|

तोपो खोला (मुग्लिन) : चितवनको रामपुरका झकबहादुर गुरुङ पहिरो खस्ने डरले बिहानै गोरखाको भच्चेक जान परिवारसहित बसमा आएका थिए। नारायणगढ–मुग्लिन सडक खण्डअन्तर्गत तोपे खोलाको छेवैमा खसेको पहिरोले उनको यात्रा रोकियो। ‘घरायसी जरुरी कामका लागि जान लागेको, नगई भा’ छैन सर’, पहिरो पन्छाउन खटिएका एक जना प्रहरी अधिकारीलाई उनले अनुनय गरे। 

प्रहरीको अनुमति पाएपछि पहिरो खस्दै गर्दा हिँडेरै पहिरो छिचोले उनले। पिठ्यूँमा भारीको पोको बोकेर घरि पहिरो खसेतिर नियाल्दै घरि पहिरोको थुप्रोमा दगुर्दै उनले कष्टका साथ तोपे खोला र कालिका खोलाको पहिरो पार गरे।

‘धन्न पहिरो पार भयो’, लामो सास फेर्दै गुरुङले भने, ‘अब हिँडेरै पनि गइन्छ।’ तोपे खोलाबाट मुग्लिन करिव तीन किलोमिटर छ। 

हिँड्दै गर्दा लोकल रुटमा एउटा गाडी फेला प¥यो। तीन किलोमिटरको दूरीको ५० रुपैयाँ प्रति व्यक्ति तिरेर उनी अपराह्न मुग्लिन पुगे। उनी मात्रै होइन, बुधबार यसरी पहिरो खस्दै गर्दा दौडिएर पार गर्ने यहाँ धेरै यात्रु थिए।

यस्तै, मुग्लिनतर्फबाट गएका यात्रुहरूपनि पोका पुन्तुरासहित आफूले यात्रा गरेको गाडी छाडेर पैदलै पहिरो पार गर्दै थिए। पहिरोमाथि यात्रुको ताँतीले लोडर र डोजरलाई बेलाबेलामा काम गर्न पनि समस्या हुन्थ्यो। जथाभावी यात्रु छाडेको भन्दै कामदारहरू रिसाउँथे।

कोही बिरामी भेट्न आएको भन्दै प्रहरीसँग हारगुहार माग्दै पैदल जान दिन अनुरोध गर्थे भने कोही आफन्त बितेकाले जसरी पनि नगई भएन भन्थे। 

कोही हामी मरे नि मर्छौं भन्दै जबर्जस्ती जाने पनि थिए। प्रहरीका अनुसार कहिलेकाहीँ त यात्रुलाई रोक्दारोक्दै झगडै हुन्थ्यो। यस्ता अटेर गर्ने यात्रुको जिद्दीमाथि प्रहरीको केही सीप चल्दैनथ्यो। पहिरो खस्न थाले पनि पुनः भागेर फर्कने यात्रु पनि थिए।

दिनभर पहिरोग्रस्त क्षेत्रमा खटिएका चितवनका ट्राफिक प्रहरी प्रमुख वेदप्रसाद गौतम यात्रुले नै जबर्जस्ती गरेपछि आफूहरूले रोक्नै नसक्ने बताउँछन्। कतिपय विद्यार्थीहरू जाँच छ भन्दै पहिरो पार गरेर जान्थे। उनीहरूको वहानामा अन्य यात्रुहरूले समेत पैदलै यात्रा तय गर्ने मौका पाउँथे।

हिम्मत भएकाहरू हिँडेर पार गर्थे भने कतिपय यात्रु गाडी जहिले कट्छ, त्यही बेला जाने भनेर पर्खेका पनि थिए। कतिपय गाडीहरू बीच बाटैबाट फर्किएका थिए तर जोखिम मोलेर पहिरो छिचोल्दै जानेको संख्यासमेत कम थिएन। 

