पानी वग्ने र विस्तारै ज्वरो आएको अभिभावकहरूले बताउने गरेका छन्। यस्तै वर्षायाम लागेका कारण पानीको स्राेतहरू दुषित भएको र पानीका कारण पनि स्वास्थ्यमा समस्या बढेको हुन सक्ने स्वास्थ्यकर्मीहरूको भनाई छ। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.