|
फाइल फाेटाे : फरार भएका अभियुक्त

विराटनगर : चौबिसै घण्टा प्रहरीको पहरा। बन्द कोठा। गेटमा ताला लगातार झुण्डिने प्रहरीको हिरासत कक्षबाट थुनुवा सहजै 'भेन्टिलेसन'को रड काटेर कसरी भाग्न सक्छ?

निरन्तरको प्रहरीको पहरा हुँदा पनि रड काटिँदा र त्यहाँबाट निस्केर फरार हुँदासम्म ड्युटीमा रहेका प्रहरी के हेरेर बसिरहेका थिए? यस्तै प्रश्नले अहिले मोरङमा आम जनमानसमा आशंका उब्जेको छ।

हत्याका दुई जना आरोपी इलाका प्रहरी कार्यालय विराटनगर रानीको हिरासत कक्षबाट बिहीबार राति १ देखि २ बजेको बीचमा फरार भए। प्रहरीले पहरा दिइरहने उक्त कक्षबाट थुनुवाले ६ वटा रड काटेर फरार हुँदासम्म ड्युटीमा रहेका दुई जना प्रहरीले पत्तो पाएनन्। उनीहरू फरार भएको प्रहरीले ४ घण्टापछि मात्रै थाहा पाएको थियो।

हिरासत कक्षको पूर्वपट्टिको भित्तामा दुईवटा भेन्टिलेसन छ। हावा अावतजावत गर्न बनाएको भेन्टिलेसनमा दुई तहमा राखिएको ६ वटा रड काटेर हत्या आरोपी भागेका हुन्। फरार हुनेमा हत्याका आरोपी असोज दोस्रो साता हिरासतमा ल्याइएका महम्मद सद्दिम हुसेन र महम्मद आरिफ आलम छन्।

भेन्टिलेसनमा रहेको ८ वटा रडमध्ये ६ वटा रड काटेर फरार भएका उनीहरूको विषयमा खोजी भएपनि प्रहरीले शनिबारसम्म कुनै पत्तो पाउन सकेको छैन्। ‘घटनाको विषयमा र फरारको खोजी गर्ने अनुसन्धान गर्ने काममा हामी लागिरहेका छौँ,’ मोरङका प्रहरी प्रमुख एसपी मनोज केसीले भने, ‘घटनाको विषयमा सत्यतथ्य बाहिर ल्याउने प्रयासमा छौं।’

कडा सुरक्षा रहेको हिरासत कक्षबाट थुनुवा भागेपछि ड्युटीमा रहेका दुई प्रहरीलाई निलम्बन गरिएको जानकारी दिँदै केसीले छिट्टै तत्थ्य बाहिर आउने पनि बताए। बिहिबार राति सात जनाको आलोपालो ड्युटी थियो। हत्या आरोपी फरार भएको रात इलाका प्रहरी कार्यालय रानीको प्रमुख प्रहरी निरीक्षक सन्तोष निरौला भने बिदामा थिए।

सात जनालाई अनुसन्धानका लागि जिल्ला तानेको प्रहरीले तत्काल ड्युटीमा रहेका एक  प्रहरी हवल्दार र एक जवानलाई निलम्बन गरेर छानबिन पनि गरिरहेको छ। ड्युटीमा प्रहरी सहायक निरीक्षक पशुपति बस्नेत, क्वार्टर गार्ड प्रहरी हवल्दार जीरालाल रौनियार तथा जवानहरू रिंकु मण्डल, अमित तामाङ, सुरेश राजवंशी र जगन्नाथ बास्के थिए। ‘घटनामा लापरबाही गर्ने प्रहरीका दुई निलम्बन गरिसकेका छौँ,’ केसीले भने, ‘तर, छानबिनको दायरामा इलाका प्रहरी कार्यालयका इन्चार्जदेखि सबै जवानहरू पर्छन्।’

प्रहरी हवल्दार जिरालाल रौनियार र जवान जगन्नाथ बास्केलाई निलम्बनमा परेका हुन्। थुनुवालाई मिलेमतो गरी भगाएको आशंकामा उनीहरूलाई निलम्बन गरी छानविन अघि बढाइएको हो। थुनुवा भागेपछि प्रहरीले रड काट्न प्रयोग भएको 'ह्याक्सो ब्लेट' पनि नभेटिएको बताइएको छ। भेन्टिलेसनको रड हेर्दा ह्याक्सो ब्लेट प्रयोग भएको देखिएपनि रड काट्न प्रयोग भएको औजार नभेटिँदा थप आशंका बढेको प्रहरीस्रोतले जनाएको छ।

इलाका प्रहरी कार्यालय रानीमा १९ जना थुनुवा थिए। उनीहरुलाई विराटनगर १७ का मोहम्मद अस्फाकको अपहरण पछि हत्या गरेको आरोपमा पक्राउ गरिएको थियो।अस्फाक हत्या आरोपमा पक्राउ परेका पाँचमध्ये मुख्य अभियुक्त हुसेन र आरिफलाई छुट्टै कक्षमा राखिएको थियो। अस्फाक हत्यामा हुसेन र आरिफलाई सहयोग गरेको आरोपमा पक्राउ परेका अन्य तीन थुनवासहित १७ जना छुट्टै कक्षमा थिए।

प्रहरीले फरार थुनुवा भारततर्फ भागेको हुनसक्ने आशंका गरेको छ। ‘हामीले खोजी पनि उतैतिर सोझ्याएका छौं,’ प्रहरी प्रमुख केसीले भने, ‘सीमानजिकै भएको कारण फरार भारततिर जाने सम्भावना धेरै छ।’ मोरङ प्रहरीले डीएसपी निशान थापाको नेतृत्वमा प्रहरीमाथि छानविन गर्न समिति गठन गरेको छ। 

गौतमबुद्ध स्कुल विराटनगरको कक्षा १० मा अध्ययनरत अस्फाक गत असोज १ गतेदेखि बेपत्ता भएका थिए। उनको शव असोज ७ गते विराटनगर १९ मा भित्री सडक खण्डमा रहेको 'ह्युम पाइप' भित्र सडेको अवस्थामा भेटिएको थियो। शव पहिचान गर्न पनि समस्या भएको थियो। शव भेटेको सात दिनपछि असोज १४ गते प्रहरीले अस्फाकको हत्यामा संलग्न हुसेन र आलमलाई सार्वजनिक गरेको थियो। अस्फाकको अपहरण गरेको भन्दै उनीहरुले अस्फाकको परिवारसँग ५० लाख फिरौती  मागेको खुलासा भएको थियो।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.