झापा र सुनसरीमा बढी

|

सुनसरी : प्रत्येक वर्ष सेप्टेम्बर ९ मा विश्व आत्महत्या रोकथाम दिवस मनाइरहँदा प्रदेश-१ मा भने आत्महत्याले विकराल रूप लिएको पाइएको छ। प्रदेशमा एक वर्षमा १ हजार ११७ जनाले आत्महत्या गरेकाे तथ्यांकले देखाएकाे छ।

गत आर्थिक वर्षमा आत्महत्या गर्नेमध्ये ५९३ जना पुरुष र ४५४ जना महिला रहेका छन्। जसमा २१ जना बालक र ४२ जना बालिकाले आत्महत्या गरेको प्रदेश प्रहरी कार्यालय विराटनगरले उपलब्ध गराएको तत्थ्यांकमा उल्लेख छ। यो तथ्यांक हेर्दा प्रदेश-१ मा आत्महत्याको समस्या विकराल बन्दै गएको पुष्टि हुन्छ। प्रदेश प्रहरी कार्यालय विराटनगरका अनुसार प्रदेश एकमा प्रत्येक वर्ष आत्महत्या गर्नेको संख्या बढ्दै गएको छ। आर्थिक वर्ष ०७२/०७३ मा ९९८ जनाले आत्महत्या गरेका थिए। ०७३/०७४ मा यो संख्या बढेर १ हजार १२९ पुगेको थियो।

अघिल्लो आर्थिक वर्षमा १ हजार ११७ जनाले आत्महत्या गरेको प्रहरीको रेकर्ड छ। प्रदेश  एकका प्रहरी प्रवक्ता एसपी आभूषण तिम्सिनाका अनुसार आत्महत्या गर्ने वयस्कहरूमा महिलाभन्दा पुरुषको संख्या बढी छ। प्रहरीमा दर्ता भएका १८ वर्षमुनिका बालबालिकाको तथ्यांकले भने बालकभन्दा बालिकाले बढी आत्महत्या गरेको देखिएको छ। 

आर्थिक वर्ष ०७२/०७३ मा ५११ जना पुरुषले आत्महत्या गर्दा ४३८ जना महिला, १८ जना बालक र ३१ जना बालिकाले आत्महत्या गरेको प्रहरीको तथ्यांक छ। आर्थिक वर्ष २०७३/०७४ मा ५५८ जना पुरुषले आत्महत्या गरेका छन्। त्यो वर्ष ५१७ जना महिला, २४ जना बालक र ३०  जना बालिकाले आत्महत्या गरेका थिए।
चालु आर्थिक बर्षको साउन महिनामा मात्र प्रदेश १ मा ८७ जनाले आत्महत्या गरेका छन्। ती मध्ये ४९ जना पुरुष, ३५ जना महिला र ३ जना बालक छन्।

प्रहरीका अनुसार आत्महत्या गर्दा झुण्डिएर आत्महत्या गर्नेको संख्या अधिक रहेको छ। त्यसपछि भने आत्महत्याका लागि विष सेवन गर्नेको संख्या धेरै रहेको छ। गत आर्थिक वर्षमा मात्र ५०८ जना पुरुष र ३७० जना महिला गरी कूल ८७८ जना बयस्कले झुण्डियर आत्महत्या गरेका थिए। त्यसरी झुण्डिएर १७ बालक र ३२ बालिकाले समेत आफ्नाे ज्यान गुमाएका छन्। विष सेवन गरेर भने १५९ जना वयस्क र १४ जना बालबालिकाले ज्यान गुमाएको प्रहरी तत्थ्यांकले देखाएको छ।

आव २०७२/०७३ मा ७७६ वयस्क र ४४ जना बालबालिकाले झुण्डिएर ज्यान गुमाउँदा १५६ जना बयस्क र ४ जना बालबालिकाले विष सेवन गरी ज्यान गुमाएका छन। त्यसैगरी आव २०७३/०७४ मा कूल १५४ जनाले विष सेवन गर्दा र ९४२ जनाले झुण्डिएर आफ्नाे ज्यान गुमाएको प्रहरीको तथ्यांकले देखाएको छ। चालुआर्थिक वर्षको साउन महिनामा मात्र झुण्डिएर ७३ र विष सेवन गरेर १४ जनाले आत्महत्या गरेका छन्।

झापा र सुनसरीमा बढी

जिल्लागत रूपमा हेर्दा प्रदेश-१ को झापामा आत्महत्याको घटना बढी हुने गरेको प्रदेश प्रहरीको तत्थ्यांकले देखाएको छ। प्रदेश प्रहरीको सूचना शाखाले दिएको तथ्यांक अनुसार झापामा गत आर्थिक वर्षमा २२१ जनाले आत्महत्या गरेका छन्। झापापछि सुनसरीमा आत्महत्या गर्नेको संख्या बढी देखिएको छ। सुनसरीमा एक वर्ष मा १९४ जनाले आत्महत्या गरेका छन्।