चितवनको रत्ननगरका अनिल भट्ट बिहान ३ बजे उठेर माइक्रो बसमा काठमाडौँ जान आए। ५ बजे तोपे खोला आइपुग्दा उनको यात्रा रोकियो। गाडी नगएपछि उनी पुनः चितवन नै फर्किए।

चितवनबाट काठमाडौं माइक्रो लिएर आउँदै गरेका भरतपुरका गाडी चालक विकास गुरुङ पनि बिहान ५ बजे तोपे खोला पुगेका थिए। बाटो खुल्छ कि भनेर ११ बजेसम्म कुर्दा कुनै छनक नपाएपछि उनले पनि गाडी भरतपुर नै फर्काए।

उक्त क्षेत्रमा कतै विद्युतका तार छिनेका छन्, कतै पोल ढलेको छ। पहिरोको माटो र ढुंगा त्रिशूली किनारमा यत्रतत्र देखिन्छ। वारपार नै पहिरोका लामालामा धब्बाहरू र गाडीका लाइन  थिए। महँगोमा खानेकुराहरू समेत बिक्रीवितरण भइरहेका थिए।

यस्तो छ तोपे खोलाको अवस्था

असार १८ गते आइतबार ११ः५० बजेको समयमा तोपे खोला छेउमा ठूलो पहिरो खसेर अवरुद्ध भएको सडक राती ८ बजे संचालनमा आएको थियो। बिहानभर पनि पहिरोले गाडी रोकिएको थियो। त्यसको केही दिनपछि पनि यहाँ पहिरो गएर घण्टौँ सडक बन्द हुन पुगेको छ।

आज बिहान ५ः३० बजे खसेको पहिरो हटाएर दुईतर्फी सडक खुल्न झण्डै ११ घण्टा लाग्यो। अपराह्न ४ः३० बजे सडक खुल्यो। यो वर्ष मात्रै तोपे खोलामा तीनवटा पहिरो खसिसकेका छन्। आज तोपे खोलासँगै कालिका खोलामा समेत पहिरो खसेको थियो।

‘कमजोर भूबनोटले गर्दा पहिरो खसेको हो’, नारायणगढ–मुग्लिन सडक आयोजनाका इन्जिनियर शिवप्रसाद खनाल भन्छन्, अहिलेसम्म तोपे खोलामा मात्रै १४–१५ पटक पहिरो खसिसक्यो।’

झण्डै २०० मिटरमाथिबाट पहिरो खस्ने गरेको छ। भित्तोको तल्लो भाग घोप्टो पारेर काटिएको छ। त्यसैले पनि पहिरो खस्न बल पुगेको देखिन्छ। त्यसमाथि कमजोर भूबनोटले अझै यहाँको धेरै भाग खस्न ठिक्क परेको छ। निस्कन लागेका ढुंगा र फुको माटोको भित्तो छ। छेवैमा पहिरो रोक्न लगाइएको रकम मेटिङ प्रणाली छ। त्यसको केही तारको भागसमेत पहिरोले लगेको छ।

बाँकी रकम मेटिङलाई समेत बगाउने अवस्था देखिएको छ। तल्लो भागदेखि नै जमिन भास्सिएकाले यहाँ जाली लगाएर गरिएको रकम मेटिङ प्रभावकारी नहोला जस्तो देखिएको बताउँछन् फिल्डमा खटिएका ओभरसियर प्रकाश भण्डारी।

पछिल्लो समय तोपे खोला, जलवीरे, मुग्लिन डाँडा, कालीखोला, चार किलो र पाँच किलोमा दैनिकजसो नै पहिरो खसिरहेको छ। सानातिना पहिरो दिनमै ५–६ वटा खसिरहन्छन्। 

‘न दिनमा भोक छ, न रातमा निद्रा’, सिमलतालका प्रहरी इन्चार्ज हेमचन्द्र चौवे पीडा पोख्छन्। पानी पर्न थालेपछि सबैतिरबाट चौवेमा दबाब आइपुग्ने र रातारात कुद्नुपरेको उनले अनुभव सुनाए।

हेर्नुहोस् फोटो :

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.