|

काठमाडौं : फोटो पत्रकार क्लबको आयोजनामा भएको आइएमई–ग्लोबल–आइएमई नेपाल फोटो प्रतियोगिता –२०७५ को उपाधि नरेन्द्र श्रेष्ठले जितेका छन्।
श्रेष्ठले गत वर्ष सप्तरीको कुलारी गाउँमा बाढीका कारण मृत्यु भएका पाँच वर्षीय बालकलाई अभिभावकले कोशी नदीमा बगाउँदै गरेको फोटो यस वर्षको ‘फोटो अफ द इयर’ घोषित भएको हो। उपाधिसहित श्रेष्ठले रु एक लाख प्राप्त गरे। 

यसैगरी दीपेन्द्र रोक्काको फोटोले ‘शिखर इन्स्योरेन्स नेपाल स्माइल’ विधा जित्यो भने नरेन्द्र श्रेष्ठको फोटो दोस्रो तथा सुरज श्रेष्ठको फोटो तेस्रो भयो। ‘आइएमएस डेली लाइफ’ विधामा सुनिता डंगोलले बाजी मारिन् भने सोही विधामा दुर्गा राना मगरको फोटो दोस्रो तथा केशव थापाको फोटो तेस्रो भयो। 

अंगद ढकालले अर्घाखाँची सिमेन्ट न्यूज विधाको उपाधि जित्दा संजोग मानन्धरको फोटो दोस्रो तथा स्कन्द गौतमको फोटो तेस्रो भयो। नेपाल टेलिकम नेचर एण्ड वाइल्डलाइफमा श्रीराम खत्रीले जिते। सोही विधामा उम्मिद शाक्यको फोटो उपविजेता बन्दा हेमन्त श्रेष्ठको फोटो तेस्रो भयो। कल्चर एण्ड टुरिजममा किरण श्रेष्ठ पहिलो, दीनेश श्रेष्ठ दोस्रो र अजय मानन्धर तेस्रो भए। 

त्यस्तै डिसहोम एक्सन स्पोर्टस विधाको उपाधि प्रतीक रायमाझीले जिते भने रवी उपाध्यायको फोटो दोस्रो तथा उज्वलचन्द्र बुद्धाचार्यको फोटो तेस्रो भयो। नेप्टोस फोटो स्टोरीमा मनिष पौडेलको फोटो प्रथम भयो भने हेमन्त श्रेष्ठकै फोटो उपविजेता तथा नरेन्द्र श्रेष्ठको फोटो तेस्रो भयो। प्रत्येक विधामा पहिलो, दोस्रो र तेस्रो हुनेले क्रमशः रु तीस हजार, बीस हजार र दश हजार प्राप्त गरे। 

विजेतालाई सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटा, आयोजक संस्थाका अध्यक्ष विकास कार्कीलगायतले पुरस्कार प्रदान गरेका थिए। सो अवसरमा मन्त्री बाँस्कोटाले फोटो आफैँमा जीवन भएकाले यसको महत्त्व दिनदिनै बढिरहेको बताउँदै नेपालमा फोटो पत्रकारिता पछि परेकाले यसको विकास र उन्नयनका लागि आफूले सक्दो पहल गर्ने विचार व्यक्त गरे। फोटो प्रतियोगिताका निर्णायक मण्डलका एक सदस्य तथा बाह्रखरी डटकमका प्रधानसम्पादक प्रतीक प्रधानले गुणस्तरीय, कलात्मक र राम्रो कम्पोजिसनलगायत फोटोका अन्य पाटोलाई हेरेर उत्कृष्ट फोटो छानिएको बताए 

यसैगरी यस वर्षको ‘फोटो अफ दि इयर’को विजेता श्रेष्ठले आफूले पुरस्कारवापत पाएको रकम कमल सदा र यादव थपलियाको परिवारलाई प्रदान गर्ने घोषणा गर्दै सदाको परिवारलाई रु ७० हजार र थपलियाको परिवारलाई रु ३० हजार दिइने बताए। गत वर्ष सप्तरीमा गएको बाढीमा ज्यान गुमाउन पुगेका कमल सदाको फोटोले यस वर्षको फोटो अफ दि इयर जित्न सफल भएको थियो। 

त्यस्तै आयोजक क्लबका अध्यक्ष विकास कार्कीले यसपटकको सफलताले आगमी दिनमा यस्तै प्रतियोगिता गर्न उत्साह थपेको बताए। उत्कृष्ट घोषित भएका फोटो आगामी साउन १५ देखि २१ गतेसम्म नेपाल आर्ट काउन्सिल बबरमहलमा प्रदर्शनीमा राखिनेछ भने काठमाडौँ बाहिर विराटनगर, भैरहवा, पोखरा, नेपालगन्ज र धनगढीमा समेत प्रदर्शनीको आयोजना गरिने फोटो पत्रकार क्लबले जनाएको छ। 

पुरस्कृत विधा र फोटोहरू यस प्रकार छन्ः


कल्चर एणड टुरिजम

प्रथम  किरण श्रेष्ठ

द्वितिय  दिनेश श्रेष्ठ

तृतिय अजय मानन्धर

डेलि लाइफ

प्रथम सुनिता डंगोल

द्वितिय दुर्गा राना मगर

तृतिय केशव थापा

नेचर एण्ड वाइल्डलाइफ

प्रथम श्रीराम खत्रि

द्वितिय उम्मिद शाक्य 

तृतिय हेमन्त श्रेष्ठ

नेपाल स्माइल्स

प्रथम दिपेन्द्र रोक्का

द्वितिय नरेन्द्र श्रेष्ठ

तृतिय सुरज श्रेष्ठ

स्पोर्टस 

प्रथम प्रतिक रायमाझी

द्वितिय रविक उपाध्याय 

तृतिय उज्वल बुद्धाचार्य

न्युज 

प्रथम अंगद ढकाल

द्वितिय संजोग मानन्धर

तृतिय स्कन्द गौतम

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.