|

कञ्चनपुर : सिंहदरबारको अधिकार घर घरमा पुर्‍याउने अनुभूति दिलाउने उद्देश्यले कञ्चनपुरको कृष्णपुर नगरपालिकाले महत्वकांक्षी योजना र कार्यक्रमहरू अगाडि बढाएको छ। 

आर्थिक वर्ष ०७४/०७५ मा  मुक्त कमैयाको मालपोत बापतको रकम मिनाहा गर्ने निर्णय गरेर चर्चामा रहेको कञ्चनपुरको कृष्णपुर नगरपालिकाले चालु आर्थिक वर्ष  ०७५/७६ मा अशक्त, अपांग र ज्येष्ठ नागरिकका लागि बनाइने सिफारिस दस्तुर मिनाहा गर्ने निर्णय गरेको छ। समाजमा पछाडि परेका, पारिएका समुदायलाई विकासको मूलधारमा ल्याउनका लागि कार्य अगाडि बढाइएको नगर प्रमुख कर्णबहादुर हमालले बताए। 

 नगर प्रमुख हमालले भने,‘जनताको अपेक्षामा खरो उत्रन चुनौती छ। चुनौतीलाई स्वीकार गर्दै सहज रूपमा सेवा सुविधा प्रदान गर्न लागेका छौँ।’ 'जनताले नयाँ अनुभूति गर्ने खालका कार्यक्रम पनि दिनुछ। निरन्तरतालाई चिर्दै जनताले साँच्चिकै विकासको महसुस गर्ने खालका नौला कार्यक्रम ल्याएका छौँ।’

नगर अस्पताल, नगर उद्यान निर्माण, चिडिया खाना स्थापना, जैविक मार्ग, सितभण्डार, प्रांगारिक मल उत्पादन केन्द्र, बसपार्क, थारू संग्रहालय, धार्मिक पर्यटकीय क्षेत्रको विकास, खेल मैदान निर्माण, निर्वाहमुखी कृषिको सट्टा व्यावसायिक कृषिलाई बढावा दिने कार्यक्रम, स्वास्थ्य, शिक्षा, ग्रामीण पर्यटन व्यवसायलाई बढावा दिने र वनमा नमुना कार्यक्रम, सडकको स्तरोन्नति गरी कालोपत्रे गर्ने, सार्वजनिक पुस्तकालय स्थापना गर्ने र विद्युतीकरण गर्ने कार्य नगरपालिकाले अघि सारेको छ। 

नगरपालिकाले चालु आवमा ५९ करोड ८४ लाखको बजेटमार्फत नगरका योजनहरूलाई कार्यान्वयनको चरणमा पुर्‍याएको छ। नगरका गौरवका योजनाअन्तर्गत ५० शय्याको नगर अस्पताल निर्माण गर्ने कार्यलाई प्राथमिकतामा राखेको छ। जसको विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) तयार गर्ने कार्यलाई अगाडि बढाइएको छ। नगर अस्पताल निर्माणका लागि ५० लाख नगरपालिकाले विनियोजन गरेको छ।

नगरको बजेटले अस्पताल निर्माणको कार्य पूरा गर्न रकम नपुग्ने भएकाले यसका लागि केन्द्र र प्रदेश सरकारलाई समेत गुहारेको नगर प्रमुख हमालले बताए। नगरपालिकाकाे ५ मा रहेको कृष्णप्रणामी धाम क्षेत्रमा नगर उद्यान निर्माणका लागि स्थान छनाेट गरिएको छ। उद्यान निर्माण गर्न नगरपालिकाले १० लाख बजेट परिचालन गरेको छ। 

बजेटबाट ५४ फिट अग्लो राधाकृष्णको मूर्ति निर्माण भइरहेको छ। उद्यानमा विभिन्न प्रजातिका फुल, विरुवा र रुख रोप्ने र अवलोकनकर्ताहरूका लागि विश्राम गर्ने स्थल निर्माणका कार्य अगाडि बढाएका छन्। गत आवमा उद्यान निर्माणका लागि १५ लाख बढी बजेट विनियोजन गरि परिचालन भएको छ। किसानले उत्पादन गरेका कृषि उपजहरू समयमै बिक्री नहुँदा सस्तोमै बिक्री गर्नु गर्दा लागत मूल्य नै नउठने समस्या थियो। त्यसलाई हटाउनका लागि नगरपालिकाले २० लाखको लागतमा सितभण्डार निर्माण गर्ने निर्णय गरेको छ। 

स्थानीय किसान रामकृष्ण चौधरी नगरपालिकाले शितभण्डार निर्माण गर्ने निर्णय गरेर किसानलाई न्याय दिएको बताए। तरकारी र केरा उत्पादनका लागि नगरपालिकाका किसान जिल्लामै अग्रणी स्थानमा रहे पनि भण्डारण गर्न नपाउँदा मूल्य पाउन सकेका थिएनन् उनले भने, ‘शितभण्डार निर्माण हुने भएपछि किसानले मूल्य पाउने भएका छन्। यो खुसीको कुरा हो।’

