|

कञ्चनपुर : मेलमिलाप पद्धतिमा आधारित रही मुद्दाको छिनोफानो गरिन थालेपछि कञ्चनपुरको कृष्णपुर नगरपालिकाको न्यायिक समितिमा मुद्दाको चाप बढन थालेको छ। प्रहरी र अदालतमा जाने मुद्दाहरू न्यायिक समितिमा आउन थालेका हुन्।

न्यायिक समितिमा मुद्दाका पक्ष र विपक्षका व्यक्तिहरूलाई तालिम प्राप्त मेलमिलापकर्ताको रोहवरमा राखेर मुद्दाको छिनोफानो हुने गरेको छ। जितजितको अवधारणमा आधारित भई मुद्दाको छिनोफानो हुन थालेपछि मुद्दाको चाप बढेको न्यायिक समितिका संयोजक एवं नगर उपप्रमुख रमिता बडायकले बताइन्।

उनका अनुसार न्यायिक समितिमा ११९ वटा मुद्दा दर्ता भएका छन्। जसमध्ये समितिले ७७ मुद्दाको टुंगो लगाएको छ। ४२ वटा मुद्दा प्रक्रियामा रहेका छन्। समितिमा सबैभन्दा बढी घरेलु हिंसाका ५५ मुद्दा दर्ता भएको थिए। जसमध्ये महिला हिंसाका ५३ र पुरुषमाथि हिंसा भएका दुईवटा मुद्दा दर्ता भएका थिए।

लेनदेनका ६, शारीरिक हिंसाका एक, जग्गा विवादका ३३, वाटोसम्बन्धी ७, बहुविवाहसम्बन्धी १३ र यौनजन्य हिंसाको एक मुद्दा समितिमा दर्ता भएका छन्। मुद्दाको चाप बढन थालेपछि वडामा रहेका तालिम प्राप्त मेलमिलापकर्तालाई समितिले सूचीकृत गर्न थालेको उपप्रमुख बडायकले बताइन्। उनका अनुसार सूचीकृत मेलमिलापकर्ताका माध्यमबाटै पहिलो चरणमा वडामै मुद्दाको मेलमिलापको पद्धतिद्वारा मेलमिलाप गराउने र त्यहाँ मेलमिलाप हुन नसकेपछि मुद्दालाई समितिमा पठाउने व्यवस्था गरिन लागेको छ।

नगरपालिकामा ४४ जना मेलमिलापकर्ताहरू रहेका छन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.