|

कञ्चनपुर : शुक्लाफाँटा नगरपालिकाले एकीकृत सम्पत्ति कर लागू गरेको छ। नगरपालिकाको कार्यपालिकाको बैठकले करका दर रेटहरू निर्धारण गरी लागू गरेको हो।

स्थानीय सरकार सञ्चालनका सम्बन्धमा व्यवस्था गर्न बनेको ऐन २०७४ को परिच्छेद ९ मा एकीकृत सम्पत्ति करसम्बन्धी भएको व्यवस्था अनुसार नगरपालिकाको अधिकार क्षेत्रभित्र कर लगाउन पाउने व्यवस्थाअनुसार कर लागू गरिएको नगरपालिकाका प्रमुख दिलबहादुर ऐरले बताए। ‘नगरपालिकाको क्षेत्रभित्र कुनै व्यक्तिको स्वामित्वमा रहेको सम्पूर्ण घर जग्गाको एकीकृत हिसाव गरी कर लगाइएको छ’ उनले भने। उनकाअनुसार एकलाख सम्मको सम्पत्तिमा १०, एक लाखदेखि दुई लाख सम्मको सम्पत्तिमा २०, दुई लाखदेखि तीन लाखसम्मको सम्पत्तिमा ३०, तीन लाखदेखि चारलाख सम्मको सम्पत्तिमा ४०, चार लाखदेखि पाँच लाख सम्मको सम्पत्तिमा ५०, पाँच लाखदेखि १० लाख सम्मको सम्पत्तिमा १५०, दश लाखदेखि १५ लाख सम्मको सम्पत्तिमा २००, १५ लाखदेखि २५ लाख सम्मको सम्पत्तिमा ३००,२५ लाखदेखि ३५ लाख सम्मको सम्पत्तिमा ६५०, ३५ लाखदेखि ५० लाख सम्मको सम्पत्तिमा ८००, ५० देखि ७५ लाख सम्मको सम्पत्तिमा एक हजार रुपैयाँ  दर रेट निर्धारण गरिएको छ।  

यसैगरी, ७५ लाखदेखि एक करोड सम्मको सम्पत्तिमा दुई हजार ५००, एक करोड ५० लाखदेखि दुई करोड सम्मको सम्पत्तिमा चार हजार, दुई करोडदेखि तीन करोड सम्मको सम्पत्तिमा पाँच हजार ५००, तीन करोडदेखि पाँच करोड सम्मको सम्पत्तिमा सात हजार, पाँच करोडदेखि १० करोड सम्मको सम्पत्तिमा १५ हजार, १० करोडदेखि २० करोड सम्मको सम्पत्तिमा २५ हजार र २० करोड भन्दा माथिको सम्पत्तिमा ५० हजार दर रेट निर्धारण गरिएको छ। सर्वदलीय समिति, मन्त्रालयको विज्ञहरूको टोली र जनभावना अनुसार करको दर रेट निर्धारण गरिएको नगर प्रमुख ऐरले भने, ‘एकीकृत सम्पत्ति कर लागू भएपछि नगरमा समृद्धिको ढोका खुल्ने अपेक्षा गरेका छौं।’

घर जग्गाको आकार प्रकार, बनोट, अचल सम्पत्तिको उत्पादनशील उपयोगको अवस्था, नागरिकको कर तिर्न सक्ने क्षमता,अचल सम्पत्तिको प्रचलित बजार मूल्य तथा ह्रास मूल्यलाई समेत कर निर्धारण गर्दा आधार बनाइएको छ। नगरपालिकाले क्षेत्रभित्र रहेका पसल तथा सरकारी जग्गामा बनेका संरचनाको उपयोग गरेवाफत बिटौरी शुल्क समेत निर्धारण गरी लागू गरेको छ।

एलानी जग्गामा बनेका घर जग्गा उपभोग गरेवाफत नगरपालिकाले शुल्क लगाएको हो। बिटौरी शुल्कअन्तर्गत पूर्व-पश्चिम राजमार्गमा जोडिएका जग्गाको प्रतिकठ्ठा २०० देखि ग्रामीण क्षेत्रमा रहेको जग्गाको प्रतिकठ्ठा ३० शुल्क निर्धारण गरेको छ। बजार क्षेत्रमा रहेको एकतले पक्की घरको २००, दुई तलेको १५०, तीन तलेको २००, चार तलेको २५०, पाँच तलेको ३००, ग्रामीण क्षेत्रमा रहेको एकतले घरको ७५ देखि पाँच तले घरको २७५ रुपैयाँ शुल्क निर्धारण गरिएको छ। कच्ची घरको भने ५० शुल्क तोकिएको छ। बजार क्षेत्रमा रहेका पसल प्रतिसटर दुईहजार ५०० भाडा तय गरेको छ।

साउन १ गतेदेखि लागू हुने गरी एकीकृत सम्पत्ति कर र बिटौरी कर लागू गरिएको जनाइएको छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.