रसायनिक मल र विषादी प्रयोगमा निरुत्साहित

रसायनिक मल र विषादीको अन्धाधुन्द प्रयोगले मानवको स्वास्थ्यमा असर पारी गम्भीर प्रकृतिका रोगहरू फैलिन थालेपछि रसायनिक मलको प्रयोगमा कमी ल्याउनका लागि नगरपालिकाले प्रधानमन्त्री आधुनिकीकरण परियोजनाको सहयोगमा प्रा‌ंगारिक मल उद्योग स्थापना गर्ने योजना अघि सारेको छ। परियोजनाले मल उत्पादन गर्ने मेशिन उपलव्ध गराउने र भवन निर्माणका लागि नगरपालिकाले १० लाख रकम दिने सहमति भएको छ। प्रा‌ंगारिक मल उद्योगबाट उत्पादित मल रसायनिक मलको अनुपातमा सस्तो हुने र माटोको ह्रास हुँदै गएको गुणस्तरमा सुधार ल्याउने कृषि शाखाका प्रमुख बिन्दु कुँवरले बताइन्।

‘प्रांगारिक मल राखेर उत्पादन गरेको तरकारी बजारमा महँगोमा बिक्री हुने र मानव स्वास्थ्यबर्द्धक समेत  हुने भएकाले उद्योग स्थापनाको कुराले किसानमा उत्साह थपेको छ’ उनले भनिन्। नगरपालिकाले ५० लाखको लागतमा रंगशाला निर्माणको कार्यलाई अगाडि बढाउनका लागि स्थानको खोजी कार्य सुरु गरेको छ। राजमार्ग नजिकैको क्षेत्रमा स्थान छनाेट गरी प्रदेशकै नमूनाका रुपमा सुविधा सम्पन्न रंगशाला निर्माण गर्ने लक्ष्य लिइएको नगरपालिकाका उप प्रमुख रमिता रानाले बताइन्।

प्राचीनतम् धार्मिक क्षेत्र ग्वासि समैजीलाई पर्यटकीय क्षेत्रका रूपमा विकास गर्नका लागि नगरपालिकाले ४० लाख बजेट परिचालन गरी १०८ फिट अग्लो अाराध्य देव शिवको मूर्ति स्थापना गर्ने, हिमाल पर्वतको आकृति निर्माण गर्ने, भगवान शिवको जटाबाट गंगा नदी तल झर्ने र तल झरेको पानीका नौवटा कुण्ड स्थापना गरी श्रद्धालुलाई नुहाउने व्यवस्था गर्ने योजना अघि सारिएका छन। नेपालकै नमूना धार्मिक पर्यटन स्थलका रुपमा चुरे फेदीको यस क्षेत्रलाई नगरपालिकाले बनाउन लागेको हो।

धार्मिक पर्यटनस्थल र थारू समुदायको पहिचानमा जोड

धार्मिक पर्यटनस्थलको विकासका लागि नगरपालिकाले योजना अघि सारेपछि ग्वासी समैजी सामुदायिक वनले समेत सहयोग गर्ने इच्छा जाहेर गरेको छ।सामुदायिक वनका अध्यक्ष खेमराज पाण्डेयले पर्यटकीय क्षेत्रको विकासमा नगरपालिकाले योजना बनाएपछि यसमा सहयोग गर्न तत्पर रहेको बताए।  थारू समुदायको बाक्लो बस्ती रहेको नगरपालिकामा थारू संग्रहालय स्थापनाका लागि १० लाख बजेट परिचालन गरी नगरपालिकाले थारू समुदायको पहिचान झल्कने, पहिरन, रहनसहन, गहना र अन्य वस्तुहरू संकलित गरी संग्रहालयमा राख्ने योजना अघि सारेको छ। वडा २ को बाणी र वडा ६ को सिंहपुरमा ग्रामीण पर्यटनलाई बढावा दिनका लागि घरवास कार्यक्रम समेत नगरपालिकाको सहयोगमा सञ्चालन गरिएको छ। 

प्रदेशकै नौलो कार्यक्रमका रुपमा नगरपालिकाले चिडिया घर निर्माण गर्ने महत्वकांक्षी योजना समेत अघि सारेको छ। नगरपालिका ६ मा रहेको सिंहपुर सामुदायिक वनमा चिडिया घर निर्माणका लागि ४० विघा जग्गा छनाेट गरिएको छ। नगरपालिकाले चिडिया घर निर्माण हुने जग्गामा घेरवार गर्नका लागि पाँचलाख रकम परिचालन गरेको छ। सबै प्रकारका जनावर र चराचुरुङगी राखिने चिडिया घर निर्माणका लागि दातृ निकाय, केन्द्र र प्रदेश सरकारसँग बजेट माग गर्ने निर्णय समेत गरिएको छ।

