|

काठमाडौं : घडीको सुइले बिहानको आठ बजेको संकेत गर्दै गर्दा म उनको घरको गेटमा रहेको बेल बजाउन पुगें। सँगै फोन गरेर जानकारी पनि गराएँ। रातो रंगको दुई तले घरको माथिल्लो तलाबाट केहीबेरमै उनी तल ओर्लिए। सेताम्य केश, शरीरमा बुढ्याैली प्रष्ट देखिने उनी दुबै हातमा चियाका गिलास बोकेर बैठक कोठामा झुल्किए। उनी थिए पाका पत्रकार, वकिल तथा राजनीतिज्ञ ८० वर्षीय कमल कोइराला।

नेपाली राजनीतिमा चिरपरिचित खानदानका सदस्य कमल कोइरालाले आफ्ना बाबुबाजेभन्दा पृथक राजनीतिक बाटो रोजे। जतिबेला नेपालमा कम्युनिस्ट राजनीति निषेध थियो, त्यसैबेला उनले कम्युनिस्ट राजनीतिमा प्रवेश गरे। जेल जीवन बिताए। नेपालको राजनीतिमा महत्वपूर्ण इतिहास बनाएको कोइराला परिवारका कमल क्याम्पसको राजनीतिक माहौलबाट कम्युनिस्ट राजनीतिमा प्रवेश गरेका थिए।

तत्कालीन प्रधानमन्त्री मात्रिकाप्रसाद कोइरालाका माइला छोरा कमल आफ्नो बाबु प्रधानमन्त्री हुँदा प्रतिपक्षी पार्टीमा आवद्ध भएर आन्दोलन होमिए। जसका कारण उनीले जेलसम्म पुगे। प्रधानमन्त्रीका छोरा कमल जेलमा परेका बेला तत्कालीन गृहमन्त्री डिल्लरमण रेग्मीका छोरा मदन रेग्मी पनि गिरफ्तार परेर जेलमा पुगेका थिए।

नेपाली पत्रकारितामा समेत विशेष योगदान दिएका कमल कोइराला २०५१ सालको प्रतिनिधिसभाको निर्वाचनमा मोरङ क्षेत्र नम्बर ५ बाट निर्वाचित भए। उनले दक्षिण कोरियाका लागि नेपालको राजदूतको समेत भूमिका निर्वाह गरिसकेका छन्।

खुट्टामा रहेको समस्याका कारण हाल पाटन अस्पतालमा थेरापी गराउँदै आएका कोइरालासँग बिहानै भेट्न पुग्दा चियाको चुस्कीसँगै उनले आफ्ना राजनीतिक र पत्रकारितामा बिताएका क्षण यसरी सुनाए ।

र.. कम्युनिस्ट भएँ

विद्यार्थी जीवनमा जुन विचारले प्रभावित गर्‍यो, मान्छे त्यसैको अनुयायी हुन्छ। तर, सबैमा त्यो लागू नहुन पनि सक्छ। रुपचन्द्र विष्टको परिवार पहिले कोही कम्युनिस्ट थिएनन्। उहाँको परिवार सैनिक परिवार थियो। मान्छेलाई नयाँ विचार, सिद्धान्तले प्रभावित बनाउने उमेर हुन्छ। एउटा झिल्कोले जल्न तयार सुकेको खरजस्तो, त्यो युवा अवस्था यस्तै हो ।

म त्रिचन्द्र क्याम्पसमा भर्खरै दोस्रो वर्ष पढ्दैथे। १६/१७ वर्षको थिएँ। पार्टीहरु खुला थिए तर कम्युनिस्ट पार्टी ब्याण्ड थियो। ठाउँ-ठाउँमा निषेधाज्ञा जारी भएको थियो।  त्यो बेला साथीहरु काँग्रेस-कम्युनिस्टमा स्वभाविक रुपले विभाजित हुने भए। म पनि वामपन्थी मोर्चामा आवद्ध भएँ। मलाई त्यसका नाराले प्रभावित बनायो ।

त्यो बेला विद्यार्थीहरुमा सशक्त वामपन्थी लहर आएको थियो। म पार्टीको सदस्य पनि भइसकेको थिइन। तर, विद्यार्थी मोर्चामा आवद्ध थिएँ। त्यसकारण निषेधाज्ञाका कारण म पक्राउ परें। त्यो आरोप जे भए पनि म कम्युनिस्ट संगठनमा आवद्ध भएको शंकाका आधारमा पक्राउ परेको थिएँ। पक्राउ परेपछि कम्युनिस्ट भनेर चर्चा भयो।

