|

जाजरकोट :  युद्धताका माओवादीले जनवादी सत्ताको अभ्यास गरिरहेको जाजरकोटको जूनी कम्युन बस्तीमा अहिले व्यावसायिक भेडापालन थालिएको छ। समुद्री सतहदेखि १९ सय मिटरको उचाइमा रहेको जुनीचाँदे गाउँपालिका–७ जुर्क र निपानेमा भेडापालनलाई व्यवसाय बनाउन थालिएको हो।

२०५५ साल असार ३ गते खेत रोपाइँ गरिरहेका नाै जना र मंसिर १० गते विवाहका दुलाहासहित १५ जन्तीलाई तत्कालीन नेपाल प्रहरीद्वारा गरिएको सामूहिक हत्याको पीडामा छट्पटाइरहेका जुर्क निपानेबासीलाई तत्कालीन माओवादीले २०५६ साल चैत १२ गते जुर्क र निपानेका अगाडिका अक्षर जोडेर ‘जुनी’को नाम दिएर कम्युन सञ्चालन गरेको थियो। यहाँका किसानहरुले हाल जुनीचाँदे गाउँपालिकाको पशुपंक्षी विकास शाखामा जुनी भेडापालन कृषक समुह दर्ता गरेर व्यवसायिक भेडापालन गर्न थालेका हुन्।

नयनसिंह घर्ती अध्यक्ष रहेको जुनी भेडापालन कृषक समूहमा १५ घरपरिवार सदस्य छन्। १५ घरपरिवारमा बरुवाल (लोकल) जातको १४ सय ४७ भेडा रहेको अध्यक्ष नयनसिंह घर्तीले जानकारी दिए। उक्त भेडापालन कृषक समुहका सदस्यहरुको घरमा भेडा मात्र नभएर १५ सय ७८ वटा बाख्रा पनि रहेका छन्।  अध्यक्ष घर्तीले भने,‘भेडा, बाख्रापालनका लागि यहाँको हावापानी र वनजंगल निकै उपयुक्त छ, त्यसैले हामीले व्यावसायिक रूपमा भेडापालन गर्ने सोच बनाएका हौँ।’

भेडापालन व्यवसायलाई प्रवर्धन गर्न स्थानीय सरकार गाउँपालिकाले अनुदान दिनु पर्ने, उन्नत जातको बेलन, औषधि उपचारको व्यवस्था गरिदिनुपर्ने अध्यक्ष घर्तीको भनाइ रहेको छ। जुनीचाँदे गाउँपालिका– ७ को आव २०७४\०७५को नीति तथा कार्यक्रम अनुसार दुई लाख जुनी भेडापालन कृषक समूहले अनुदान पाएको घर्तीले जानकारी दिए।

अढाइ लाख अनुदानबाट उक्त कृषक समूहले भेडा तथा बाख्रा अनुसन्धान केन्द्र जुम्लाको गोठीचौरवाट ४२ हजारमा न्युजिल्याण्डको मेरुनो जातको एक, २० हजारमा चीनको भ्याग्लुङ जातको एक साढे र १४ हजारमा चीनकै च्याङ्ग्रा जातको बोका  ल्याएको अध्यक्ष घर्तीले जानकारी दिए। त्यसैगरी एक लाख १६ हजार मूल्य हालेर ५० प्रतिशत मात्रा रहेका बोयर जातका ६ वटा बोका सुर्खेतको दशरथपुरवाट खरिद गरेर जुनीमा पुर्‍याइएको अध्यक्ष घर्तीको भनाइ छ।

भेडाको ऊनबाट विभिन्न सामग्री बनाएर र मासु बिक्री गरेर राम्रो अाम्दानी लिन सकिने उनी बताउँछन्। अन्न उत्पादन निकै कम हुने जुनीमा भेडा, बाख्रा पालन व्यबसायवाट राम्रो आम्दानी लिन सकिनेमा जुनीबासीहरु ढुक्क  छन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.