|

असार : सरकारले सिन्डिकेटको अन्त्य गरेको घोषणा गर्‍यो तर यात्रुले सास्ती पाउन रोकिएको छैन। रुट पर्मिट नै नभएको ग्रामीण सडकमा जोखिम मोलेर सवारी सञ्चालन भइरहेका छन्।

‘जिल्लाबाट गोरखा-काठमाडौ, गोरखा-चितवन, गोरखा-पोखराबाहेक अन्त कतै पनि रुट पर्मिट छैन’, यातायात व्यवसायी समिति गोरखाका पूर्वअध्यक्ष रामहरि केसीले भने ‘हामीले प्रशासनलाई अस्थायी पर्मिटका लागि पहल गर्न आग्रह गरेकै हौँ। एकपटक प्रक्रिया अघि बढेको पनि थियो। प्रशासनमा नयाँ सिडियो सा'पहरू आएसँगै त्यो हरायो।’ जिल्लाका ग्रामीण सडकमा दुर्घटना हुँदा झुटाे  विवरण बनाउने गरेको यातायात व्यवसायीहरू बताउँछन् । ‘रुट पर्मिट नभई सवारी चलाउनै पाइन्न भन्ने नियम छ’ एक व्यवसायीले भने ‘तर गाउँको सडकमा दुर्घटना भइहाल्यो भने गोरखा मात्र उल्लेख गरेर प्रहरीसँग मिलेर घटना विवरण बनाउने अनि इन्स्योरेन्सलगायतका क्षेत्रबाट आउने रकमहरू उपलब्ध गराउने गरेको छ।’

प्रहरीले पनि ग्रामीण रुटमा सवारी दुर्घटना हुँदा गोरखा मात्र उल्लेख गर्ने र सम्बन्धित ठाउँको ठेगाना उल्लेख नगर्ने गरेको बताएको  छ। ‘आँबुखैरेनीदेखि भित्रको २४ किलोमिटरको क्षेत्रमा छिरेपछि जहाँ दुर्घटना भए पनि गोरखा भनेर उल्लेख गरिन्छ’ जिल्ला ट्राफिक प्रहरी प्रमुख दयाराम पौडेलले भने ‘बिमा कम्पनीहरूले पनि अहिलेसम्म यस्तो घटना भए जिल्लाको जुनसडकमा भए पनि गोरखा मात्र उल्लेख गरे रकम उपलब्ध गराउँदै आएका छन्।’

जिल्लाका २० भन्दा धेरै ग्रामीण सडकमा रुट पर्मिटविना सवारी सञ्चालन भइरहेका छन्। गोरखामा रुट पर्मिटविना यातायात व्यवसायी समिति गोरखा, पृथ्वी राजमार्ग बस सञ्चालक समिति, मनासलु यातायात प्रालि, मनकामना यातायात प्रालिलगायतका व्यवसायी कम्पनीले सवारी सञ्चालन गर्दै आइरहेका छन्। 

यीमध्ये अहिलेसम्म गोरखा नगरपालिका क्षेत्र हुँदै तनहुँको आँबुखैरेनीसम्म जाने २४ किलोमिटर कालोपत्रे सडकबाहेक अन्य कुनै पनि सडक रुट पर्मिट नभएको सडक रहेको जिल्ला ट्राफिक कार्यालय गोरखाले जनाएको छ। ‘गोरखा–आँबुखैरेनी सडक खण्डको २४ किलो कालोपत्रे सडक बाहेक गोरखा जिल्लाको कुनै पनि सडकको रुट पर्मिट जारी छैन’ जिल्ला ट्राफिक प्रहरी कार्यालय गोरखाका प्रमुख पौडेलले भने ‘गाडीहरू माग भइरहेका रहेछन्, रुट पर्मिट र स्वीकृतिविना सवारी चलिरहेको पाइएको छ।’

अहिले यातायात व्यवसायी समिति गोरखाद्वारा सञ्चालित गाडीहरू जिल्लाका विभिन्न क्षेत्रमा पुगे पनि रुट पर्मिट तथा यातायात व्यवस्था विभागको स्वीकृतिविना नै पुगेका हुन्। यातायात व्यवसायी समितिले भने रुट स्वीकृतिमा गोरखा सदरमुकामसम्म भए पनि गोरखा भनेपछि जिल्ला भर चलाउने पाइन्छ भन्ने बनाएर सञ्चालन गरेको पाइएको ट्राफिक प्रहरी कार्यालयले जनाएको छ।

गोरखामा सञ्चालित यातायात व्यवसायीहरूले अहिले जिल्लाको आरुघाट, भच्चेक, भालुस्वाँरा बारपाक, मनाकामना, ताङ्लिचोक, बुंकोटलगायतका कच्ची सडकमा सवारी साधन रुट पर्मिटविना नै सञ्चालन गर्दै आएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.