|

कञ्चनपुर : बलात्कारपछि हत्या गरिएकी १३ वर्षीया निर्मला पन्तका दोषीलाई कारबाहीको माग गर्दै सदरमुकाम भीमदत्तनगरमा आन्दोलनरत पक्ष र प्रहरीबीच झडप हुँदा दुई प्रहरीसहित आठ जना घाइते भएका छन्।

ट्राफिक चोकमा आन्दोलनकारी र प्रहरीबीच भएको झडपपछि प्रहरीले गोली चलाउँदा भीमदत्तनगरपालिका–१८ का १७ वर्षीय अर्जुन भण्डारीलाई गोली लागेको छ भने अन्य पाँच आन्दोलनकारीलाई गोलीको छर्रा लागेको महाकाली अञ्चल अस्पतालले जनाएको छ।

घाइते हुनेमा तेज भट्ट, कृत पनेरु, मनोज बुढा, सरोज खड्का र सन्तोष कठरिया रहेका छन। बायाँ खुट्टामा गोली लागेका भण्डारीलाई थप उपचारका लागि धनगढी पठाइएको अस्पताल स्रोतले जनाएको छ। आन्दोलनकारीको ढुङ्गा लागेर प्रहरी हवल्दार हर्कबहादुर पाल र जवान महेश भट्ट घाइते भएका छन्। घाइतेहरूको महाकाली अञ्चल अस्पतालमा उपचार भइरहेको छ।

भीमदत्तनगरपालिका–२ खोल्टीकी १३ वर्षीया निर्मला पन्तको हत्यारालाई कारवाहीको माग गर्दै कञ्चनपुरवासी आन्दोलनमा छन्। गत आइतबार भीमदत्तनगरपालिका–१९ बागफाँटाका ४१ वर्षीय दिलीपसिंह विष्टलाई हत्याको अभियुक्त भन्दै प्रहरीले सार्वजनिक गरेपछि आन्दोलन झन् चर्किएको हो। मानसिक सन्तुलन गुमाएका विष्टलाई अभियुक्तका रुपमा सार्वजनिक गरेको आरोप लगाउँदै स्थानीयवासी तीन दिनदेखि आन्दोलनमा छन्। जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता प्रहरी नायब उपरीक्षक ज्ञानबहादुर सेटीले झडपमा घाइते भएको बारे जानकारी लिइरहेको बताए।

घटनाको छानबिनका लागि वरिष्ठ प्रहरी उपरीक्षक विक्रम चन्दलाई कञ्चनपुर खटाएको छ। उनले आजैदेखि घटनाको छानबिन थालेको प्रहरी स्रोतले जनाएको छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.