|

खोटाङ : खोटाङमा प्रतिभावान तीन युवालाई प्रोत्साहान पुरस्कार प्रदान गरिएको छ। यन्त्र तथा उपकरण निर्माण एवं गीत-संगीतका क्षेत्रमा सम्भावना बोकेका प्रतिभावान तीन युवालाई प्रोत्साहन पुरस्कार प्रदान गरिएको हो।

युवाको प्रतिभा पहिचान तथा उद्यमीको खोजी र प्रोत्साहन कार्यक्रमअन्तर्गत जिल्ला युवा समितिले यन्त्र तथा उपकरण निर्माणतर्फ दीपक राई, गायनतर्फ हर्क गदाल र नृत्यतर्फ आयुष्मा राईलाई प्रोत्साहन पुरस्कार प्रदान गरेको हो। काम नलाग्ने अवस्थाका ड्रमको टुक्रा, रबरलगायतका स्थानीय कच्चा सामग्री प्रयोग गरेर विद्युतीय पंखा, पानी जहाज, सवारी साधन, पानी तान्ने मोटरलगायतका उपकरण तयार पारेर यन्त्र तथा उपकरण निर्माण क्षमता प्रदर्शन गरेकामा दीपकलाई पाँच हजार नगदकासाथमा प्रमाणपत्र प्रदान गरिएको छ।

यस्तै, सांगीतिक क्षेत्रमा क्रियासिल रहेर सम्भावना देखाएका गायक गदाललाई चार हजार र नृत्यंगना आयुष्मालाई तीन हजार रुपैयाँका साथमा प्रमाणपत्र प्रदान गरिएको जिल्ला युवा समितिका अध्यक्ष राजेन्द्र राईले बताए। लेखन, संगीत, कला, अध्ययन, अनुसन्धान एवं नवीनतम तथा सिर्जनशील कार्य तथा वैज्ञानिक आविष्कार, सूचना प्रविधि र सञ्चारको क्षेत्रमा महत्त्वपूर्ण योगदान पुर्‍याउने युवा वा युवा समूहको प्रतिभा सम्मान गर्ने कार्यक्रमअनुसार तीन युवाको प्रतिभा पहिचान गरेर प्रोत्साहन पुरस्कार प्रदान गरिएको जिल्ला युवा समितिले जनाएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.