|

तेह्रथुम : पहाडी दुई जिल्ला तेह्रथुम र संखुवासभा हेर्ने गरी स्वास्थ्य कार्यालय तेह्रथुमको कार्यालय भवन उद्घाटन गरिएको छ। शुक्रबार एक कार्यक्रमका बीच नवनिर्मित भवन तथा कार्यालयको उद्घाटन प्रदेश १ का सामाजिक विकासमन्त्री जीवन घिमिरेले गरेका हुन्।

स्वास्थ्य कार्यालय तेह्रथुमको भवन तथा कार्यालय उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै सामाजिक विकास मन्त्री घिमिरेले जिल्ला अस्पताल तेह्रथुममा ५० शय्याको अस्पताल बनाउने बताएका छन्। उनले स्वस्थ रहनु सबै नागरिकको अधिकार भएकोले यस अस्पताल विकासका लागि एक करोड ३० लाख रकम छुट्याएको भन्दै अब संघीयतामा फेरिएका कार्यालयहरू सकेसम्म जिल्लामै स्थापित गर्नसमेत प्रदेश सरकारले पहल गर्ने बताए।

स्वास्थ्य कार्यालय तेह्रथुममार्फत् अब तेह्रथुम र संखुवासभाका लागि विभिन्न कार्यक्रमहरू सञ्चालन हुने भएको छ। उद्घाटनपश्चात् अब करिब ३ वर्षअघि निर्माण सम्पन्न भएको स्वास्थ्य कार्यालय तेह्रथुममार्फत् तेह्रथुम र संखुवासभाका स्वास्थ्यसम्बन्धी कार्यक्रम सञ्चालन हुने प्रदेश सांसद लक्ष्मण तिवारीले बताए।

शुक्रबारै म्याङ्लुङ नगरपालिकाले सामाजिक विकास मन्त्री घिमिरेलाई मागपत्र पेश गरेको छ। मागपत्र पेश गर्दै नगरपालिकाका प्रमुख सञ्जयकुमार तुम्बाहाम्फेले म्याङ्लुङ नगरपालिकालाई समृद्ध नगरपालिका बनाउनका लागि प्रदेश सरकारसँग समेत सहकार्य गर्ने धारणा राखेका छन्।

म्याङ्लुङ नगरपालिकाले राखेको मागपत्रलाई सम्बोधन गर्दै सामाजिक विकास मन्त्री घिमिरेले जिल्ला अस्पताललाई सुविधा सम्पन्न बनाउनुका साथै ५० शय्याको सहितको अस्पताल बनाउने घोषणा गरेका हुन्। अस्पताललाई सुविधा सम्पन्न बनाउन आवश्यक सामग्रीहरूको व्यवस्थापनमा जोड दिने जिल्ला अस्पतालको अनुगमन गर्ने क्रममा मन्त्री घिमिरेले बताए। हाल जिल्ला अस्पताल तेह्रथुममा १५ शय्या रहेका छन्।

देश संघीय संरचनामा गएपश्चात् जिल्लामा रहेका कार्यालयहरू स्थानीय तहमार्फत् सञ्चालनका क्रममा रहेको समयमा यी कार्यालयको व्यवस्थापन छिटो गर्नुपर्नेमा स्थानीय तथा प्रदेश सरकारले ध्यान दिनुपर्ने जिल्लाबासीको भनाई रहेको छ। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.