|

सिमकोट :  सदरमुकाम सिमकोटमा बजार आसपासका  क्षेत्रमा चामल अभाव भएको छ। दशैँको मुखैमा नेपाल खाद्य संस्थान शाखा कार्यालय हुम्लामाा खाद्यान्न ढुवानी नगरेपछि  स्थानीय बासिन्दादेखि सरकारी, गैरसरकारी कार्यालयका कर्मचारीलाई  दशैँ टार्ने भन्ने चिन्ता भएको छ।

सदरमुकाम सिमकोटसँगै जोडिएका खार्पुनाथ र नाम्खा  गाउँपालिकालगायतका गाउँमा यो वर्ष दशैमा खाद्य संकट भएको छ। सडक सञ्जालले नछोएको हुम्लामा समयमै नेपाल खाद्य संस्थानको चामल पुराउन नसकेकै कारणले चामलअभाव भएको  हो। 

चामल ढुवानीको प्रक्रियागत झण्झटकै कारण नेपाल खाद्य संस्थान हुम्लाको सिमकोटमा रहेको खाद्य डिपोमा साउनदेखि अहिलेसम्म एक हजार २२८ क्वीन्टल खाद्याान्न भित्रिएकोमध्ये अहिले सम्म १४ सय क्वीन्टल चामल बिक्री भएको छ। २३९ क्वीन्टल चामल मौज्दात रहेको खाद्य संस्थान हुम्लाका प्रमुख सुरेन्द्र पौडलेले बताए। 

चालू आर्थिक वर्ष ०७५\७६ सालका लागि जिल्ला खाद्य सुरक्षा समितिले  सिमकोट खाद्य संस्थानमा ३० हजार हजार क्वीन्टल चामल माग गरेकोमा सरकारले भनेजति नपठाएका कारण चरम खाद्यान्न अभाव भएको नेपाल खाद्य संस्थान कार्यालय हुम्लाका सहायक वरिष्ठ प्रमुख सुरेन्द्र पोखेरेलले बताए। 

दशैँमा घर जान नपाएको यता खाद्य संस्थान कार्यालय सिमकोटमा कर्मचारीलाई दिने रासन कार्ड लिएर अाउँदा जम्मा पाँच केजी चामाल मात्र पाएको कान्ति आधारभूत विद्यालयका शिक्षक बमबहादुर थापाले बताए। गत असारदेखि अहिलेसम्म चामल नपाएको उनले बताए। 'घरमा एक छाक सेता चामलको भात खाउँला भनेर खाद्य संस्थानको कार्यालय पुगियो', सिमकोट गाउँपालिका–२ का भुवन भण्डारीले भने, 'चामल सकिएपछि रित्तै हात घर फर्किन बाध्य भइयो।'  

चामल लिएर  दशैँमा मासु भात खाने सपनामै सिमित भएको र घरमा पूजा गर्ने अक्षतासमेत नभएको उनले बताए। दशैँ त परै जाओस् अाफ्ना जवानलाई खुवाउने  खाद्यान्न समेत  नभएको जिल्ला प्रहरी कार्यलय हुम्लाले बताएको छ। 

चामल नपाएर समस्या भएको सिमकोटकै चक्र बोहराले आफूले पाँच केजी चामल मात्र पाएको बताए। दशैँ विशेष भन्दै बजारवासीको कुपन कार्ड, कर्मचारीलगायतलाई पाँच केजीका दरले चामल वितरण  गरेको हुम्ला खाद्य संस्थान प्रमुख रामबहादुर विष्टले जानकारी दिए। 

नेपाल खाद्य संस्थान हुम्ला सिमकोटको डिपोमा चामल भए पनि खाद्य सुरक्षा समिति हुम्लाले पाँच केजीभन्दा बढी चामल वितरण नगर्ने निर्णण गरेपछि कर्मचारी, स्थानीयलाई समस्या  भएको  प्रमुख जिल्ला अधिकारी माधवप्रसाद ढु‌ंगानाले बताए। दशैँतिहारका लागि चार हजार क्वीन्टल चामल मात्र भए बाँड्न सकिने प्रमुख जिल्ला अधिकारी ढुंगानाले बताए। 

'चामल अभाव हुँदैन'

हरेक वर्ष खाद्यान्न अभाव हुने हुम्लालगायतका जिल्लाहरुमा यस वर्षमा अभाव हुन नदिन कर्णाली प्रदेश सरकार लागि परेको मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले बताएका छन्। अध्यागनम कार्यालयको उद्घाटन गर्न केन्द्र सरकारका गृहमन्त्री रामबहादुर थापासँगै हुम्ला पुगेका शाहीले अबदेखि कर्णालीमा खाद्यान्न अभाव हुन नदिने बताए। हुम्लामा चामल अभाव भएको खबर पाएको र खाद्यान्न पठाउने तयारी गरिरहेको उनले बताए। साथै आगामी वर्षदेखि स्थानीयस्तरमै उत्पादन गरेर  आत्मर्निभर बनाउनेतर्फ लाग्ने मुख्यमन्त्री शाहीको भनाइ छ।

नेपाल सरकारले हरेक वर्ष ढुवानी अनुदानमा बिक्री वितरण गरिने चामलको कोटा निर्धारण गर्दै आइरहेको छ। तर कोटाको चामल आपूर्तिका लागि ठेकेदारसँग सम्झौतामा समेत नमिलेपछि समस्या आएको हो। 

 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.