|

हुम्ला :  सुन्दा अचम्म लाग्न सक्छ। हुम्ला जिल्लाको उतरी तिब्बतसँग जोडिएको नाम्खा गाउँपालिका– ६ लिमीको तिल गाउँमा साँझ ७ बजेपछि जोसुकैलाई पनि घरमा जाने अनुमति छैन।

यो अनाकण्टार वारिपारि बस्ती नै नभएको एक्लो गाउँ हो। ६० घरधुरी भएको तिलमा प्राय: महिला, बुढापाका र बालबालिका मात्र छन्। यहाँ ७ बजेपछि जोसुकै मानिस आए पनि बास पाइँदैन। यहाँका बासिन्दाले राति आउने पाहुना वा गाउँकै मानिसलाई समेत  घर भित्र पस्न नदिने निर्णय गरेका छन्।

तिल गाउँमा जानका लागि हिल्साबाट पैदल मार्ग हिडेर ६ घण्टा लाग्छ। वरिपरि पहाडैपहाड छ भने बिचमा सानो समथर भूभागमा भएको एउटा सानो गाउँ छ। उता नजिकै जोडिएको अर्को हल्जीगाउँ बाट हिंडेर जान पनि चार घण्टा लाग्छ।

तिल गाउँका मानिसहरूको व्यवसाय भनेको पशुपालन हो। कृषियोग्य जमिन भने थोरै छ। जहान बालबच्चा पाल्नका लागि अहिले त्यहाँका युवायुवती महिला पुरुष समेत तिब्बतको ताक्लाकोटमा कामको खोजीमा सबै गाउँबाट निस्किएका छन्। कोहि चौरी गाई गोठाला त कोही च्यांग्रा भेडा पाल्नको लागि  लेकतिर गएका छन्। 

गाउँमा भने घर हेरालुका लागि  महिला, बुढापाका र बालबालिका मात्रै छन्। हरेक वर्ष बर्खा याममा कामको  खोजीमा गाउँ बाट बाहिरिन्छन्। गाउँमा पुरुष नभए पछि बाहिरबाट आएका मानिसबाट चोरी हुने र महिला माथि बलात्कारका घटना घटेपछि गाउँमा जोसुकैलाई पनि राति ७ बजे पछि घरको ढोका नखोल्ने निर्णय गरेको समेत तिल गाउँनिवासी पेमा डोल्कार तामाङले बताइन्।

काठमाडौंको बौद्धस्थित सेतो गुम्बानजिकै पनि घर भएकी उनले कात्तिक महिनासम्म घर हेर्न तिल गाउँमा आएको बताइन्। सबै घरपरिवार काठमाडौंमा भएका  वेला घरको सुरक्षाका लागि यहाँ आएको बताइन्। हिउँद ६ महिनामा भारि हिउँ पर्ने भएकोले गाउँले बाहेक अरु कोहि पनि नआउने हुँदा गाउँ सुरक्षित हुने समेत तामाङले बताइन्। 

राति आउने बटुवा भोकभोकै सुत्नुपर्ने

राति ७ बजे पछि आउने बटुवा वा छिमेकी गाउँले नै बास नपाएपछि ओत लाग्ने ठाउँमा भोकभाकै सुत्नुपर्छ। ७ बजेपछि गाउँका कुनै  घरमूलीलाई 'बास पाऊँ' भनेर आग्रह गरे  पनि सुनेर पनि नसुनै झै गरी ढोका बन्द गर्ने  चलन छ।  लिमी पर्यटन महोत्सवका लागि हिल्साबाट लिमीको हल्जी गाउँमा हानिएका जिल्ला पत्रकार महासंघ हुम्लाका अध्यक्ष सहितको एक टोली एक रात बास नपाउँदा जाग्राम बस्नु परेको गोरखापत्र दैनिकका जिल्ला संवाददाता राजन रावतले बताए।

एकपटक हिल्सा बाट ६ घण्टा हिँडेर  ७ बजे तिलगाउँमा पुगेका कारोवार दैनिकका संवाददाता रेशमराज रोकायाले बताए। सिमकोटबाटै बोकेर लिएकोे 'ड्राईफ्रुट्स' खाएर रात बिताएको कारोवारो दैनिकका हुम्लाका संवादाता रोकायाले बताए। 

'के गर्नु, गाउँले बनाएको नियम हो। सबैले  पालना गर्नैपर्छ', तामाङले भनिन्। राति बास नदिए पनि बिहान उेठपछि पाहुनालाई सत्कार गर्दै खाना खुवाउने चलन देखेर रोकाया पनि दंग परे।  हुम्लाका उतरी तिल गाउँमाा मात्र होइन हल्जी र जाङ गाउँमा पनि राति अबेर पुग्नेलाई समस्या  नै हुन्छ। बटुवालाई न त बास बस्ने होटल नै छ। नत गाउँलेले साढे सात बजेपछि बास बस्नका लागि गाउँमा बास दिन्छन्। 

 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.