‘अब महिला र पुरुषमा विभेद हुनेछैन’

|

इलाम : १२औँ साग गेममा नेपालले स्वर्ण पदक जित्दा इलामका नवयुग श्रेष्ठलाई नगर परिक्रममा साथै जिल्लाका विभिन्न स्थानमा सम्मानसमेत गरियो। तर नेपालकै राष्ट्रिय महिला टिमबाट रजत पदक ल्याउने गोलरक्षक इलामकै एन्जिला सुब्बाको चर्चा कतै सुनिएन। 

नेपालको पूर्वी नाका काँकडभिट्टाबाट स्वदेश प्रवेश गरेको नेपाली पुरुष टोलीलाई झापाबाटै सम्मानको लहर सुरु भयो। भद्रपुरबाट काठमाडौं उत्रिएको टिमलाई स्वागत गर्नका लागि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा विशिष्ट व्यक्तिदेखि हजारौँ फुटबलप्रेमीहरूको बाक्लो उपस्थिति थियो। टोलीलाई काठमाडौंमा नगर परिक्रमा गराएर दशरथ रंगशाला पु¥याएर सम्मान पनि गरिएको थियो। तर हरेक वर्ष साग र साफमा कुनै न कुनै पदक दिलाउने महिला टिमको भने कसैलाई चासो रहेन। 

१२औँ सागमा रजत पदक लिएर स्वदेश फर्किएको महिला टिमको सम्मानमा विमानस्थलमा स्वागत गर्न एन्फाका केही पदाधिकारी र महिला कमिटीका सदस्यबाहेक समर्थक र मिडिया नदेखिएको गोलरक्षक सुब्बा गुनासो गर्छिन्। 

२३ वर्षपछि उपाधि दिलाएर फर्किएको फुटबल टोली सबैको चासोको विषय बन्यो। विजेता टोलीलाई एन्फाले नगर परिक्रमा गरायो भने रजत पदक विजेता आफूहरू विमानस्थलमा ओर्लिएपछि सिधै कोठा जानुपरेको सुब्बा बताउँछिन्। सन् २०१६ को चौथो साफ च्याम्पियनसीपबाहेक अघिल्ला तीनवटै संस्करणमा नेपाल भारतसँग फाइनलमा पराजित बन्दै उपविजेता बनेको थियो भने तेस्रो साफमा सेमिफाइनलमा भारत बाधक बनेको थियो। 

दक्षिण एसियाली खेलकुद सागमा नेपाली महिला टिम अहिलेसम्म पदकविहीन हुनुपरेको छैन। अझ भन्नुपर्दा नेपाली महिला फुटबल टिम दक्षिण एसियाली खेलकुद र महिला साफ च्याम्पियनसीपमा विजेता बन्न नसके पनि फाइनल खेल खेल्ने टिम हो। फाइनलमा नेपाल लगातार भारतसँग पराजित हुँदै आएको छ।

नेपाली महिला टिमले सागमा दुई पटक रजत पदक तथा तीन पटक भएको महिला साफ च्याम्पियनसीपमा तीनै पटक रजत पदक दिलाएको थियो, जबकि पुरुष फुटबल टिमले अहिलेसम्म साफ च्याम्पियनसीपको उपाधि दिलाउन सकेको छैन। पुरुष टिमले साग फुटबल तेस्रो पटक जितेको हो। यसअघि नेपालले सन् १९८४ र १९९९ मा स्वर्ण पदक जितेको थियो। नेपाली महिला टिमले सन् २०१६ को साउथ एसियन गेमयता खेलेका १२ खेलमा सात जीत, दुई बराबरी र तीन हार व्यहोरेको छ भने पुरुष टिमले सन् २०१६ को बंगबन्धु कपयता खेलेका १९ खेलमा सात जीत, पाँच हार र सात बराबरीको नतिजा ल्याएको छ। 

साग जितेयता नवयुग दुई पटक जिल्लामा सम्मानित भइसकेका छन् तर सन् २०१४ बाट राष्ट्रिय टिममा खेलिरहेकी एन्जिलालाई जिल्लाका कुनै पनि निकायले सम्मान गरेका छैनन्। अखिल नेपाल फुटबल संघ एन्फाले राष्ट्रिय टोलीका सदस्यलाई मासिक भत्ता उपलब्ध गराउँछ। पुरुष टोलीका खेलाडीले मासिक १५ हजार रुपैयाँ पाउँछन्। महिला टोलीका खेलाडीले भने मासिक सात हजार रुपैयाँ मात्र पाउँछन्।

