|

डडेल्धुरा : महिला हिंसालाई कम गर्न राष्ट्रिय खेलकुद परिषद् (राखेप)ले किशोरीहरूलाई आत्मरक्षासम्बन्धी प्रशिक्षण दिएको छ। राखेपले डडेल्धुराका किशोरीहरुलाई आत्मरक्षासम्बन्धी तीन दिने आधारभूत तालिम दिएको हो। बिहीबारबाट जिल्ला सदरमुकाममा सञ्चालन भएको प्रशिक्षण शुक्रबार सकिएको हो।

तालिममा अमरगढी नगरपालिकाभित्रका विद्यालयका कक्षा ९ र १० मा अध्ययनरत ८० जना छात्रा सहभागी थिए। उनीहरुलाई आत्मरक्षा कसरी गर्ने भनेर मार्शल आर्टको तालिम दिइएको छ।

डडेल्धुरामा अर्थिक वर्ष ०७४/७५ मा जम्मा ११२ वटा महिला हिंसाका घटना भएका छन्। जसमध्ये ४८ वटा कुटपिट र दुई वटा जबरजस्ती करणीका घटना रहेको जिल्ला प्रहरी कार्यालय डडेल्धुराको तथ्यांक छ। यस्ता घटनालाई निरुत्साहित गर्न, महिलाको आत्मबल बढाउन तथा खेलकुदप्रति महिलाको अभिरुचि बढाउन तालिम आयोजना गरिएको जिल्ला खेलकुद विकास समितिका अध्यक्ष राजेन्द्रबहादुर मगर बताउँछन्।

‘महिला हिंसा कम गर्न खेलकुद उत्तम विकल्प हुन सक्छ,’ उनले भने, ‘तालिममा सामाजिक तथा शारीरिक घटनाबाट कसरी बच्ने भन्नेबारे विभिन्न ट्रिकहरु सिकाइन्छ।’

यस्ता किसिमका कार्यक्रम डडेलधुरासहित ३० जिल्लामा सञ्चालित छ। तालिमबाट सिकेका कुरा आफ्नो विद्यालय तथा समाजमा गएर सिकाउने तालिममा सहभागि छात्राहरुले बताए। तालिममा सहभागी अन्जु भण्डारीले भनिन्, ‘अप्ठ्यारोमा परेका बेला आफ्नो सुरक्षा आफै कसरी गर्ने भनेर सिकेको छुँ। यहाँ सिकेपछि घर वरपरका साथीहरुलाई पनि मैले सिकाउँछु।’

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.