|

काठमाडौं : पुनर्वहालीको मुख्य मागसहित आन्दोलन गर्दै आएका साझा प्रकाशनका पूर्व कर्मचारीहरूले महाप्रबन्धक डोलेन्द्रप्रसाद शर्माको राजीनामा माग गरेका छन्।

पूर्व कर्मचारीहरूले आफूहरूलाई स्वेच्छिक अवकाश दिने बेलामा गरिएको सर्तअनुसारको सेवा तथा सुविधा नदिएको भन्दै मंगलबार साझाका महाप्रबन्धक शर्माको राजीनामा माग गरेका हुन्। पूर्व कर्मचारीहरूले उपदानसहितको सेवा सुविधा नदिएकै कारण आफूहरू समस्यामा परेको गुनासो पनि गरेका छन्।

आफूहरूको सेवा र सुविधा उपलब्ध गराउन नसकेको भन्दै पूर्व कर्मचारी आयुशमान शाक्यले महाप्रबन्धक शर्माको राजीनामा माग गरेका छन्। उनले महाप्रबन्धक शर्माले आफन्त र राजनीतिक पहुँचका आधारमा नयाँ कर्मचारी करारमा राखेको भन्दै आक्रोश पनि व्यक्त गरे। अर्का पूर्व कर्मचारी अतिसमान श्रेष्ठले उपदानसहितको सेवा र सुविधा दिने सर्त पालना नगरेपछि आफूहरू मारमा परेको गुनासो गरे।

यता, महाप्रबन्धक शर्माले भने अवकाश प्राप्त पूर्व कर्मचारीहरूलाई उपादानका लागि सम्बन्धित मन्त्रालयसँग पहल भइरहेको बताएका छन्। उनले आफूले ६३ करोड ऋणमा डुबेको साझालाई जोगाएको दावी गर्दै आफ्नो राजीनामा माग गर्नुको कारण पुष्टि देखाउन चुनौति पनि दिए।

साझा प्रकाशनका अधिकृत स्तरका २२ जना, सहायक स्तरका ६९ जना गरी १२८ जना कर्मचारीले स्वेच्छिक अवकास दिएका थिए। साझाले अवकास प्राप्त कर्मचारीहरूको उपदानबापत १७ करोड बराबरको रुपैया दिन बाँकी छ।

उपदानलगायत सेवा सुविधाको माग गर्दै पूर्व कर्मचारीहरूले साझा प्रकाशनमा धर्ना दिएको मंगलबार ३६ दिन पुगेको छ। कर्मचारीहरू असार ३२ गते देखि दैनिक कार्यालय समयमा साझा प्रकाशन परिसरमा धर्ना बस्दै आएका छन्। उनीहरूले आफूहरूको माग सम्बोधन नभएसम्म धर्नालगायतका आन्दोलनको कार्यक्रमलाई निरन्तरता दिने चेतावनी पनि दिएका छन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.