साफ र सागमा मात्र होइन, खेलाडी सम्मान र प्रतियोगिता आयोजनामा समेत विभेद हुने गरेको खेलाडीहरूको गुनासो छ। राष्ट्रिय टिमकी सदस्य एन्जिला भन्छिन्, ‘सागमा गोल्ड मेडल जित्दा नवयुग दाइलाई इलाममा अवीर जात्रा गरेर नगर घुमाइयो तर मलाई जिल्लाबाट एक कल फोनसमेत गरेनन्। आखिरीमा गोल्ड होस् या सिल्भर मेडल, खेल त प्रतिष्ठाका लागि खेल्ने हो नि! सिल्भर भए पनि देशका लागि मेडल त हामीले पनि पाएका थियौँ नि!’ 

साग जितेयता नवयुग दुई पटक जिल्लामा सम्मानित भइसकेका छन् तर सन् २०१४ बाट राष्ट्रिय टिममा खेलिरहेकी एन्जिलालाई जिल्लाका कुनै पनि निकायले सम्मान गरेका छैनन्। अखिल नेपाल फुटबल संघ एन्फाले राष्ट्रिय टोलीका सदस्यलाई मासिक भत्ता उपलब्ध गराउँछ। पुरुष टोलीका खेलाडीले मासिक १५ हजार रुपैयाँ पाउँछन्। महिला टोलीका खेलाडीले भने मासिक सात हजार रुपैयाँ मात्र पाउँछन्। पुरुष र महिलालाई सम्मानजनक सुविधा हुनुपर्ने महिला टिमकी स्ट्राइकर सावित्रा भण्डारीको तर्क छ। 

‘तलब मात्र होइन, अन्य सुविधामा पनि महिला खेलाडीलाई विभेद छ’, उनी भन्छिन्, ‘पुरुषको विभिन्न प्रतियोगिता आयोजना गरिन्छ तर हामीले एउटा खेल खेल्न वर्षौं कुर्नुपर्छ।’ उनले पुरुष टिमलाई क्लोज क्याम्पसमेत लामो समयसम्म राख्ने तर महिलाको हकमा भने यो लागू नहुने गुनासो गरिन्।

सन् २०१३ यता महिला टिमले छवटा मात्र मैत्रीपूर्ण खेल खेल्ने अवसर पाएको छ भने पुरुष टिमले सन् २०१५ यता नै सातवटा मैत्रीपूर्ण खेलमा सहभागिता जनाएको छ। ‘खेलाडीको स्तर बढ्ने भनेको निरन्तरको म्याच एक्स्पोजरले हो। तर महिला टोलीलाई घरेलु या अन्तर्राष्ट्रिय दुवैतर्फ प्रतियोगिता सीमित मात्र छन्’, सावित्रा भन्छिन्। 

विश्वकपको उपाधि रकममै विभेद

महिला फुटबलरमाथि विभेद नेपालमा मात्र होइन, विश्वभर नै हुने गरेको तथ्यहरूले देखाउँछन्। सन् २०१५ मा क्यानडामा सम्पन्न सातौँ महिला विश्वकप विजेता अमेरिकाले दुई करोड अमेरिकी डलर प्राप्त ग¥यो, जुन सन् २०१८ को पुरुष विश्वकपको समूह चरणबाटै बाहिरिने टिमले पाउने रकमको तुलनामा चार गुणाले कम हो। रुस विश्वकपमा समूह चरणबाटै बाहिरिने प्रत्येक टोलीले आठ करोड डलरका दरले रकम पाएका थिए। 

महिला फुटबल र मिडिया 

खेलकुद पत्रकार जर्जिना टर्नरले गार्जियनका लागी गरेको अनुसन्धानमा महिला फुटबलप्रति मिडियाको धारणाको विषयमा उल्लेख गरेकी छन्। सन् १९९८ पछि २००९ सम्म गार्जियनमा प्रकाशित फुटबलका समाचारमा उनले महिला फुटबलको विषयमा ३०३ वटा लेख पाइन्। तर तत्कालीन म्यानचेस्टर युनाइटेडका मेनेजर सर एलेक्स फर्गुसनको बारेमा १८४ वटा लेखहरू लेखिएका छन् भने इंग्ल्यान्डको तत्कालीन प्रिमियर लिग क्लब कोभन्त्री सिटी (जो हाल रेलिगेसनमा परेर इंग्ल्यान्डको दोस्रो वरीयताको प्रतियोगिता लिग वानमा छ)को बारेमा मात्र ३३८ वटा लेख पाइएको छ। फिफाको १० वर्षको रेकर्डले फुटबल खेलमा महिलाको सहभागिता अमेरिकामा २१० प्रतिशत, स्विट्जरल्यान्डमा २५० र जर्मनीमा १६० प्रतिशतले बढेको देखाउँछ। विशेष गरेर अफ्रिकालगायत अन्य देशमा समेत महिला फुटबलमा वृद्धि भएको छ। टर्नरले मिडियामा महिलाहरूको फुटबललाई सीमान्तीकृत गर्नुमा पत्रकारहरूको चाहना, पुरुषहरूले दबाउने शैली र सामान्यतयाः महिला फुटबलका लागि सानो बजेट छुट्याइने भनेर जोडेकी छन्।

