|

भद्रपुर, (झापा) : झापाका चिया मजदुर आन्दोलित बनेका छन्। सरकारले तोकेको न्यूनतम ज्याला ५१७ रुपैयाँ र बिमासहितको थप सेवा सुविधा नपाएको भन्दै चिया मजदुर आन्दोलित भएका हुन्। उनीहरूले तोकिएको सेवासुविधा नपाए काम नगर्ने चेतावनी समेत दिएका छन्।

सरकारले लागू गरेको तलबसहितको सेवासुविधा बैंकबाट दिनुपर्ने, सञ्चयकोष र वर्षको २६ दिन विदालगायतका सुविधा माग गर्दै झापाका कुवाडीदेवी टी स्टेटमा कार्यरत चिया मजदुरहरूले बिहीवार विरोध प्रदर्शन गरेका छन्। चिया उद्यमीविरुद्ध झापा गाउँपालिकास्थित झापा बजारमा विरोध र्‍याली निकालिएको हो।

अखिल नेपाल चिया मजदुर संघद्वारा आयोजित कोणसभामा संघका १ नम्बर प्रदेश इञ्चार्ज भूपाल सापकोटाले लामो समयदेखि झापाका चिया मालिकले मजदुर माथि गरेको चरम शोषणको अन्त्य भएको बताए। उनले चिया मालिकले मजदुरको माग सम्बोधन नगर्ने भए सरकारद्वारा लगाइएको ११ बिघाको हदबन्दी कायम गरी आफ्नो जमिन जिम्मा लिन अाग्रह गरे। बाँकी जमिन मजदुरहरुद्वारा नै उद्योग सञ्चालनमा ल्याउने चेतावनी दिए।

कार्यक्रममा झापा गाउँपालिकाका अध्यक्ष रुद्र बजगाई, अखिल नेपाल कुवाडीदेवी चिया मजदुरका अध्यक्ष जगनाथ पौडेल, नेकपा नेता कृष्ण खड्कालगायतले यही साउन १ गते देखि सरकारले तोकेको ज्याला र सुविधा नपाए चिया मजदुरहरूले अनिश्चितकालीन उद्योग बन्द गर्ने चेतावनी दिए। 

तीन सय बिगाहा चिया बगान रहेको कुवाडीदेवी टि स्टेटमा ६० जना स्थायीसहित २ सय ५० जना चिया मजदुर कार्यरत छन्।  यो गाउँपालिकामा अन्य २०० बिघा क्षेत्रमा श्यामसुन्दर अग्रवालको चिया बगान छ भने ६० बिघामा कन्दङ्वा टि स्टेट छ। यी दुवै चिया बगानमा १५० बढी मजदुर कार्यरत छन्।  

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.