निर्मला पन्तको बलात्कार र हत्याबारे सदनलाई जानकारी दिन रुलिङ

|

काठमाडौं : सभामुख कृष्णबहादुर महराले प्रतिपक्षी दल नेपाली कांग्रेसले उठाएको सभामुख र उपसभामुखको विषय अदालतमा गएको भएकाले संसदमा छलफल नहुने बताए।

उनले नेपालको संविधानको धारा १०५ अनुसार उक्त विषयमा छलफल हुन नसक्ने बताए। सभामुख र उपसभामुखको विषयमा प्रतिपक्षी दल नेपाली कांग्रेसले पटक पटक संसदमा आवाज उठाउँदै आएको थियो। आइतबारको बैठकमा कांग्रेस सांसद लक्ष्मी परियारले विशेष समयमा बोल्दै सभामुख र उपसभामुख एउटै दलको भएकाले संविधान विपरीत भएको बताएकी थिइन्।

त्यसपछि सभामुख महराले कतिपय सांसदहरूले विगतमा र आजको बैठकमा पनि एक सांसदले उक्त विषय उठाएकाले संविधान अनुसार उक्त विषयमा छलफल हुन नसक्ने बताएका थिए।

संविधानको धारा १०५ मा "नेपालको कुनै अदालतमा विचाराधीन मुद्दाहरूका सम्बन्धमा न्याय निरूपणमा प्रतिकूल असर पार्ने विषयमा तथा न्यायाधीशले कर्तव्य पालनको सिलसिलामा गरेको न्यायिक कार्यको सम्बन्धमा संघीय संसदको कुनै पनि सदनमा छलफल गरिने छैन," भन्ने उल्लेख छ।

पन्त बलात्कार र हत्याको बारेमा जानकारी दिन रुलिङ

सभामुख कृष्णबहादुर महराले सरकारलाई कञ्चनपुरकी १३ वर्षीया बालिका निर्मला पन्तको बलात्कारपछि भएको हत्याबारे भइरहेको कारबाहीको बारेमा सदनलाई जानकारी दिन रुलिङ गरेका छन्।

आइतबार बसेको प्रतिनिधिसभाको बैठकमा सांसदहरूले पन्तको बलात्कार र हत्या गर्ने व्यक्तिहरू पक्राउ नपरेको र प्रहरी प्रशासन उक्त घटनाको अनुसन्धानमा गम्भीरताका साथ नलागेको भन्दै आपत्ति जनाएका थिए। उनीहरूले सरकारले उक्त घटनाका बारेमा गम्भीर अनुसन्धान गर्न माग गरेका थिए। जसमा नेपाली कांग्रेसका सांसदहरू दिलेन्द्रप्रसाद बडु, डिला संग्रौला, प्रमिला राई, लक्ष्मी परियारलगायतले पीडकलाई हदैसम्मको कारबाही र पीडित पक्षलाई न्याय दिन माग गरेका थिए।

सांसद परियार, राईलगायतले बलात्कारीलाई मृत्यु दण्ड दिने कानुन बनाउन पनि माग गरेका थिए।

त्यस्तै सत्ताधारी दल नेपाल कम्युनिस्ट पार्टीका सांसद निरूदेवी पाल, दीपक भट्ट, पुर्णाकुमारी सुवेदीलगायतले पनि पन्तका हत्यारालाई कारबाही गर्न माग गरेका थिए। सांसद पाल र भट्टले उक्त विषयमा नेपाली कांग्रेसले 'लाशको राजनीति' गरेको आरोप लगाएका थिए। जसको जवाफमा कांग्रेस सांसदहरूले कुनै बलात्कार र हत्याको विषय संसदमा उठाउनु लाशको राजनीति नभएको बताए।

कञ्चनपुरको भीमदत्त नगरपालिका २ की १३ वर्षीया निर्मला पन्तको शव गत शुक्रबार उखुबारीमा फेला परेको थियो। उनको बलात्कारपछि हत्या भएको प्रहरी आशंका छ र परिवारले उक्त घटनाको सत्यतथ्य छानबिन गरेर अपराधीलाई पक्राउ गरी कारबाही गर्न माग गरेको छ। सोही विषयमा शनिबार स्थानीय बासिन्दाले कञ्चनपुरको महेन्द्रनगर बजार बन्द गरिएका थियो र उक्त बन्दमा प्रहरीले हस्तक्षेपसमेत गरेको थियो। बन्दकर्तामाथि प्रहरी हस्तक्षेपको संसदमा पनि विरोध भएको छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.