कतिजना पहिले कम्युनिस्ट विद्यार्थी मोर्चामा भएकाहरु फर्किए। कोही शिक्षकतिर लागे। कोही कम्युनिस्टविरोधी पनि भए। बम्बैमा कन्फरेन्स भयो। त्यहाँबाट पनि म चुनिएँ। त्योबेलासम्म सबैले मलाई कम्युनिस्ट भन्न थाले। यसरी म कम्युनिस्ट भएँ।

परिवारका कारण बढी चर्चा

राजनीतिमा कोइराला परिवार चर्चित थियो। चर्चित परिवार भएकाले म जता जाँदा पनि चर्चामा हुन्थ्यो। अहिले कोही माओवादी भए। कोही अर्को दलमा लागे। किनभने मान्छेले विभिन्न सोच लिन्छ। त्यस्तै क्रम हो म कम्युनिस्ट हुनु पनि।

हाम्रो परिवार ज्यादै चर्चित परिवार भएको हुनाले बढ्ता चर्चित भयो। किनकि हाम्रा पिता, पुर्खा त कम्युनिस्ट थिएनन् नि !

बाबासँग सुमधुर सम्बन्ध

हाम्रो परिवारका सबैजना राजनीतिमा आवद्ध थिए। तर, राजनीतिक कारणले हाम्रो परिवारको सम्बन्ध कहिल्यै खराब भएन। किनभने त्यो परिवारमा साधारण कुरा बनिसकेको थियो। बाबा मात्रिकाप्रसाद र काका बीपी कोइराला बीच ठूलो बेमेल भयो।

बाबाले राष्ट्रिय पञ्चायतको चुनावमा माग लिनुभयाे। बीपी कोइरालाहरुले बहिष्कार गर्नुभएको थियो। तर, हामी परिवार बीचमा हुने दशैं, तिहार, विहाह, मर्दापर्दा परिवार त परिवारै रहन्छ नि। राजनीतिका कुरामा २/३ पुस्तादेखि नै त्यो परम्परा देखिएको हुनाले त्यसलाई बढ्ता महत्व दिइँदैनथ्यो।

सम्झनामा रुपचन्द्र विष्ट

म जेल पर्दा ३०/३२ जना सँगै पर्‍यौं। त्यसमा रुपचन्द्र विष्ट पनि हुनुहुन्थ्यो। उहाँ पनि त्रिचन्द्र कलेजको विद्यार्थी हुनुहुन्थ्यो। त्यो बेला २०११ सालमा पहिलोपल्ट म जेल परेको थिएँ।

म किन रुपचन्द्र विष्टलाई सम्झन्छु। त्यतिबेला रुपचन्द्र धेरै चर्चित हुनुहुन्थेन। उहाँको बक्सिङमा एकदमै शौख थियो। जेलमा उहाँलाई पुलिसले कुट्न खोजेछ। उहाँलाई बक्सिङको ट्याक्टिस थाहा थियो। पुलिसले स्वाट्ट हान्‍न खोज्दा उहाँ छलेर उतातिर जानु हुँदा भित्तामा पुलिसको हात बजारिँदो रहेछ। त्यस कुराको चर्चा त्यो बेला निकै भएको थियो। हामीसँगै जेल पर्नेमा रुपचन्द्र विष्ट, मधुवर शाह, डा. राजेन्द्र प्रधान हुनुहुन्थ्यो। राजेन्द्रजी हाल अमेरिका हुनुहुन्छ ।

यसरी भएँ प्रधान सम्पादक 

लामो समयदेखि पत्रपत्रिकामा लेख लेख्दै आएको थिएँ। तर, पत्रकार नै भएर काम गरेको थिइन। लेखनमा रुचि भएकाले लेखिरहन्थें। 'दृष्टी' साप्ताहिक त्यो बेला नेकपा एमालेको मुखपत्रजस्तै थियो। त्यसका सम्पादक नारायण ढकाल बिरामी हुनुभयो। त्यसकारण उहाँ आउन सक्नु भएन। मदन भण्डारी पार्टीको महासचिव हुनुहुन्थ्यो, झलनाथ खनाल प्रचार विभागको इञ्चार्ज हुनुहुन्थ्यो।