महिला फुटबल खेलको इतिहासमा सबैभन्दा बढी दर्शक भएको खेलको रूपमा सन् १९९९ को महिला विश्वकपको फाइनल अमेरिका र चीनबीचको खेललाई लिइन्छ, जहाँ ९० हजार १८५ दर्शकले हेरेका थिए। सन् २०१५ को महिला विश्वकपको फाइनल खेल ५३ हजार ३४१ जनाले हेरेको फिफाको तथ्यांकले देखाउँछ, जबकि सन् २०१८ को रुस विश्वकपको फाइनल खेल ७८ हजार ११ जनाले हेरेका थिए। महिला फुटबलप्रति क्रेज भए पनि पर्याप्त लगानी छैन। महिला विश्वका १८० देशका २६ लाख महिला र बालिकाहरू फुटबल खेल्ने गर्छन्। 

एन्फा अध्यक्ष शेर्पा भन्छन् : ‘अब महिला र पुरुषमा विभेद हुनेछैन’

गत बैशाखमा कर्माछिरिङ शेर्पा नेतृत्वको एन्फाको नयाँ समिति चयन भएपछि आशा पलाएको महिला फुटबलरहरू बताउँछन्। राष्ट्रिय टोलीमा कान्छी गोलरक्षकको रूपमा चिनिएकी रौतहटकी अन्जना राना मगर चन्द्रनिगाहपुरमा सुविधा सम्पन्न महिला फुटबल एकेडेमी स्थापना हुने भएपछि महिला फुटबलमा केही आशा जागेको बताउँछिन्। उनी भन्छिन्, ‘महिलाहरूको पनि एकेडेमी बन्ने भएछ, अब भने महिला फुटबलमा केही हुन्छ कि!’

विश्व फुटबल महासंघ फिफाको स्वीकृतिमा रौतहटमा सुविधा सम्पन्न होस्टेल, स्तरीय मैदानसहितको महिला फुटबल एकेडेमी बनाइने, आगामी डिसेम्बरसम्म महिला टिमले उमेर समूहको सहित पाँचवटा अन्तर्राष्ट्रिय प्रतियोगितामा सहभागिता गराउनेलगायतका तत्काल योजना रहेको एन्फा अध्यक्ष कर्माछिरिङ शेर्पाले बताए। उनले रौतहटको चन्द्रनिगाहपुरमा सुविधा सम्पन्न महिला फुटबल टेक्निकल सेन्टरको स्थापनाका तीन साताअघि फिफालाई प्रस्ताव गरेको र सोहीअनुसार करिव चार करोड रुपैयाँको बजेटमा महिला एकेडेमी निर्माण गर्न फिफाले स्वीकृति दिएको बताए। एकेडेमीमा बढीमा ६० जना खेलाडीहरू रहन सक्नेछन्। नयाँ नेतृत्व चयन भएपछि विशेषज्ञहरूसँगको परामर्शमा महिला र पुरुष टिमको सशक्तीकरणका लागि योजना बनाइरहेको शेर्पाले बताए। उनले भने परिर्वतन एकै पटक आउँदैन त्यसका लागि समय लाग्छ। हामी योजना बनाउने क्रममा छौँ। यसअघिका नेतृत्वले जे जस्तो गरे पनि अहिलेको नेतृत्वले महिला र पुरुषमा विभेद गर्ने छैन।’ 

यता, राष्ट्रिय टिमकी स्ट्राइकर सावित्रा भण्डारी एन्फाका हरेक नेतृत्वबाट फुटबलको उत्थानका लागि विभिन्न योजनाहरू ल्याउने गरे पनि कार्यान्वयन भने न्यून हुने धारणा राख्छिन्। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.