|

विराटनगर : विराटनगर १ का सत्यनारायण पोद्दारले आफ्ना छोरा भएको भन्दै गैरनेपाली नागरिकलाई धमाधम नागरिकता बनाइदिएको खुलासा भएको छ। जिल्ला प्रशासन कार्यालयले गरेको छानविनका क्रममा पोद्दारले वडा सचिव तथा वडाध्यक्षलाई पनि आर्थिक प्रभावमा पारेर गैरनेपाली नागरिकलाई नागरिकता बनाइदिने गरेको खुलासा भएको हो।

पोद्दारले आफू बाबु बनेर अहिलेसम्म सात जनालाई नागरिकता प्रमाणपत्र बनाइदिएको खुलेको छ। उनले नागरिकता बनाइदिएवापत कति रकम लिन्थे भन्ने कुराको खुलासा नभए पनि सिफारिस गर्ने वडा सचिवले प्रतिव्यक्ति ५५ हजार रुपैयाँ लिने गरेको स्रोतको दाबी छ।

जनप्रतिनिधि निर्वाचित भएर आएलगतै २०७४ मा एक जनाको नागरिकता बनाइदिएका पोद्दारले २०७५ पनि अर्का एकजनाको नागरिकता सिफारिस गराएका थिए। तर जिल्ला प्रशासन कार्यालयले सिफारिसप्रति आशंका गरेर अनुसन्धान गरेपछि उक्त घटना सार्वजनिक भएको हो।

पोद्दारले प्रत्येक वर्षजसो एक जनालाई नागरिकता दिलाउने धन्दा गर्दै आएको प्रहरी स्रोतको दाबी छ। विराटनगर १ का स्थानीय पोद्दारको प्रभावमा परेर पछिल्लो पटक वडाध्यक्ष उद्धब अर्यालले दुईजना गैरनेपाली नागरिकलाई नागरिकता सिफारिस गरेको भेटिएको छ। 

मोरङ प्रहरीले किर्ते जालसाँची गरेर विदेशीलाई नागरिकता दिलाएको अभियोगमा पोद्दारलाई पक्राउ गरिसकेको छ। पोद्दार पक्राउ परेपछि नागरिकता प्रमाणपत्र सिफारिस गर्ने वडा अध्यक्ष अर्याल, साँची बस्ने वडासदस्य रमेश साह र महानगरका कर्मचारी वडा सचिव पुष्पा तिम्सिना फरार छन्। प्रहरीले उनीहरू तीनै जनालाई पक्राउ गर्ने प्रयास गरे पनि अर्याल र साह भारतीय भूमिमा रहेका कारण पक्राउ गर्न नसकेको प्रहरी स्रोतको भनाइ छ। प्रहरी स्रोतका अनुसार तिम्सिना भने मोबाइल अफ गरेर फरार भएकी छिन्।

जिल्ला प्रशासन कार्यालयमा पछिल्लो नागरिकता बनाउने क्रममा आशंका भएपछि प्रशासनकै लिखित जाहेरीमा पोद्दार पक्राउ परेका हुन्। नक्कली बाबु बनिदिने पोद्दार तथा नागरिकता लिने सातजना व्यक्तिहरू, नागरिकता सिफारिस गर्ने वडाअध्यक्ष, वडा सदस्य तथा महानगरका कर्मचारी र विभिन्न समयमा नागरिकताको प्रमाणपत्र सिफारिस गर्ने व्यक्तिहरूलाई विपक्षी बनाएर प्रहरीले सरकारी वकिलसमक्ष प्रतिवेदन पठाए पनि वडा अध्यक्षलाई कारवाही हुनबाट जोगाउने खेलले शुक्रबार अभियोगपत्र पेश हुन नसकेको पनि खुलेको छ।

नक्कली नागरिकता सिफारिस गर्ने वडा अध्यक्ष अर्याल विराटनगर महानगर कार्यपालिकाका प्रवक्ता पनि हुन्। महानगरकै प्रवक्ताले नागरिकता जस्तो संवेदनशील विषयमा कमजोरी गरेको भए पनि उनीविरुद्ध मुद्दा नचलाउन प्रहरीलाई राजनीतिक दवाव दिइएको प्रहरी स्रोतको भनाइ छ।

सिफारिसकर्ता स्वतः कानुनी कारवाहीको दायरामा आउने भएकोले मुद्दा चलाउनु पर्ने राय दिएपछि प्रहरीले सोहीअनुसार प्रतिवेदन दिएको छ। तर दवावका कारण शुक्रबार नागरिकता सिफारिस गर्ने अध्यक्ष अर्यालविरुद्ध भने अभियोग पत्र तयार भएन। उनीबाहेक साक्षी बस्ने वडा सदस्य साह र सचिव तिम्सिना, नक्कली बाबु बनेका पोद्दार र उनका एक जना छोरालाई मात्र विपक्षी बनाएर अभियोग पत्र तयार पारिएको भए पनि शुक्रबार मुद्दा भने सरकारी वकिलसमक्ष औपचारिक रूपमा नबुझाइएको प्रहरीको भनाइ छ।

जिल्ला प्रहरी कार्यालय मोरङका प्रवक्ता निशान थापाले प्रहरीले कानुनअनुसार सिफारिसकर्ता, साक्षीहरू र किर्तेमा संलग्न सबैलाई विपक्ष बनाएर प्रतिवेदन तयार पारेको जानकारी दिए। उनले अभियोग पत्रमा क-कसलाई विपक्षी बनाउने भन्ने निर्णय सरकारी वकिलको हुने भएकोले त्यस विषयमा आफूले कुनै प्रतिक्रिया दिन नमिल्ने बताए।