त्योबेला म विराटनगरमै बस्थें। म पनि प्रचार विभागमा थिएँ। नारायणकाे अनुपस्थितिमा प्रधानसम्पादक को राख्‍ने भन्ने कुरा आयो। अरु १/२ जनाको पनि नाम आएको थियो। तर, त्यहाँ काम गर्नेले कसलाई मान्छन् भनेर मदन भण्डारीले सोध्दा प्रदीप नेपालले कमलजी भएदेखि सबैले मान्छन् भनेर भन्‍नुभएछ। त्यसपछि मदन भण्डारीले कमलजीलाई बनाउँ न त भनेपछि कमल कोइराला प्रधानसम्पादक भनेर माइनुटिङ भयो। त्यसरी म दृष्टिको प्रधान सम्पादक भएँ। म एकैचोटी प्रधानसम्पादक भएको हुँ।

त्यसबेला पार्टीले जहाँ जा भन्यो त्यहीं गएर काम गर्नुपर्ने हुन्थ्यो। मलाई त झन् राजधानीमै बसेर प्रधानसम्पादकको जागिर खाने अवसर आयो। त्योबेला दृष्टिको धेरै राम्रो टिम थियो। शम्भु श्रेष्ठ, किशोर श्रेष्ठ, रविन सायमी, राजेन्द्र स्थापित, नारायण ढकाल, अग्‍निशिखा, नरनाथ लुइँटेल पनि त्यहिं काम गर्ने। सुरुको अवस्था थियो तर टिम राम्रो। म प्रधानसम्पादक हुनुभन्दा अगाडि अाठ हजार प्रति पत्रिका छापिन्थ्यो। त्योबेला पुरानो प्रविधि थियो। ट्रेडल मेसिनमा झिकझिकझिक गरेर ढिकी कुटेजस्तो गरेर छाप्‍नुपर्थ्यो। त्यसले गर्दा आज बजारमा आउने पत्रिका अघिल्लो राति नै प्रिन्ट भइराख्थ्यो।

एक दिन म काममा पुग्दा स्टाफहरु कोही आएका थिएनन्। मलाई पनि थाहा नदिइ उनीहरुले बिद्रोह गरेछन्। त्यो बेलामा बागबजारमा केशव स्थापितको परिवारको अफसेट प्रेस थियो। उनीहरुले त्यहाँ आएर छाप्ने कुरा मिलाएछन्। उनीहरुले नाम तपाईकै रहन्‍छ, तपाईले हामीलाई साथ दिने कि नदिने भने। नयाँ प्रविधिमा आएपछि हाम्रो वितरण पनि बढ्छ र दाम पनि बढाउँछौ भने। तर कागज किन्‍ने पैसा छैन। पार्टीसँग तपाईले भन्‍नुपर्‍यो भने।

म पनि केन्द्रीय कमिटिमा थिएँ। त्यसपछि मैले भिम रावल र झलनाथ खनाललाई भनें। पार्टीको प्रचार विभागले कागज किन्‍न पाँच हजार रुपैयाँ दिने भयो। नेता, कमिटि, प्रचार विभाग कसैसँग नसोधी आधुनिक छापाखानामा पत्रिका छाप्‍नका लागि पार्टी प्रचार विभागले पैसा ऋण दिने भयो। त्यसपछि मलाई पनि हलुङ्गो भयो।

आधुनिक छापाखानामा छाप्‍ने भएपछि हकर (पत्रिका बितरक)हरुले पत्रिका बिकिसक्यो अरु ल्याउ भन्‍न आए। त्यसपछि अफसेट प्रेसमा रहेको फाइललाई रफ प्रिन्ट गर्‍यौं । एकैचोटी अाठ हजार प्रतिबाट बढेर १२ हजार प्रति पुग्यो। किनकि, नयाँ मेसिनमा छाप्‍ने भएपछि सफा आयो। छाप्‍नका लागि पैसा पहिल्यै बुझाउनुपर्‍यो।

मान्छेहरु बाटोघाटोमा आएपछि के भन्छन्, 'तपाई आएपछि दृष्टिको त रुपै परिवर्तन भयो। म्याटरै परिवर्तन छ। पत्रिका देख्दै किनुँकिनुँजस्तो छ भन्छन्।' मलाई थाहा छ त्यहाँ त मेरो टिम छ। जसले निकै मेहनत गरेको छ। पत्रिका बिस्तारै १२ हजार, १४ हजार हुँदै बढ्दै-बढ्दै गयो। पत्रिका राम्रो हुँदै गएपछि पार्टीको केन्द्रीय कार्यालयभन्दा महँगो र राम्रो ठाउँमा पत्रिकाको अफिस राख्यौं। २०५० सालमा १७ हजार रुपैयाँ भाडाको अफिस भनेको निकै राम्रो कुरा हो। साप्ताहिक पत्रिकाहरुमा सबैभन्दा सम्पन्‍न पत्रिका बन्यो।