गत साउन यता अहिलेसम्म डेढ महिनामा ९९ जनाले आत्महत्या गरिसकेका छन्। जिल्ला प्रहरी कार्यालय सुनसरी मुद्धा फाँटका प्रहरी निरिक्षक कमल खत्रीका अनुसार गत दुई महिनामा सवैभन्दा वढी १३ जनाले झुण्डिएर आत्महत्या गरे। जसमा १० जना पुरुष र तीन जना महिला छन्।

विष सेवन गरेर चार जना पुरुष र दुईजना महिलाले देहत्याग गरेका छन्। प्रहरीको तथ्यांक अनुसार सुनसरीमा आर्थिक वर्ष २०७३/०७४ मा १५९ जनाले आत्महत्या गरेका थिए। गत आर्थिक वर्ष २०७४/०७५ मा १९२ जनाले आत्महत्या गरे। त्यसमा झुण्डिएर ८७ जना पुरुष र ६६ जना महिलाले आत्महत्या गरेका छन्। त्यसैगरी विष सेवन गरेर १९ जना पुरुषले आत्म हत्या गर्दा २० जना महिलाले आत्माहत्या गरेका छन । जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रवक्ता प्रहरी उपरीक्षक ज्ञानेद्रप्रसाद फुयाँलका अनुसार बढ्दो आत्माहत्याको कारण बढदो निराशा, डिप्रेसन, असफलता, प्रेममा धोका, असमझदारी लगायतका रहेका छन्।

यसो भन्छन् मनोविज्ञ

महिलाको तुलनामा पुुरुषको आत्महत्या दर अधिक देखिए पनि मनोविदहरू फरक तरिकाले व्याख्या गर्दछन्। उनीहरूका अनुसार आत्महत्याको प्रयास बढी महिलाले गर्छन् तर आत्महत्या नै चाहिँ बढी पुरुषको हुन्छ। विपि कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानका मानसिक स्वास्थ्य विभागका प्राध्यापक डा. धनरत्न शाक्यका अनुसार मानिस जैविक, सामाजिक र मनौवैज्ञानिक कारणले गर्दा आत्महत्या गर्न प्रेरित हुन्छन्। यी तीन कारणको जटिल अन्तक्रियाले मनको क्षमता घट्न् र आबेग उत्पन्न हुने हुँदा चेतना गुमाई आत्महत्या रोेज्ने  गर्छन्।

अर्का मनोविद् बासु आचार्यकाअनुसार दम्भ,अहमवाद, भागदौड,आत्मग्लानी लगायत कारणले मस्तिष्कमा हुने रसायनिक गडबडीले चेतना गुमाउने हुँदा मानिस आत्महत्याका लागि उत्प्रेरित हुन्छन्। बढ्दो आत्महत्याको घटनालाई कम गर्न व्यक्ति स्वयं, घरपरिवार, साथीभाई, स्वास्थ्यकर्मी, सञ्चारमाध्य र सिंगाे राज्यको समान दायित्व हुने मनोचिकित्सक तथा मनोविदहरूको भनाई छ। मनोविद आचार्यका अनुसार यो व्यक्ति विशेष फरक प्रकृतिको विषय भएकोले पहिले त व्यक्ति स्वयं सचेत हुनुपर्ने हुन्छ र यसको मूल कारण पत्ता लगाउनुपर्ने हुन्छ।

योग तथा आयुर्वेदाका विशेषज्ञ डा. विनोद घिमिरे आत्महत्यालाई नियन्त्रण गर्न मानिसले तनावलाई हटाउनुपर्नेमा जोड दिन्छन्। नियमित ध्यान र व्यायाम गर्न सके तनाव कम हुने उनको सल्लाह छ। प्रा डा.धनरत्न शाक्य भने व्यक्तिको व्यवहार बदलिएको अवस्थामा ख्याल गरी विशेष उपचार गर्नुपर्ने सुझाउँछन्।

विएण्डसी अस्पताल झापाका मनोचिकित्सक डा. सन्दर्व अधिकारीले मर्ने धम्की दिने,आफूलाई चोट पुर्‍याउने, मर्ने चाहना भएको कुरा गर्ने, कसरी मर्ने भनेर तरिका खोज्ने गरेको लक्षण देखिए परिवारका सदस्यले मनोचिकित्सकसँग परामर्शका लागि लगिहाल्नुपर्ने बताए। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.