|

कालीकोट : जिल्लाको कालीकोट रास्कोट नगरपालिकाका– २ सिपखानामा वि.सं. २०४८ मा जन्मिएका विश्वनाथ सिंखडा गायक बन्ने सपना बोकेर २०६७ सालमा एसएलसी पास गरेपछि नेपालगंजस्थित भृकृटी उच्चमाध्यमिक विद्यालयमा कक्षा ११ मा भर्ना भए। भर्खर विद्यालय भर्ना भएका सिंखडालाई त्यतिबेला आफ्नो सपना साकार हुने लाग्यो, जतिबेला ‘हिमाल लोकतारा’ मध्यपश्चिम अडिसनले स्वर परीक्षण गर्यो। मध्यपश्चिमका १५ जिल्लाबाट उपस्थित भएका १५ सय कलाकारमध्ये १९ वर्षीय सिंखडा पनि छानिए। 

मध्यपश्चिमका १५ सय कलाकारमध्ये तीन महिनासम्म चलेको अडिसनमा सिंखडा ‘टप थ्री’मा पुगे। उनले टप थ्रीमा पुगेपछि नेपालको चर्चित कलाकार बन्ने सपना बोकेर २०६८ सालमा गायिका टीका पुनसँग ‘पिरतीको भोको’ लोक दोहरी गीत रेकर्ड गराए। 

‘पिरतीको भोको, ला’को माया छुटाउने तिम्रो कस्तो धोको?’ बोलको उक्त गीत बजारमा ल्याए। उनले सिआरबिटी, पिआरबिटी पनि दर्ता गरे तर सोचेजस्तो गीत चलेन। उनले रोयल्टी पनि पाएनन्। 

गायनबाट निराश भएर रेडियोकर्मी 

‘जीवन भनेजस्तो, सोचेजस्तो कहाँ हुँदोरहेछ?’, सिंखडा भावुक हुँदै भन्छन्, ‘रहर गरेर मात्र केही नहुँदोरहेछ। परिस्थिति र बाध्यतामा बाँधिनुपर्ने आकस्मिकता पनि जीवन रहेछ।’

नामी गायक बन्ने भुत सवार भएर काठमाडौं हान्निएका सिंखडाको काठमाडौं पुगेपछि पढाइ पनि छुट्यो। तीन वर्षसम्म डेराको जीवन, गीतको रोयल्टी नआउँदा र अझ भनेजस्तो गीत नचल्दा उनको काठमाडौंको बसाइ भनेजस्तो भएन र फर्किए आफ्नो जन्म थलो अनि बने रेडियोकर्मी। 

वि.सं. २०७१ मा आफ्नो जन्मथलो कालीकोट फर्किएका सिंखडा त्यहीँबाट प्रशारण हुने रेडियो चंखेलीमा जोडिए। त्यहीँबाट उनले रेडियोमा समचार वाचनसँगै सांगीतिक कार्यक्रम चलाउन थाले। ‘गीत गाउनु र समचार वाचन गर्नुमा धेरै फरक रहेछ’, उनी भन्छन्। एउटा कलाकारबाट उनी यसरी पत्रकार बने।

राष्ट्रियस्तरमा फ्लप भए पनि स्थानीयस्तरमा चर्चित

एउटा एल्बम निकालेर बाँच्नका लागि अर्को पेसा रोजेका सिंखडा राष्ट्रिय रूपमा एउटा कलाकार हुन् भन्ने सबैलाई थाहा थियो। उनलाई कला र गलाका धनी भनेर चिनेकाहरूले स्थानीयस्तरमा हुने साँस्कृतिक महोत्सव, भेला, रंगरौतेलीमा समेत माग गर्न थालेका छन्। 

अहिले जिल्लामा हुने सबै महोत्सवहरूमा उनी नभएकामा खल्लो मान्ने गरेका छन्। ‘जिल्लामा सबै महोत्सवहरूमा मैले मेरो प्रस्तुति दिएको छु’, उनी ठट्टेउली पारामा भन्छन्, ‘मेरो स्वर मनपराएर बोलाएका हुन् कि यसको गीत बाहिर त्यति चलेन यता चलाऊँ भनेर हो, थाहा छैन।’ 

कलाकारबाट रेडियोकर्मी बनेका सिंखडाको जीवन र दिन अहिले राम्रै चलेको छ। उनले अहिले रोकिएको पढाइ पुनः सुरु गरेका छन्। उनी अहिले स्नातक दोस्रो वर्षमा अध्ययन गरिरहेका छन्। ‘कलाकार बन्ने भुत सवार भएर मेलै धेरै कुरा गुमाएँजस्तो लागेर आफ्नै जन्मथलो फर्किएँ’, उनले भने, ‘आफ्नै जन्म थलोमा अहिले मलाई कलाकार पनि बनाएको छ, पत्रकार पनि। विगतमा मेरो बिग्रिएको पढाइलाई निरन्तरता दिने वातावरण पनि मिलेको छ।’

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.