२०५१ सालमा सांसद बनें

२०५१ सालको निर्वाचनमा मोरङ क्षेत्र नम्बर ५ बाट प्रतिनिधिसभाको चुनाव लडेर सांसद भएँ। यसबीचमै मदन भण्डारीको अप्रत्याशित देहावसान भयो। यही समयमा नै मेरो श्रीमतीलाई क्यान्सर भयो। त्यसपछि म श्रीमतीको उपचारका लागि बम्बै गएँ। त्योबेला मैले १५ महिना दृष्टि हेर्नै पाइन। के छापिन्छ? के हुन्छ? त्यो पनि केही हेर्न पाइन। बम्बै, काठमाडौं, विराटनगर यही क्रम चल्यो। काठमाडौं त प्लेन चढ्नका लागि मात्रै टेक्छु। तर, प्रधानसम्पादकमा भने मेरो नाम आइरह्यो।

यसबाट मैले के महसुस गरें भने सफल प्रधानसम्पादक हुन राम्रो-क्षमतावान स्टाफ राख्‍नुस् र उनीहरुलाई स्वतन्त्रता दिनुस्। त्यसो गर्दा उनीहरुमाथि जिम्मेवारीबोध हुन्छ। अनि काम राम्रो हुन्छ।

मेरी श्रीमतिलाई क्यान्सर भएको रहेछ पहिले थाहा भएन। उनको पेटमा दुखाइ हुन्थ्यो। महिला डाक्टर रश्मीनानी श्रेष्ठलाई जचायौं। उनले पिसाब जाँच गर्दा तपाईको श्रीमतीलाई कुनै गम्भीर रोग लागेको हुन सक्छ भन्नुभयो। क्यान्सर नभने पनि हुन सक्छ भनेर सङ्केत गर्नुभयो। त्यसपछि टेकुमा बायोप्सी गराउँदा क्यान्सर देखापर्‍यो। हामीले सोझै बम्बै गएर उपचार गरायौं। १५ महिना श्रीमतीको उपचार गराउँदा पनि दृष्टि मेरै प्रधान सम्पादकत्वमा निस्कियो। मैले छाडेको केही समयपछि पत्रिका फुटेर दृष्टि, बुधवार र जनआस्था नामक तीन वटा पत्रिका भए।

श्रीमतीलाई क्यान्सर भएपछी म पार्टीको काममा पनि हिँड्न सकिन। अखबारको काममा पनि हिँड्न सकिन। बम्बैमा २/२ महिना, १/१ महिनामा बस्‍नुपर्थ्यो। त्यसबीचमा म एकपल्ट मात्रै काठमाडौं आएको छु। मदन भण्डारीको दासढुंगा दुर्घटनामा मृत्यु भएपछि उहाँको शवयात्रामा म काठमाडौं आएको थिएँ।

म नफर्कुञ्जेल पार्टीको सल्लाहकार समितिको सभापति पद मदन भण्डारीले खाली राख्‍नुभयो। म काठमाडौं नफर्कंदै उहाँको मृत्यु भयो। त्यसपछि पार्टी महासचिव माधवकुमार नेपाल हुनुभयो। पछि अरु कसैको नाम नआएपछि सल्लाहकार कमिटिको अध्यक्ष मलाई बनाइयो। २०५१ सालको चुनाव लडेपछि दृष्टिको प्रधान सम्पादक पद छाडें।

त्यसअघि नैं एमाले र माले एक हुँदाको पहिलो केन्द्रीय कमिटिमा पनि म आएको थिएँ। त्यो बेला केन्द्रीय सल्लाहकार समितिको सभापतिलाई हरेक बैठकमा सहभागी हुने र बोल्ने अधिकार थियो।

लेखको पाँच सय रुपैयाँ

म लेख/आलेख लेखिरहन्थे। जे पायो त्यै कुरामा लेख्दिनथें। रोचक विषयमा लेख्‍न रुचाउँथें। मैले संसारको लोकप्रिय नारी भनेर लेखें। फ्रान्सको हिरोइनको लेखें। उनी त्यस्तै १६/१७ वर्षको थिइन्। उनी चर्चित थिइन्। अर्को संसारको सबैभन्दा खर्चालु मान्छे भनेर लेखें। एकजना अद्‍नान् खासलु भन्‍ने हतियारको एजेन्ट थियो। उनी हतियारको दलालीमा सबैभन्दा चर्चित थिए। त्यस्तो त निकै रोचक विषय हुन्थ्यो त्यो बेला।

