|

मनाङ : सिंगापुरमा ए लेबल पढ्दै गरेका मनाङ नासो गाउँपालिका दानक्युका ३३ वर्षीय अपिल लामा आफ्नै गाउँमा माछापालनमा व्‍यस्त छन्। करिब तीन रोपनी क्षेत्रफलमा माछा फार्म बनाएर विगत डेढ वर्षदेखि  व्यवसाय सुरु गर्दै आएका हुन्। सुरुमा हिमाली आयोजनाको  ५६ लाख र आफ्नो २५ प्रतिशत गरी जम्मा ८५ लाखमा संचालन गरेको लामाले बताए।

नेपालमा वैदेशिक मोह बढ्दै गएको अवस्थामा पढाइ छाडेर माछापालनमा लागेका लामा भन्छन्, 'हामी पढेका युवाहरु विदेशमै रह्यौँ भने हाम्रो देशमा को बस्ने र कसले गर्ने देशको विकास?' उनी थप्छन्, 'विदेशमा पढेर स्वदेशमा आफ्नो गाउँ ठाउँमा केही गर्नुपर्छ भन्ने मान्यताले मैले  सिंगापुरको ए लेबलको पढाइ छोडेर आफ्नै गाउँमा यो व्यवसाय गरेको हुँ।'

आफूजस्तै युवाहरूले आफ्नै ठाउँमा केही न केही उद्यम गरेमा देशको विकासमा टेवा पुग्ने विश्वास लामाको छ।   उनको फार्ममा  साना भुरामाछा उत्पादनका लागि आठ वटा रेस मार्ग बनाइएको छ भने ठूला माछाका लागि ११ वटा रेस मार्ग छ। सुरुमा नुवाकोट सुनखानीबाट ५ हजार माछका भुराहरु ल्याएर राखेको उनी सुनाउछन्।

हावापानी र वातावरण नमिलेर केही भुरा  मरे पनि राम्रै उत्पादन भइरहेको लामा बताउछन्। अहिले फार्ममा सात हजार माछा हुर्किरहेका उनी सुनाउछन्।

मासिक एक लाख आम्दानी

लामा बिहान उठेदेखि बेलुकासम्म फार्मको रेखदेख माछालाई दाना र माछा समात्ने साथै ग्राहकहरुको मागअनुसार विक्रीवितरणमा व्यस्त हुन्छन्। आफ्नै ठाउँको ताजा माछा खान पाउँदा यहाँका मानिसहरु खुसी भएको लामाको भनाइ छ। प्रतिकिलो १४ सय  रुपैयाँमा धमाधम बिक्री भएको र ग्राहकको मागअनुसार आफूले पुर्‍याउन नसकेको लामाले बताए।

प्रत्येक दिन १२ देखि १५ किलोसम्म बेच्ने गरेको र होटल व्यवसायका लागि पुर्‍याउन नसकेको उनको भनाइ  छ।  लामा र उनकी श्रीमती दिलमाया गुरुङले सम्हाल्दै आएको यस माछा फार्मबाट मासिक १ लाख २० हजारभन्दा बढी आम्दानी  हुने गरेको श्रीमती गुरुङले बताइन्। मासिक खर्च भने ३० हजार मात्र लाग्ने गरेको उनको भनाइ छ। अन्नपूर्ण पदमार्गको छेउमै रहेको यस फार्ममा  स्याक्यु खोलाको चिसो पानीमा माछाहरु खेलिरहेको मनोरम दृश्‍य हेर्न र माछा किन्न पर्यटकहरु आउने गरेको लामाले बताए।

हाल  यस फार्मका लागि ऊर्जा प्रवर्द्धन केन्द्रले ३३ लाख मूल्यबराबरको सोलार सहयोग गरेको छ। माछापालनस्थलमा दुईवटा स्ट्रिट लाइट राखिएका छन्। पहिला बाहिरबाट माछाका भुराहरु आयात गर्दा बढी ढुवानी खर्च लाग्ने र सबै भुराहरु सकुसल नहुने हुनाले अहिलेबाट आफैँले भूरा उत्पादन गर्न थालेको लामाले बताए।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.