|

गुल्मी : पछिल्लो समय जिल्लामा अनेक प्रजातिका चरा भेटिएका छन्। नेपालमा पाइने ८८६ प्रजातिका चराहरूमध्ये गुल्मीमा मात्रै २३ प्रतिशत विभिन्न प्रजातिका चरा भेटिएका हुन्। 

जिल्लाको धार्मिक एंव पर्यटकीयस्थल रेसुंगा क्षेत्रको जंगल र गुल्मीको पश्चिममा पर्ने अग्लो ठाउँमा रहेको मदाने क्षेत्रलाई ती प्रजातिका चराहरूले वासस्थान बनाएको पाइएको छ। जिल्लामा चराको सर्वेक्षण गर्ने उद्देश्यले स्थापित नेपाल पंक्षी संरक्षण संघ गुल्मीले विभिन्न प्रजातिका २३ प्रतिशत चराहरू फेला परेको जनाएको छ।

रेसुंगा र मदाने वन क्षेत्रमा जैविक विविधता र  चरा संरक्षण अन्तर्गत रेसुंगा वन क्षेत्रमा २०८ र मदाने वन क्षेत्रमा २०७ प्रजातिका चरा फेला परेको संरक्षण संघ गुल्मीका सहायक परियोजना अधिकृत भरत पन्थीले जानकारी दिए। 

पन्थीले विश्वमै दुर्लभ प्रजातिका रुपमा रहेका चराहरु समेत गुल्मीमा भेटिएको बताए। विश्वमै दुर्लभ प्रजातिका चराहरूमध्ये रेसुंगा वन क्षेत्रमा गोमायुमहाचिल, सुन, सेतो र डंगर गरी चार प्रजातिका गिद्ध चरा भेटिएका हुन्। यस्तै मदाने क्षेत्रमा पनि दुर्लभ चराहरूमध्ये लोभीपापी गुरुड, गोमायुमहा चिल, सुन, सेतो र कालिज प्रजातिको चिल लगायत पाँच प्रजातिका चराहरू रहेका छन्।
 
नेपालमा मात्र पाइने काँडेभ्याकुर रेसुंगा र मदाने दुवै वन क्षेत्रमा पाइने भएकाले अति संकटपूर्ण अवस्थामा रहेका चराहरूको वासस्थानलाई जोगाइराख्न स्थानीयले आग्रह गरेका छन्। चराप्रेमीले उक्त क्षेत्रको वन र जलाधार संरक्षणमा स्थानीय निकायले चासो दिनुपर्ने बताएका छन्। 

गुल्मीमा चराहरूका लागि उपर्युक्त स्थान र वातवरण बनाउन सके चराहरुको संख्यामा वृद्धि हुने डिभिजन वन कार्यालय गुल्मीका प्रमुख कृष्णराज न्यौपानेले बताए। उनले चराहरूको संरक्षण र संख्या वृद्धिका लागि जैविक विविधताको संरक्षण हुनुपर्ने धाराणा पनि राखे। न्यौपानेका अनुसार विश्वमै दुर्लभ प्रजातिका चराहरू संरक्षण गरी संख्या बढाउन सके पर्यटकहरू चरा अवलोकनका लागि जिल्लामा आउने समेत बताए।

विभिन्न प्रजातिका चरा संरक्षणमा जिल्लामा मुख्य चुनौतीका रुपमा वासस्थान विनास, परिवर्तन र खानेपानीको अभाव देखिएको छ। छरपस्ट छरिएका विद्युतीय तार, वन डढेँलो र अवैध शिकारले चरा संरक्षणमा समस्या देखिने गरेको छ। उक्त समस्याको समाधानका लागि स्थानीयस्तरमा व्यापक जनचेतना जगाउँनुपर्ने स्थानीयले बताए। 

नेपाल पंक्षी संरक्षण संघ गुल्मीले सन २०१५ देखि जिल्लामा चरा तथा जैविक विविधताको क्षेत्रमा काम गर्दै आइरहेको छ। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.