हरिहर बिरही प्रधान सम्पादक थिए। जनार्दन आचार्य, पद्म ठकुराठीहरुले पत्रिका निकाल्थे। त्यो पत्रिकामा नियमित लेख्थें। उनीहरुले पारिश्रमिक दिन्थे। त्यो बेलामा पनि पाँच सय रुपैयाँ पारिश्रमिक दिन्थे। जबकि, त्यो बेला एक सय डेढ सय रुपैयाँ दिए पनि काफी हुन्थ्यो।

सुखद भन्नु के नै हो र !

जीवनका सुख दु:ख भनेको मानसिक कुरा हो। कसै कसैलाई स्वभाविक रुपले जीवन सुखमय लाग्छ। एउटा भनाइ छ नि, जीवन तिनीहरुकf निम्ती सुखमय हो जसले सोच्दछ। तिनीहरुका लागि दु:ख पीडा अनेक चिज हुन्छ रे जो फिल गर्दछन्।

सोच्दा मान्छेले के गर्दछ भने जीवनमा कसलाई आपत्ति छैन। कसको परिवारमा मृत्यु भएको छैन। रोगै लाग्यो भने पनि कसलाई रोग लागेको छैन भनेर सोच्छन्। नकारात्मक तरिकाले सोच्नेहरुले यो रोग अरुलाई नभएर किन मलाई नै भयो? कस्तो अभागी रैछु म भनेर।

मलाई त्यस्तो दु:खको अनुभव भएन। केटाकेटीमा पनि म सुखमै हुर्किएँ। युवा अवस्थामा पनि म हाँस्दै खेल्दै हुर्किएँ। राजनीतिका कारण निर्वासनमा बस्दा पनि म मात्रै थिइन, हजारौं थिए। कांग्रेस, कम्युनिस्ट सबैका थिए। दु:ख पनि एक साथ हजारौंले समाना गर्दा दुखजस्तो लाग्दैन रहेछ।

मेरो वैवाहिक जीवन पनि राम्रो भयो। एउटा छोरा र एउटा छोरी भए। छोराबुहारी डाक्टर छन्। अमेरिकामा बस्छन्। छोरीज्वाइँ हामीसँगै बस्छौं। दु:ख, पीडा भन्‍ने कुराले एकैछिनलाई छोए पनि मलाई धेरै बेरका लागि लाग्दैन।

आमाका कारण पढाइमा लगाव

पुस्तक देख्‍ने बित्तिकै म सरर पल्टाइहाल्छु। त्यस्तो यो नै भन्‍ने विशेष पुस्तक भन्‍ने छैन। तर, म किताब पढिहाल्छु। मैले कति किताब पढें मलाई याद छैन। मेरी आमा निकै किताब पढ्नु हुन्थ्यो। म ३/४ कक्षा पढ्ने बेलादेखि याद छ। विराटनगरमा पुस्तकालय थियो। त्यो लाइब्रेरिबाट पुस्तक ल्याइदिए भन्नुहुन्थ्यो। आमाले हिन्दी र नेपाली किताब पढ्नुहुन्थ्यो। सानैमा विवाह भए पनि उहाँ चिट्ठी लेख्‍न सक्नुहुन्थ्यो।

उहाँ सप्तरीको धेरै ठूलो विर्तावालको छोरी हुनुहुन्थ्यो। संयुक्त परिवार थियो नोकरचाकरहरु थुप्रै थिए। ६/७ सय बिगाहा जमिन थियो। उहाँको काम त केही थिएन। भात पकाउने बाजे, बाहुनी छन्। दाउरा चिर्ने, गाईवस्तु चढाउने कामदार । त्यस्तो हुँदा उहाँको केही काम भएन। त्यसपछि उहाँले किताबहरु पढ्ने।

आमाले निकै रफ्तारले पढ्नुहुन्थ्यो। कहिले काहीँ पुस्तकालयको मान्छेले पढ्दै नपढी ल्याइदियो क्या हो भन्थे। बुवाले पनि पढ्नु हुन्थ्यो। उहाँले लेख्‍नु पनि हुन्थ्यो। तर, आमाले चाहिँ पढ्ने मात्रै गर्नुभयो। उहाँ उपन्यासहरु धेरै पढ्नु हुन्थ्यो। आमाले पढेको देखेरै मेरो पनि पुस्तकप्रतिको लगाव बढ्यो।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.