|
विष्ट र भट्ट

काठमाडौं : कञ्चनपुरकी १३ वर्षीया निर्मला पन्तको बलात्कारपछि हत्या प्रकरणको अनुसन्धानमा चरम लापरबाही गरेको भन्दै सरकारले एसपी डिल्लीराज विष्ट र प्रहरी निरीक्षक जगदीश भट्टलाई बर्खास्त गरेको छ। गृहमन्त्रालयले भविष्यमा सरकारी सेवामा अयोग्य नहुने गरी पदबाट बर्खास्त गरेको हो।

बुधबार दुवै जनाले प्रहरी प्रधान कार्यालय मार्फत सरकारले सोधेको स्पष्टीकरणको लिखित जवाफ बुझाएका थिए। मन्त्रालयले उनीहरूले बुझाएको जवाफ चित्त नबुझेको जनाएर दुवैलाई सरकारी सेवामा अयोग्य नहुने गरी बर्खास्त गर्ने निर्णय गरेको हो।

गत साउन १० गते साथीको घरमा पढ्न गएकी पन्त भोलिपल्ट नजिकैको उखुबारीमा मृत फेला परेकी थिइन्।

निर्मला बलात्कार र हत्यामा जिल्लाका तत्कालिन प्रहरी प्रमुख विष्टले लापरबाही गरेको भन्ने स्थानीयको भनाई रहेको थियो। त्यसपछि दोषीलाई पत्ता लगाएर कारबाही गर्न माग गर्दै कञ्चनपुरमा आन्दोलन भयो। लामो समय आन्दोलन भएपछि कञ्चनपुरमा कर्फ्यूसमेत लागेको थियो। प्रदर्शनमा प्रहरीले गोली चलाउँदा एक बालकको पनि मृत्यु भएको थियो। १३ वर्षीय सनी खुनाको मृत्यु भएको थियो। 

निर्मलाका आमाबुबाले दोषी पत्ता लगाएर कारबाहीको माग गर्दै काठमाडौंमा पनि प्रदर्शन गरेका थिए। जसमा हजारौँ व्यक्तिहरूको सहभागी रहेको थियो। देशका विभिन्न ठाउँमा निर्मलाका दोषीलाई पत्ता लगाएर कारबाहीको माग गर्दै विरोध प्रदर्शन भएका थिए। प्रहरीमाथि नै आशंका उब्जिएपछि प्रहरी प्रधान कार्यालयले हालका एआईजी धिरू बस्न्यातको नेतृत्वमा प्रहरीको भूमिकाबारे छानबिन गर्न समिति गठन गरेको थियो। उक्त समितिले विष्ट लगायतका प्रहरी अधिकारीको भूमिका सही नभएको भन्दै कारबाही सिफारिस गरेका थिए।।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.