|

पर्वत : दशैँको चहलपहल सुरु हुँदै गर्दा हिमालपारिको जिल्ला मुस्ताङबाट भेडा च्याङग्रा आयात गर्ने क्रम सुरु भएको छ। कास्की, पर्वत, बागलुङ, म्याग्दी, काठमान्डौ, पोखरा, बुटवल, स्याङ्जा लगायतका ठाउँका ब्यपारीहरुले डोल्पाबाट मुस्ताङको बाटो हुँदै च्याङग्रा झारिरहेका छन् भने मुस्ताङबाटै खरिद गरिएका भेडा च्याङग्रा पनि बेसी झार्न ब्यपारीहरुलाई भ्याई नभ्याई भएको छ। मुस्ताङबाट पैदल यात्राको बाटो हुँदै म्याग्दीसम्म झार्नको लागि धेरै दिन लाग्ने भएका कारण ब्यपारीहरुले स्रोह श्राद्धमा नै मुस्ताङ र डोल्पा पुगेर च्याङग्रा खरीद गरेका हुन्।

भेटेरीनरी अस्पताल तथा पशु सेवा म्याग्दी अन्तर्गत सम्पर्क कार्यालय मुस्ताङका पशु चिकित्सक डा. शिवलाल भुषालका अनुसार तिब्बतबाट कति भेडा च्याङग्रा भित्रिए भनेर तथ्यांक संकलन गर्ने काम भैरहेको छ। तर नाका बन्द भैसकेका कारण अब थप च्याङग्रा तिब्बतबाट भित्रिने छैनन्।

आइतबार मध्यान्ह सम्मको तथ्यांक अनुसार अहिलेसम्म मुस्ताङबाट १५ हजार च्याङग्रा अन्य बिभिन्न जिल्लाका लागि बाहिरिएका छन। अझै पनि भेडा च्याङग्रा बाहिरिने क्रम जारी रहेकोले यस बर्ष झण्डै २० हजारको संख्यामा बाहिरिन सक्ने अनुमान गरिएको छ। मुस्ताङमा तिब्बत, डोल्पा, मुगु र जुम्लाबाट समेत भेडा च्याङग्रा लगिएको पशु चिकित्सिक डा. भुषालले जानकारी दिए। उनका अनुसार मुस्ताङबाट बाहिरिने च्याङग्रामध्ये झण्डै ६० प्रतिशत मुस्ताङकै उत्पादन हुने गरेको छ भने, ४० प्रतिशत अन्य ठाउँको छ।

करका कारण व्यापारी मारमा

तिब्बत, डोल्पा, मुगु र जुम्लाबाट मुस्ताङ भित्रयाउँदा बिभिन्न स्थानीय तहहरुको करका कारण व्यापारीलाई भने मर्का परेको छ। मुस्ताङमै उत्पादन भएका भेडा च्याङग्राको लागि त्रित्राएको कर तिर्नु नपर्दा केही सस्तो भएपनि अन्य ठाउँबाट मुस्ताङ लगिएका भेडा च्याङग्रामा भने स्थानीय तहहरुले मनोमानी रुपमा कर संकलन गरेका छन। अन्यत्रबाट मुस्ताङ भित्रिएका भेडा च्याङग्राले तीन ओटा गाउँपालिका पार गर्दा तीनै ओटामा ५ रुपैयाँदेखि एक सय रुपैयाँसम्म कर बुझाउनुपरेको व्यापारीहरुले बताएका छन्।

जसका कारण यस वर्ष मुस्ताङबाट अन्यत्र जिल्लामा जाने भेडा च्याङग्राको संख्या कम र मूल्य महंगो बन्ने पक्का भएको छ। अघिल्लो बर्षको दशैँमा २२ हजार भेडा च्याङग्रा बाहिरिएकोमा यस बर्ष बढीमा २० हजारसम्म पुग्न सक्ने अनुमान गरिएको पशु चिकित्सक डा. शिवलाल भुसालले बताए। चर्को भन्सार र स्थानीय तहको पनि उस्तै चर्को करका कारण व्यवसायीहरुले कम मात्रामा च्याङग्राम खरीद गरेको च्याङग्रा खरीदका लागि मुस्ताङ पुगेका ब्यपारी पर्वतका रबि श्रेष्ठले जानकारी दिए।

जोमसोममा ल्याईएका स्तरीय च्याङ्ग्राको मूल्य २१ देखि २३ हजार सम्म र भेडाको १६ देखि १९ हजार सम्म स्थानीय व्यापारीले मुल्य तोकेका कारण यस पटक मुस्ताङबाट झारीने भेडा र च्याङग्राको मूल्य गतबर्षको भन्दा बढ्ने भएको छ।

खाद्य संस्थानले झार्दै छ एक हजार भेडा च्याङग्रा

नेपाल खाद्य संस्थानले राजधानीको मागलाई सहयोग पुर्‍याउन तथा कालोबजारी नियन्त्रण गर्ने उद्देश्यले यस वर्ष मुस्ताङबाट एक हजार च्याङग्रा खरिद गरेको छ।

जिल्ला प्रशासन कार्यालय मुस्ताङको निर्णय अनुसार यस वर्ष खाद्य संस्थानले जिउँदो च्याङ्ग्राको प्रतिकेजी ५ सय ३० रुपैयाँ खरीद गरेको छ। संस्थानले जोमसोमदेखि बेनीसम्म ढुवानी गर्दा प्रतिगोटा च्याङग्राको २ सय १५ रुपैयाँ ढुवानीकर्तालाई तिर्ने जनाएको छ। खाद्यले शनिवार देखि च्याङ्ग्रा खरिद गर्न शुरु गरेको छ भने २६ गते संस्थानको केन्द्रिय कार्यालयमा लगेर बिक्रीका लागि राखिनेछ।   

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.