|
प्रधानमन्त्री ओलीको ट्विटर अकाउन्टबाट

काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले दशैँको उपलक्ष्यमामा शुभकामना दिँदै आमनेपाली जनतालाई समृद्धि र सुख हासिल गराउने प्रतिवद्धताबाट कुनै पनि क्षण विचलित नहुने प्रतिवध्दता व्यक्त गरेका छन्।

प्रधानमन्त्रीले २०७५ सालको बडा दशैँको शुभ उपलक्ष्यमा स्वदेश तथा विदेशमा रहेका सबै नेपालीलाई शुभकामना दिँदै मुलुक राजनीतिक संघर्ष पूरा गरेर समृद्धिको युगमा प्रवेश गरेको बताएका छन्। ‘लामो राजनीतिक संघर्षको युग पार गरेर हाम्रो देशले विकास र समृद्धिको युगमा प्रवेश गरेको छ। यसबीच जननिर्वाचित संविधानसभाबाट संविधान जारी भइसकेपछि तीन वटै तहका निर्वाचनहरू सम्पन्न भइसकेका छन्। संविधानले व्यवस्था गरेअनुसारका स्थानीय तह, प्रदेशसभा र संघीय संसदको निर्वाचन सम्पन्न भएर जनप्रतिनिधिमूलक संस्थाहरू कृयाशील भइसकेका छन्,’ प्रधानमन्त्रीले लेखेका छन्, ‘देश राजनीतिक संक्रमणकालको चरण पार गरेर सामाजिक-आर्थिक रुपान्तरणको बाटोमा लम्किसकेको छ।’

प्रधानमन्त्री ओलीले सरकार राजनीतिक स्थिरतासँगै देशलाई आर्थिक समृद्धि र विकासको दिशामा अघि बढाउन क्रियाशील रहेको पनि बताएका छन्। जनताले दिएको अभिभारालाई पूरा गर्न दिएको अवसरलाई कुनै पनि हालतमा खेर जान नदिने र हरेक क्षण सजग हुँदै अगाडि बढ्दै आएको र आगामी दिनमा पनि सजक भएर जाने बताएका छन्। प्रधानमन्त्रीले भनेका छन्, ‘हामी आमजनताको विश्वास र अपेक्षालाई शीरोपर गर्दै समृध्द नेपाल, सुखी नेपालीको लक्ष्य हासिल गर्न रत्तिभर समय खेर नफाली अघि बढ्न चाहन्छौँ।’

प्रधानमन्त्री ओलीले अहिलेको समय सत्तापक्ष र प्रतिपक्षमा विभाजित भएर सानातिना कुरामा विवाद गर्दै समाजलाई विभाजित गर्ने नभएको धारणा राखेका छन्। ‘अहिले सानातिना विषयहरू उधिनेर आपसी द्वन्द्व बढाउने समय होइन । राष्ट्र निर्माणको यो ऐतिहासिक अवसरमा हामी सम्पूर्ण नेपालीको एकता र साझा लक्ष्य अपरिहार्य छन्,’ उनले भनेका छन्, ‘त्यस कारण सत्तापक्ष र प्रतिपक्षमा विभाजित नभइ देश विकासको महाअभियानमा सहभागी हुन म सबैलाइ फेरि एक पटक आह्वान गर्दछु।’

प्रधानमन्त्रीले युवाहरूलाई स्वदेशमा नै रोजगारीको अवसर सिर्जना गर्न सरकार तल्लिन रहेको बताएका छन्। प्रधानमन्त्रीले सबै नेपाली समाजिक दृष्टीले समेत सुखी भएको खण्डमा मात्र जनता समृद्ध र सुखी भएको मानिने भन्दै त्यो लक्ष्य पूरा गर्न आफू र सरकार लागिपरेको शुभकामनामा उल्लेख गरेका छन्।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.