बिचौलियामार्फत दुवै पक्ष ठगिने भएकाले आफ्नै बिक्री केन्द्र

|

बाग्लुङ : किसानको घरबाट उपभोक्ताको दैलोमा सिधै दुग्ध पुर्‍याउन बाग्लुङको बलेवा आसपासमा रहेका चार दुग्ध उत्पादक सहकारी संस्थाले संयुक्त प्रयास थालेका छन्। सहकारीमार्फत संकलन हुने दूध उपभोक्ताको घरदैलोमा जस्ताको त्यस्तै पुर्‍याउने उद्धेश्यले बाग्लुङ बजारमा बिक्री केन्द्र स्थापना गरिएको हो। बिचौलियामार्फत किसानले उत्पादन गरेको दुग्ध बिक्री वितरण गर्दा दुवै पक्ष ठगिने भएकाले सहकारीले आफ्नै बिक्री केन्द्र स्थापना गरेका हुन्।

बाग्लुङ नगरपालिका–१२ अमलाचौरमा रहेका कालीगण्डकी र नवनमुना, बाग्लुङ नगरपालिका–१४ मा रहेको बलेवा नारायणस्थान र जैमिनी नगरपालिका–१ कुश्मीशेरामा रहेको पल्लोपाखा दुग्ध उत्पादक सहकारी संस्था मिलेर संयुक्त बिक्री केन्द्र सञ्चालनमा ल्याएका हुन्। सहकारीमार्फत किसानको दुध संकलन गर्दै आएका संस्थाले बजार बिस्तार र उपभोक्तालाई शुद्ध दुध उपलव्ध गराउनको लागि बिक्री केन्द्र स्थापना गरेको संयुक्त बिक्री केन्द्रका अध्यक्ष मुक्तिराम आचार्यले बताए।

हालसम्म संकलित दुधलाई स्थानीय बजार र पर्वत सदरमुकाममा रहेको बिक्री केन्द्रबाट वितरण गर्दै आएका सहकारीले बाग्लुङमा पनि बिक्री केन्द्र स्थापना गरेका हुन्। पर्वत सदरमुकाममा मात्रै दुध खपत नभएपछि बागलुङ बजारमा पनि बिक्री केन्द्र स्थापपना गरिएको आचार्यले बताए। चार वटा सहकारी आवद्ध किसान दैनिक एक हजार २ सय लिटर दुग्ध उत्पादन गर्दै आएका छन्।

सहकारीहरुमध्ये कालीगण्डकीले दैनिक ८ सय लिटर, नवनमुनाले १ सय ५० लिटर, पल्लोपाखाले १ सय लिटर र बलेवा नारायणस्थानले ७० लिटर दुग्ध उत्पादन गर्दै आएको पल्लोपाखा दुग्ध उत्पादन सहकारी स्रंस्थाका अध्यक्ष डिल्लीप्रसाद शर्माले बताए। चारवटै सहकारीको केन्द्र पर्नेगरी बाग्लुङ नगरपालिका १२ टाकुरीमा प्रसोधन केन्द्र राखीएको छ।

साँझ बिहानको दुग्ध संकलन गरेर प्रसोधनपछि उपभोक्ताको प्रयोगका लागि पठाईने गरेको शर्माले जानकारी दिए। बिक्री केन्द्रले बाग्लुङ बजारमा प्रतिलिटर ८० रुपैयाँका दरले दुग्ध बिक्री गर्ने जनाएको छ। किसानबाट दुधको गुणस्तरका आधारमा ६० देखी ८० रुपैयाँमा खरिद गरिएको भएपनि दुध प्रशोधनपछि एकै खालको गुणस्तरमा एउटै मुल्यमा बिक्री हुने केन्द्रका सदस्य त्रिलोचन आचार्यले बताए। सहकारीले सञ्चालन गरेका केन्द्र, दुग्ध संकलन केन्द्र, ढुवानी र प्रशोधन केन्द्रमा गरी १५ जना युवाले रोजगारी पाएका छन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.