राहतको प्याकेजमा स्थानीय र प्रदेश सरकार

|

पाँचथर : खडेरीले गर्दा पाँचथरको तुम्बेवा र कुम्मायक गाउँपालिका तथा तेह्रथुमको छथर गाउँपालिकाको बेंसी क्षेत्रमा मकै उत्पादन शून्य भएको छ। मकैको घोगामा दाना लाग्ने बेलामा वर्षात नभएपछि बोट खङग्रङग सुक्दा किसानले ढोँट काटदै वस्तुलाई खुवाउन थालेका छन्। मकै एक घोगा पनि थन्क्याउन नपाएपछि यस वर्ष किसानका घर रित्तो भएका छन्।

वर्षात् हुँदा एकै वर्ष तीन वर्षसम्म खान पुग्ने गरी फल्ने मकै घरको टेको, रेलिङ अनि हार बनाएर राख्न ठाउँ नभएपछि थांग्राेमा पनि राख्ने गरेका किसानले यसवर्ष भने एक घोगा मकै पनि थन्क्याउन नपाउँदा अव वर्ष कसरी टार्ने र वीउ कहाँदेखि ल्याउने भन्ने किसानलाई चिन्ता थपिएको छ। पाँचथरको तुम्बेवा गाउँपालिकाको वडा -१,साविक आङना-५,रातमाटेका सन्त तामाङले खडेरीले गर्दा मकैको वीउ नै हराएको बताए। ‘पोहोर साल पनि यस्तैभयो। अनि वीउ मागेर छरेको थिएँ।फेरि वीउ नै हरायो’ उनले भने, ‘खडेरीले वर्षेनी पिरोल्यो।’ उनी हिउँदे मकै धमाधम बारीमा छर्दैछन्। हिउँदे मकै पनि होला कि नहोला भन्ने उनमा चिन्ता छ। 

छिमेकी इन्द्रवहादुर बुढाथोकीको पनि उनको जस्तै हालत भएको छ। बारीमा ढोँट काट्दै गर्दा भेटिएका उनले वर्षेनीको खडेरीले खाद्यन्न वाली मकै उत्पादन नहुने गरेको बताए। उनीहरू जस्तै छिमेकी महेन्द्र तामाङ, वीरेन्द्र तामाङ, सुन्दरसिं तामाङसँगै सोही वडाको सिंगै ढुकुरेसहित डिही गाउँमा मकै उत्पादन शून्य भयो। 
मकै भाँच्न भनेर बारीमा पस्नै नपरेको डिही गाउँका धर्मलाल कार्कीले बताए। ‘मान्छे त जे जे गरेर बाँच्छन्। समस्या हुँदैन’ उनले भने, ‘मध्ये वर्षायाममा एक बित्ता पनि घाँस नपलाउँदा गाइवस्तुलाई घाँस खुवाउन समस्या छ।’

खडेरीले गर्दा ती गाउँहरू मध्ये हिउँदयामको माघ र फागुनमा जस्तो देखिन्छ। बोट विरुवा पनि राम्ररी पाउलिएको छैन। यस्तो खडेरी २०३४ सालमा मात्रै भोगेको सोही ठाउँकी पद्मा दाहाल बताउँछिन्। ‘समय कस्तो आयो आयो,वर्षायाममा यस्तो खण्डहर छ’उनले भनिन् ‘पहिले वर्षात हुँदा एकै वर्ष तीन वर्ष पुग्ने फल्थ्यो, बजारमा बेचिन्थ्यो पनि।’ उनले आम्दानीको स्राेत मकै उत्पादन नै नभएपछि स्थानीय सरकारले यसवर्ष सम्पूर्ण कर मिनाहा गरिदिनु पर्ने बताइन्।

खडेरीले गर्दा सोही वडाको पनि आम्बोटे,चनौटे,आहाले, रातमाटे, वडानम्वर २ को चुवाडे, सोभारा, हाक्पारा, मेवा र ३ नम्वर वडाको खैरेनी क्षेत्रमा मकै उत्पादन भएन। छिमेकी कुम्मायक गाउँपालिकाको कात्तिके, ओखलढुंगा,लुम्देखा, होक्लुम्बा, आम्बोटे, भुल्के र तेह्रथुमको छथर गाउँपालिका-३, ४ र ५ वडाको बेँसी क्षेत्रमा खडेरीले मकै खंरग्रै सुक्यो। 

राहत वितरणको चाँजोपाँजो मिलाउँदै स्थानीय सरकार

तुम्बेवा गाउँपालिका-१ ले यसअघि वडा परिषदले तय गरेको वार्षिक बजेटसहितको नीति तथा कार्यक्रममा उल्लेखित विभिन्न शीर्षकको बजेटबाट खडेरी प्रभावित किसानहरूलाई राहत दिन रकम चुँढाउन थालेको छ। वडाध्क्ष मोतिराज तामाङले गाउँपालिकाको वैठक बसेर एक वर्षको कर मिनाहा गर्ने र राहतको लागि कोष तयार गरिरहेको बताए।

कुम्मायक गाउँपालिका अध्यक्ष जयवहादुर चेम्जोङले पहिले खडेरी प्रभावित क्षेत्रमा क्षतिको मूल्यांकन गराउन अध्ययन टोली गठन गरेर पठाउने र टोलीले बुझाउने प्रतिवेदनका आधारमा राहत दिने बताए। यसका लागि शीर्षक मिलाएर राहत दिने र उनले पनि प्रभावित किसानहरूलाई कर मिनाहा गरिदिने बचन दिए। ‘हामी राहत दिन्छौँ, तर त्यसभन्दा पहिले जनप्रतिनिधिको नेतृत्वमा अध्ययन टोली बनाउछौँ’ उनले भने,‘राहतस्वरुप चामल कि नगद दिने भने निश्चित भएको छैन।’  तेह्रथुमको छथर गाउँपालिका अध्यक्ष सन्तोष तिगेलाले भने गाउँसभाको वैठक बसेर खडेरी प्रभावित क्षेत्रका किसानलाई एक वर्षको सम्पूर्ण कर मिनाहा दिने र राहत पनि उपलव्ध गराउने निर्णय गरिसकेको बताए।

विपद व्यवस्थापन प्रस्ताव पारितपछि प्रदेश सरकारले पनि राहत दिने 

प्रदेश-१ को संसदमा विपद व्यवस्थापनसम्वन्धी प्रस्ताव पेश भएको छ। ढिलोमा भदौको दोस्राे सातासम्ममा प्रस्ताव पारित भएपछि खडेरी प्रभावित क्षेत्रका स्थानीय सरकारसँग छलफल गरेर किसानलाई राहत दिने प्रदेश सरकारको तयारी रहेको आर्थिक मामिला तथा योजनामन्त्री इन्द्र आङ्बो मौसमले बताए। आर्थिक वर्ष २०७५/०७६ को वार्षिक बजेट सहितको नीति र कार्यक्रममा पनि विपद व्यवस्थापन शीर्षकमा बजेट रहेको उनको भनाई छ। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.