|

खोटाङ : जिल्लामा करिब डेढ करोड लगानीमा बेकरी एण्ड क्याफे उद्योग संञ्चालनमा ल्याएको छ। दिक्तेल बजारका स्थानीय ५० युवा उद्यमीहरूको संयुक्त लगानीमा दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१ दिक्तेलको बैंकचोकमा सिद्धलक्ष्मी बेकरी एण्ड क्याफे उद्योग शनिबारबाट संञ्चालन ल्याइएको हो।

अत्याधुनिक उपकरणहरूको प्रयोग गरेर स्थापना गरिएको बेकरी एण्ड क्याफे उद्योग शनिबार दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका प्रमुख दीपनारायण रिजाल र जिल्ला न्यायाधीस किशोर घिमिरेले संयुक्तरूपमा उद्घाटन गरेका हुन्। उद्योगको उद्धघाटन गर्दै नगर प्रमुख रिजालले बेकरी उद्योगलाई प्रोत्साहनका लागि दुई वर्षसम्म कर छुटको घोषणा गरेका छन्।

स्थानीय उत्पादनलाई विस्तार गरेर आर्थिक सवृद्धि प्राप्त गर्ने लक्ष्यका साथ दिक्तेलमा सिद्धलक्ष्मी बेकरी एण्ड क्याफे उद्योग संञ्चालनमा ल्याइएको सिद्धलक्ष्मी कम्पनी प्रालिका अध्यक्ष छत्रकुमार बजिमयले बताए। दिक्तेलमा सिद्धलक्ष्मी सहकारी सञ्चालन गर्दै आएको समूहले नै बेकरी एण्ड क्याफे उद्योग सुरू गरेका हुन्।

विकट क्षेत्रमा पनि औधोगिक विकास गर्ने लक्ष्य लिएको उद्योगले हाल ब्रेड, डुनोट, बर्गरबन, क्रिमरोल, पफ, मफिन, पेष्ट्री, बर्थडे केकलगायतका खाद्य सामग्री उत्पादन गरेर बजारमा बिक्री वितरण गरिरहेको छ। कम्पनीले हाल दिक्तेलबजार, नुनथला, बुईपा, अर्खौले, हलेसीलगायतका बजारसम्म आफ्नो उत्पादनलाई पुर्‍याउँदै आएको जनाएको छ।

कम्पनीले आगामी दिनमा छिमेकी जिल्लाहरूमा समेत आफ्नो उत्पादनलाई विस्तार गर्ने तयारी गरेको जनाएको छ। उद्योगले खाद्य तथा गुणस्तर नापतौल विभागको मापदण्डअनुसारको खाद्य सामग्री उत्पादन गरेर बिक्री वितरण गरिरहेको उद्योगका प्रबन्ध सञ्चालक मनोज बजिमयले बताए।

२०५६ सालमा दिक्तेलमा बेकरी उद्योग चलाएका दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–४ खाल्लेका गोविन्द कट्वाललाई उद्योग उद्घाटनको अवसरमा  सम्मानसमेत गरिएको थियो। बेकरी उद्योगमा हाल २५ जनाले रोजगारसमेत पाएका छन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.