|

काठमाडौं : अन्तत: डा गोविन्द केसीले डा केदारभक्त माथेमाको हातबाट जुस खाँदै आफ्नो १५ औँ अनशन तोडेका छन्। सरकार र डा केसीका प्रतिनिधिबीच अड्किएको बुँदामा सहमित भएसँगै बिहीबार राति करिव साढे दसबजे डा केसीले अनशन तोड्न सहमति जनाएका हुन्। 

उनको अनशन तोडाउन टिचिङस्थित अनशनस्थलमा सरकारका तर्फबाट नेकपा संसदीय दलका उपनेता सुवासचन्द्र नेवाङ र नेता विष्णु पौडेल पुगेका थिए। 

यस अघि डा केसीका प्रतिनिधि र सरकारी वार्ता टोलीले तयार पारेको ड्राफ्टको एक नम्बर बुँदामै असहमति जनाएपछि आडकिएको गाँठो फुकाउन जिम्मा प्रधानमन्त्री केपी शर्मा ओलीले लिएका थिए। बिहीबार दिनभरजसो भएका अनौपचारिक र औपचारिक वार्तापछि तयार भएको सातबुँदे सहमतिको ड्राफ्टको पहिलो बुँदामै डा केसी अस्वीकृति जनाएका थिए। 

दसवर्ष काठमाडौं उपत्यकामा अस्पताल खोल्न नपाउने माग राख्दै पटकपटक अनशन बस्दै आएका डा केसीको मागविपरीत सरकारी पक्षले सोही बुँदा हटाएपछि उनले अस्वीकृति जनाएका थिए। डा केसीले ड्राफ्ट अस्वीकार गरेलगत्तै पुनस् प्रधानमन्त्री ओलीले डा केसीका प्रतिनिधिलार्इ प्रधानमन्त्री निवास बालुवाटार बोलाएका थिए।

यता डा केसीले व्यापारी पोस्ने कानुन ल्याउन नदिने अडान कायमै राखेका थिए। एक वार्ता टोलीका सदस्यका अनुसार केसीले आफू मृत्युको शैय्यामा बसिरहेको र यो व्यापारी पोस्ने ऐन ल्याउन कुनै पनि हालतमा दिने अडान राखेका थिए। त्यसलगत्तै बार्ता टोली थप छलफलका लागि बालुवाटारस्थित प्रधानमन्त्री निवास पुगेको थियो।सरकार र केसीबीच उक्त विषयमा सहमति भएसँगै उनले अनशन तोड्न सहमति जनाएका हुन्। 

अनशन तोडेलगत्तै डा केसीलार्इ आइसियुमा लगिएको छ। उनलार्इ आइसियुको बेड नम्बर एकमा राखेर उपचार गरिँदै छ।  लामो अनशनका कारण उनको स्वास्थ्यावस्था निकै नाजुक बनेको उपचारमा संलग्न डाक्टरहरूको भनाइ छ।

डा केसी चिकित्सा शिक्षा सुधारको माग राख्दै २७ दिनदेखि अनशनरत छन्। लामो अनशनका कारण उनको स्वास्थ्यावस्था नाजुक बन्दै गएको उनको उपचारमा संलग्न चिकित्सकहरूले बताएका छन्। उनले चिकित्सा शिक्षा सुधारको माग राख्दै अनशन पसेको १५औँ पटक हो।

 


 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.