|

कञ्चनपुर : शुक्लाफाँटा नगरपालिकाले लाखौं रुपैयाँ खर्चेर व्यवसायिक प्रयोजनका लागि निर्माण गरेको भवनको छत सामान्य पानी पर्दा पनि चुहिन थालेको छ।

खुला मञ्चअगाडि बनेको भवन निर्माण भएको वर्ष दिन नपुग्दै चुहिन थालेको हो। २०७३ चैतमा निर्माण सम्झौता भई २०७४ असार मसान्तमा निर्माण समपन्न भएको भवनमा पानी चुहिन थालेपछि भवनमा व्यवसाय सञ्चालन गर्दै आएका व्यवसायीको व्यापार प्रभावित हुन थालेको छ।

भवनमा व्यवसाय सञ्चालन गर्दै आएका व्यवसायी दिपक भट्टले भवनको छत चुहिँदा बिक्रीका लागि राखिएका सामान बिग्रिएको गुनासो गरे। उनले भने, ‘भवनमै जोडिएको शौचालय प्रयोजनको पानी समेत भवनभित्रै आउँदा झनै समस्या छ।’

भवनको छत ढलान गुणस्तरीय नहुँदा चुहिन थालेको एक व्यवसायीले बताए। उनले भने, ‘भवनको छत समतल पनि छैन, कहीं मोटो कहीं पातलो छ।’ भवनको छत चुहिने समस्यासँगै भवनमा लगाइएको प्लाष्टर समेत झर्न थालेको छ। 

हतारमा भवन निर्माण गरिँदा कमसल खाले भवन निर्माण भएको स्थानीय व्यवसायीहरुको भनाइ रहेको छ।

भवन हेर्ने जिम्मा पाएका नगरपालिकाका सहायक इन्जिनियर टेकेन्द्रप्रसाद भट्टले भवन चुहिँदा आफू आश्चर्यमा परेको बताए। ‘म पनि नयाँ नयाँ थिएँ, खासै अनुभव भएन,’ उनले भने, ‘त्यति बेलै निर्वाचन आयो, छत ढलान भएपछि पानी छर्किनु पर्ने हो, त्यो नहुँदा चुहिएको हो।’ ठेकेदारको धरौटीको रकम नगरपालिकामा रहेकाले त्यस रकमबाटै मर्मत गर्न लगाउन उनको भनाइ छ।

भवन निर्माणको जिम्मा पाएको भूमिराज केदार कन्ट्रक्सनका प्रोपाइटर कमलेश भट्ट असारमा सक्नुपर्ने बाध्यता भएकाले हतार गर्दा त्रुटि भएको हुन सक्ने बताउँछन्। 

नगरपालिकाको वडा नं. ९ का वडा सदस्य तथा पसल नं. ७ का सञ्चालक करनसिंह ऐरले भवन गुणस्तरहीन बनेको नगरपालकिालाई लिखित जानकारी गराए पनि सुनावाई नगरेको बताउँछन्। नगरपालिकाले ४८ लाख रुपैयाँमा उक्त व्यवसायिक भवन निर्माण गरेको हो। भवनको १६ फिट चौडाइ र ७६ फिट लम्बाइ रहेको छ। भवनमा व्यवसायिक प्रयोजनका लागि १० कोठा बनाइएको छ। सँगै बाथरुमसहितको शौचालय छ।

नगरपालिकाका प्रमुख दिलबहादुर ऐरले आफू निर्वाचत हुनुभन्दा अघि नै भवन निर्माणका लागि ठेक्कामा दिइएको बताए। ‘भवन निर्माणमा बदमासी भएकै छ,’ उनले भने, ‘चाँडै मर्मतको कार्यलाई अगाडि बढाउन निर्देशन दिएको छु।’ ठेकेदारको धरौटी बापतको पाँच लाख रुपैयाँ जफत गरिएको उनले जानकारी दिए। उनले जसरी पनि भवन मर्मत हुने प्रतिवद्धता व्यक्त गरे।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.