|

दमक (झापा) : आर्थिक, सामाजिक र राजनीतिक रूपमा अग्रणी मानिने झापाका बासिन्दा समान्य झरी पर्दा पनि काठे डुंगा चढेर सरकारी सेवा लिन धाउनु पर्छ भन्दा धेरैलाई पत्यार नलाग्न सक्छ। तर झापाको दक्षिण पश्चिमी भूगोलका बासिन्दाले वर्षौँदेखि भोगेको यथार्थ हो यो। 

साविकको कोरोवारी गाविसका बासिन्दा गाउँपालिकासम्म आएर सामान्य सेवा लिन पनि ज्यानै दाउमा राख्न बाध्य हुन्छन्, वर्षायाममा। स्थानीय किस्ने खोला तर्न डुंगा चढ्नुको विकल्प छैन। यतिमात्र कहाँ हो र! नौ किलोमिटरमा तीन प्रकारका सवारी साधन चढ्नुपर्छ। हाल गौरीगञ्ज गाउँपालिकाको वडा नं.२ मा पर्ने कोरोवारीका बासिन्दा सरकारी कार्यालय पुग्न मात्र होईन, सामान्य नुनतेलको जोहोका लागि पनि गौरीगञ्ज बजारा पुग्नुपर्छ। तर जोकोहीले बजारसम्म पुग्ने आँट नै गर्दैनन्।

गौरीगञ्ज–कोरोबारी धाउन हुनेले साइकल–मोटरसाइकल प्रयोग गर्ने हुन्। नहुने पैदलै धाउँछन्। नियमित सवारी साधन केही चल्दैनन्। नौ किलोमिटर पूरा गर्न वर्षायाममा तीनवटा सवारी साधनको उपयोग गर्ने मध्येका हुन्,  कोरोबारीमा पर्ने आधारभूत जनकल्याण प्राविका प्रधानाध्यापक गोपाल ताजपुरिया। उनी गौरीगञ्ज ३ का स्थायीबासिन्दा  हुन्। ताजपुरीया वर्षायाममा स्कुल जान आउन मोटरसाइकल, डुंगा र साइकल प्रयोग गर्छन्।

घरबाट नौ किलोमिटर दूरीमा पर्ने उनको विद्यालय पुग्नका लागि बर्खायाममा यी तीन सवारी साधनको प्रयोग अनिवार्य छ। ‘घरबाट खोला सम्म मोटरसाइकल लान्छु, खोला तर्न डुंगा चढ्छु। त्यहाँबाट पारि साइकल चढेर स्कुल पुग्छु’ ताजपुरियाले भने, ‘खोलामा भरपर्दो पक्की पुल छैन, डराई–डराई भए पनि डुंगा चढेर स्कुल जानु पर्छ।' उनका अनुसार बढी झरी बाढी भयो भने विद्यालय बन्द गरिन्छ। 

पढाइबाटै वञ्चित

पूर्व पश्चिम लोकमार्गबाट २०–३५ किलोमिटर दक्षिण पश्चिममा रहेका विद्यालयहरू यो ठाउँ भएर बग्ने ठूला खोला नदीहरुको समस्याबाट मुक्त हुन सकेका छैनन। २०५३ सालमा गाउँमा एकाएक कन्काई नदी पसेपछि तत्कालीन माहाभारा गाविसको ५ नम्बर वडाका सयौं परिवारका बालबालिका आधारभूत शिक्षा लिनबाटै वञ्चित भएका थिए।  तत्कालीन वडा नं. ६ चौरीबस्तीमा रहेको पृथ्वी प्राविमा पढ्दै गरेका बालबालिका रातारात पसेको खोलाका कारण खोला वारिपारि भए।  

बालबालिकाले पढ्नै नपाउने भएपछि  गाउँलेहरुले  होक्कलबारी गाउँमा इन्द्रेणी प्रावि स्थापना गरे। ‘जस्तोसुकै जे विपत्ति भए पनि भोलिका भविष्यका कर्णधार नानीहरूलाई पढ्नबाट वञ्चित गराउनु हुँदैन भन्ने सोच राखेर इन्द्रेणी प्रावि स्थापना गरेका हौँ’,तत्कालीन जनप्रतिनिधि भीम राई भन्छन्। अहिले यो विद्यालय गौरीगञ्ज गाउँपालिका वडा नं १ मा पर्छ।

यो विद्यालय अहिले पनि कन्काई  र बनियानी खोलाको कटानको जोखिममा छ’, विद्यालयका प्रधानाध्यापक शिवकुमार मैनाली भन्छन्,‘ खोलामा पुल नहुँदा वरपरका गाउँबाट यो स्कुलमा कोही विद्यार्थी अाउँदैनन्।' आर्थिक स्थिति अलि राम्रो भएका सर्वसाधारण कोही रहरले त कोही बाध्यताले  विस्तारै गाउँ छोडेर बाहिर गए। अहिले यहाँ ८५ परिवार मात्रै छन्। 

पूर्वाधार प्राथमिकता

गौरीगञ्ज गाउँपालिकाका अध्यक्ष बाबुराजा श्रेष्ठ गाउँपालिकाको प्रमुख समस्या खोला नदीको कटान र यातायात भएको बताउँछन्। गाउँपालिकाले यी दुई समस्यालाई प्राथमिकतामा राखेर काम गरिरहेको उनले बताए। गाउँपालिकाका धेरै स्थानमा अझै पनि विकासका पूर्वाधारकै आवश्यकता रहेकाले गाउँपालिकाको बजेट पनि त्यता केन्द्रित गरिएको उनले बताए।

गाउँपालिकाको शिक्षा समितिका संयोजक समेत रहेका उपाध्यक्ष दिपेन्द्र थापा गाउँपालिका भित्र रहेका २५ विद्यालय मध्ये झण्डै आधा विद्यालयहरु विपतका दृष्टिकोणबाट बाढीको जोखिममा रहेका बताउँछन्। उनले गाउँपालिकाको मात्रै एकल प्रयासमा यहाँको समस्या हल हुन नसक्ने भन्दै केन्द्र सरकारले नै दातृ निकायमार्फत वा केन्द्रीय बजेटबाट समस्या हल गर्नुपर्ने बताए। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.