सिंहपुर सामुदायिक वनका सचिव बाबुराम चौधरी चिडिया घर निर्माणले पर्यटन व्यवसायलाई बढावा मिल्ने भएकाले यस क्षेत्रका बासिन्दाको आर्थिक अवस्थामा निकै सुधार आउने बताउछन्। ‘योजना अघि सारेर मात्रै नहुने भएकाले निर्माण कार्य पुरा गर्नका लागि सबैको सहयोगको खाँचो रहेको छ’ उनले भने, नगरपालिकाका बासिन्दाको बाह्रै महिना सञ्चालन हुने सडकमा पहुँच पुर्‍याउनका लागि नगरपालिकाले एक वडा एक सडक कालोपत्रे कार्यक्रम सञ्चालन गरेको छ। जसअन्तर्गत नगरपालिकाका १० वटा सडक दुई करोड ५० लाखमा कालोपत्रे भइरहेका छन्। दशवटा सडकको छ किलो मिटर सडक यस वर्ष कालोपत्रे हुने छ।

पाँचवर्ष भित्रमा नगरपालिकाका मुख्य सडक सबै कालोपत्रे

गतवर्ष समेत नगरपालिकाले १० वटा सडकको छ किलोमिटरमा दुई करोड ५० लाखमा कालोपत्रे गरेको थियो। पाँचवर्ष भित्रमा नगरपालिकाका मुख्य सडक सबै कालोपत्रे गर्ने लक्ष्य नगरपालिकाले लिएको छ। दोमिल्ला, बण्ड, मालुमेला जैविक मार्ग निर्माणको कार्य समेत नगरपालिकाले अगाडि बढाएको छ। सातवटा वडा कार्यालय र नरपालिकाको आधुनिक भवन निर्माणका लागि दुई करोड ७५ लाख रकम खर्चिन लागेको छ। वडा कार्यालय निर्माणका लागि ६७ लाख २० हजार र नगरपालिका भवन निर्माणका लागि दुई करोड चारलाख रकम लाग्ने छ। 

किसानलाई आधुनिक कृषिततर्फ डोर्‍याउनका लागि  एक करोड र आधुनिक पशुपालनका लागि ३० लाख रकम नगरपालिकाले छुट्याएको छ। किसानको यान्त्रीकरणमा पहुँच पुर्‍याई आधुनिक कृषिमा पहुँच पुर्‍याउन र पशुपालन गर्ने किसानलाई व्यवसायिक बनाउनका लागि कार्यक्रम अघि सारिएका छन्। परम्परागत कृषिलाई निरुत्साहित गर्दै आधुनिक कृषिलाई बढावा दिने योजना अघि बढाइएका छन्। 

स्वास्थ्यमा सबैको पहुँच

स्वास्थ्यतर्फ ज्येष्ठ नागरिक, गर्भवती सुत्केरी महिला, पोषण, निःशुल्क औषधिमा पहुँच, विद्यालयमा रजस्वला हुने छात्रालाई सेनेटरी प्याड उपलव्ध गराउने, दीर्घरोगीको उपचारका लागि सहयोग गर्ने, लगायतका नौला कार्यक्रम नगरपालिकाले सञ्चालन गरेको छ। वन र पर्यावरण जोगाउनका लागि एक घर एक विरुवा रोप्ने कार्यक्रम, बैकल्पिक ऊर्जाअन्तर्गत बायोग्याँस उत्पादन गर्ने, बजार र ग्रामीण क्षेत्रका चोक चोकमा सौर्यबत्ति जडान गर्ने, विद्युत नपुगेका बस्तीमा विद्युत सेवा विस्तार गर्ने योजनासमेत नगरपालिकासँग रहेका छन्।

शुद्ध पेयजलमा सबैको पहुँच पुर्‍याउनका लागि ११ वटा खानेपानी योजना नगरपालिकाले सञ्चालन गरेको छ। विकासमा पछाडि परेको नगरपालिकामा जनप्रतिनिधि आएको दुई वर्षमै विकास निर्माणका कार्यले गति लिन थालेपछि स्थानीय बासिन्दाले सन्तुष्टि व्यक्त गरेका छन्। स्थानीय बासिन्दा लक्ष्मण कार्की नगरपालिकाले अघि सारेका योजनाहरू चार वर्षको अवधिमा पूरा भए विकासमा सबैभन्दा अगाडि पुगिनेमा आशावादी रहेको बताउँछन्। ‘प्राकृतिक बनाेटका आधारमा विकास निर्माणका कार्य अगाडि बढाउन कठिन भए पनि अग्रगामी सोच र योजनाका साथ अगाडि बढे लक्ष्य प्राप्ति गर्न कठिन छैन’ उनले भने। 

विकाससँगै कृष्णपुर नगरपालिका प्राकृतिक रूपमा समेत धनी रहेको छ। सिस्ने सिमसार क्षेत्र, प्राकृति वन क्षेत्र, ताल तलैया, नदी, धार्मिक पर्यटकीय क्षेत्रमा समेत नगरपालिका अग्रणी छ। साबिक रैकवार विचवा, देखतभूली र कृष्णपुर गाविसका भू-भागलाई मिलाएर नगरपालिका बनाइएको हो। नगरपालिकामा १० हजार १६ घर घुरीमा ५६ हजार १२० जनसंख्या रहेको छ। कृष्णपुर नगरपालिकमा कुल २९ हजार ४१५ मतदाता रहेका छन्। नगरपालिका २५५.२० वर्ग किलोमिटर क्षेत्रफलमा रहेको छ। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.