वडा अध्यक्षलगायत जनप्रतिनिधिहरू किर्ते नागरिकताको मुद्दामा तानिएको विषयमा महानगरपालिकाका प्रमुख भीम पराजुलीले २०५९ सालमा जन्मदर्ता गरेको प्रमाण र स्वयं बाबु बनेर वंशज नेपाली नागरिक सत्यनारायण पोद्दार उभिएका कारण वडा अध्यक्ष झुक्किएको बताए। उनले कागजले प्रमाण पुगेका कारण अर्यालले नागरिकता सिफारिस गरेको हुँदा जालसाँची गर्ने पोद्दारमाथि कारवाही हुनु पर्ने तर्क गरे।

लामो समयदेखि वडा १ को सचिवको रूपमा काम गर्दै आएकी तिम्सिनाले पोद्दारले पेश गरेको विवरणअनुसार जनप्रतिनिधि आउनु पूर्व पाँच जनाको नागरिकता बनाइदिएको पाइएको छ भने अहिले पनि उनै साँक्षी बसेर दुई जनाको नागरिकता सिफारिस गराएको अनुसन्धानबाट खुलेको छ।

महानगरपालिकाका प्रमुख पराजुलीले भने रकम लिएको विषय आफूसमक्ष नआएको र पत्याइहाल्ने आधार नभएको प्रतिक्रिया दिएका छन्। नागरिकता किर्ते घटना सार्वजनिक भएपछि अर्यालले जिल्ला प्रशासन कार्यालय मोरङमा कारवाहीको माग गर्दै निवेदन दिएका थिए। तर जिल्ला प्रशासन कार्यालयले नै पहिले अनुसन्धान शुरु गरेका कारण अर्यालको निवेदन केवल औपचारिकता मात्र भएको छ।

वडाध्यक्षलाई जोगाउने प्रयास

झुटो विवरणमा भारतीयलाई नागरिकता सिफारिस गर्ने विराटनगर महानगरपालिकाका वडा अध्यक्षलाई जोगाउने प्रयास भइरहेको भन्ने आरोप लागेको छ। किर्ते गरी नगरिकता दिलाउने र लिने पक्राउ परे पनि सिफारिस दिने वडा अध्यक्ष अर्याललाई जोगाउन चलखेल भइरहेको आरोप लागेको हो।

वडाअध्यक्ष अर्याललाई अभियोगबाट जोगाउन नेपाली कांग्रेसको जिल्ला तहदेखि केन्द्रसम्मका नेताहरू लागिपरेको प्रहरी स्रोतले जनाएको छ। भारतीयलाई नागरिकता दिएको प्रकरणमा नागरिकता सिफारिस गर्ने अर्याललाई बचाएर साक्षी बस्ने वडा सदस्य र वडासचिपविरुद्ध मात्र सरकारी वकिलको कार्यालयले अभियोगपत्र तयार गरेको स्रोतले जनाएको छ।

सरकारी वकिलको कार्यालयले विराटनगर १ का वडा सदस्य रमेश साह र सोही वडाकी सचिव पुष्पा तिम्सिनाविरुद्ध मात्र अभियोगपत्र तयार गरेको बताइएको छ। यस्तै झुटो विवरण पेश गरी नागरिकता दिलाउने विराटनगर १ घर भर्इ हाल मोरङको कटहरी गाउँपालिका १ वस्ने ५५ वर्षीय पोद्दार र उनका छोरा भनिएका २५ वर्षीय राजेन्द्र पोद्दारविरुद्ध अभियोग दर्ता गर्ने तयारी छ।

नक्कली बाबु बन्ने पोद्दारले विभिन्न मितिमा सातजना भारतीयलाई नागरिकता दिलाएको प्रहरी अनुसन्धानबाट खुलेको छ। प्रहरीले उनीहरूसहित नागरिकता सिफारिस गर्ने वडाअध्यक्ष, वडासदस्य तथा वडासचिवसहित विभिन्न समयमा नागरिकताको प्रमाणपत्र सिफारिस गर्ने व्यक्तिहरूलाई मुद्दा चलाउन अनुसन्धानसहितको प्रतिवेदन सरकारी वकिलको कार्यालयमा बुझाएको जनाएको छ। स्रोतका अनुसार अर्याललाई जोगाउने चलखेलको कारण नै शुक्रबार अदालतमा अभियोगपत्र दर्ता हुन सकेन। अब आइतबार अभियोगपत्र दर्ता हुनेछ। अर्याललाई प्रतिवादी नबनाएको बारेमा प्रहरी र सरकारी वकिल कार्यालयकै मत बाझिएको स्रोतको दावी छ।

मोरङका प्रमुख जिल्ला अधिकारी रमेशकुमार केसीले सिफारिसमा शंका लागेर बुझ्न खोज्दा झुटो विवरण पेश गरेको खुलेपछि प्रहरीलाई कारबाही चलाउन पत्राचार गरेको जानकारी दिए। प्रशासन कार्यालयले सिफारिस भएको नागरिकताबारे छानविन गर्न प्रहरीलाई पत्र लेखेपछि वडाध्यक्ष अर्यालले आफूलाई फसाइएको भन्दै अनुसन्धान गर्न निवेदन दिएका थिए। प्रशासनले नै पहिला छानविन प्रक्रिया शुरु गरेकाले वडा अध्यक्षले पेश गरेको पत्र औपचारिकतामा मात्रै सीमित भएको छ। अर्याल नेपाली कांग्रेसबाट वडा अध्यक्षमा निर्वाचित भएका हुन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.