शिक्षाको गुणस्तरमा सम्झौता नगर्ने मन्त्री पोखरलेलको प्रतिवद्धता

|
फाइल फोटो

काठमाडौं : प्रतिनिधिसभाको शिक्षा तथा स्वास्थ्य समितिले चिकित्सा शिक्षा विधेयकमा संसोधन प्रस्ताव दर्ता गराएका संसोधनकर्ता सांसदहरूसंग छलफल गरेको छ। आईतबार सिंहदरबारस्थित समितिको कार्यालयमा बसेको समितिको बैठकले विधेयकमाथि संसोधन दर्ता गराएका संसोधनकर्ता सांसदहरूको धारणा बुझेको हो।

 संसोधनकर्ताहरू विन्दा पाण्डे, सोम प्रसाद पाण्डे, राजेन्द्र कुमार  केसी, खगराज अधिकारी लगायतले धारणा राखेका थिए। विन्दा पाण्डेले आशयपत्र लिईसकेका चिकित्सा शिक्षा अध्ययन गराउने संस्थालाई विस्तारै नाफारहित शिक्षण संस्थाको रुपमा परिणत गर्दै ट्रष्टमा परिणत गर्नुपर्ने बताए।

 उनले चिकित्सा शिक्षा अध्ययनका लागि छुट्याईएको ७५ प्रतिशत निशुल्क सिट निम्न बर्गले पाउने सुनिश्चितता विधेयकमा नै गरिनुपर्ने धारणा राखे। सांसद सोमप्रसाद पाण्डेले कम्तिमा ३ बर्ष भित्र नेपालभरि चिकित्सा शिक्षा निशुल्क पढ्न पाउनुपर्ने व्यवस्था गर्नुपर्ने बताए।  त्यसैगरी राजेन्द्र कुमार केसीले राजधानी काठमाण्डौमा कम्तिमा १० बर्ष रोकेर बाहिर मेडिकल कलेज खोल्न प्रोत्साहन गरिनुपर्ने बताए। 

संसोधनकर्ताहरूको भनाई पछि शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले भुगोल र जनसंख्याको आधारमा शिक्षण संस्था खोल्नका लागि अनुमति प्रदान गरिने उल्लेख गरे।  उनले शिक्षण संस्थाको गुणात्मकको विषयमा सरकारले कुनै पनि प्रकारको सम्झौता नगर्ने बताए। 

समितिले आगामी बैठकमा चिकित्सा शिक्षाका सरोकारवाला निकाय, माथेमा आयोगका प्रतिनिधि, डाक्टर गोविन्द केसी, नेपाल मेडिकल काउन्सिल लगायतसँग छलफल गर्ने भएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.