|

सुनसरी  : पटक पटक विभिन्न विषयले विवादमा मुछिने गरेको इनरुवा अस्पताल पछिल्लो पटक आर्थिक हिनामिनाको विवादमा परेको छ। सुनसरी सदरमुका इनरुवामा रहेको अस्पतालको १९ लाख बढी रकम हिनामिना भएपछि थप विवादमा परेको हो।

बिरामीले तिरेको रकम इन्ट्री गर्ने कार्यमा खटिएका कर्मचारीले सेवा वापत तिरेको रकम बैंक दाखिला नगरी स्वयं हिनामिना गर्दै आएको तथ्य भेटिएको छ।अस्पतालको आम्दानी वापतको १९ लाख ३९ हजार ५५६ रुपैयाँ हिनामिना भएको पाइएको छ। इनरुवा अस्पतालको रकम हिनामिना हुनुका साथै हिनामिना गरिएको सरकारी रकम फिर्ता गर्नुको साटो कम्प्युटर सिस्टममा राखिने डाटा इन्ट्री मेटाएर रकम पचाउने गरिएको समेत पाइएको छ। हिनामिनामा संलग्न सबै इनरुवा अस्पतालका करारका कर्मचारी हुन्। उनीहरूले अस्पतालको आम्दानी वापतको दिनभरको आम्दानी जम्मा गरी बैंक दाखिला गर्नुको साटो आफूखुशी खर्च गर्दा अस्पताल प्रशासनलेआर्थिक भार समेत झेल्नु परेको छ। 

यसरी भयो हिनामिना

इनरुवा अस्पतालको काउण्टरमा ५ जनाले बिल काट्छन्। उनीहरू सबैले छुट्टाछुटै युजर आइडी प्रयोग गर्छन्। प्रत्येकले आफ्नो आइडीमा संकलन भएको रकम अस्पतालको खातामा जम्मा नगरी आफैं चलाउने गरेको भेटिएको हो। अस्पतालका कर्मचारी अजय प्रधानको नाममा ३ लाख ६९ हजार ५२१, कविता पोदारको नाममा ४ लाख ९१ हजार ८०३ रुपैयाँ, सरु भट्टराईको नामको १३ हजार ६९७ र विकेश श्रेष्ठको नाममा असार मसान्तयता १० लाख ६४ हजार ५३५ बक्यौता देखिएको छ। आयुषी शाक्य र सरु भट्टराईको नाममा समेत लाखौं रकम लामो समय बक्यौता रहेकोमा असार मसान्त सम्ममा शाक्यको हिसाब चुक्ता भएको देखिन्छ। सरुको नाममा केही बक्यौता अझ बाँकी छ। अन्यको नाममा रहेको बक्यौता मध्ये केही हदसम्म फिर्ता गरिए पनि पूर्ण चुक्ता भने हुन नसकेको इनरुवा अस्पतालले जनाएको छ। विकेश श्रेष्ठ करारकै कर्मचारी हुन्। उनले विल काउण्टर इन्चार्जको काम गर्दै आएका छन्।

लेखा फाँटले दिएको तथ्यांकका अनुसार विकेश एक्लैको नाममा १० लाख बढी रकम बक्यौता छ। यद्यपि विकेश भने आफ्नो नाममा त्यत्रो रकम बाँकी नभएको दावी गरेका छन्। श्रेष्ठले आफूहरूबाट गल्ती भएको स्वीकारे पनि घटनालाई सामान्य बताए। अस्पतालको लेखाफाँटको जिम्मेवारी सम्हाले पश्चात खर्च तथा आम्दानी केलाउने क्रममा हिनामिना सहितको त्रुटि फेला पारेका श्रवण घिमिरेले विल काउण्टर र आफूहरूको रेकर्ड मेल नखाएको बताए।

अस्पतालको आम्दानी वापतको ठूलो रकम हिनामिना हुँदा अस्पताल सञ्चालनमा समेत कठिनाई भोग्नु परेको घिमिरेले बताए। घिमिरेले केही कर्मचारीको मनपरितन्त्रका कारण सबै कर्मचारी र सिंगो अस्पताल बदनाम भएको बताए। अस्पतालको पछिल्लो घटनाक्रमले आफूलाई थप आजित तुल्याएको मेसु डा. विना शाक्यको भनाई छ। आम्दानी र खर्चको तालमेल नमिलेपछि कर्मचारीले गल्ती गरेको भेटिएकाले कारर्वहीको प्रक्रिया थालिने डा. शाक्यले बताइन्। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.