|

तेह्रथुम : वातावरण संरक्षण र पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यका साथ साइकल यात्रामा निस्किएका पोखराका एक युवा तेह्रथुममा पुगेका छन्। ‘दिगो विकासका लागि साइकल अभियान, देश घुमौं, देश बुझौं’ भन्ने मुल नाराका साथ असोज २८ देखि ‘नेपाल साइकल यात्रा’ मा निस्किएका दिवस गुरुङ तेह्रथुम आइपुगेका हुन्।

वन विज्ञान अध्ययन संस्थान पोखरामा स्नातक तह चौथो वर्षमा अध्ययनरत पोखराका दिवस ४० दिने साइकल यात्रामा निस्किएका हुन्। पर्यटन वर्ष २०२० को प्रवर्द्धन, स्वास्थ्य, वातावरण र पर्यटनका लागि साइकलको महत्व दर्शाउने, अटिजमसम्बन्धी जनचेतना फैलाउने, रक्तदानको महत्त्व दर्शाउनुका साथै जैविक विविधतालाई संरक्षण गर्ने यस अभियानको उद्देश्य रहेको गुरूङले बताएका छन्।

उनले ४० दिने साइकल यात्रामा प्रदेश १ का १४ जिल्ला र प्रदेश २ का आठ जिल्लाका साथै तराईका सबै जिल्ला पुग्ने लक्ष्य रहेको बताए। प्रदेश १ र २ का पर्यटकीय गन्तव्य र सम्भावनाहरूको अध्ययन गरी देश विदेशसम्म प्रचारप्रसार गर्ने मुख्य उद्देश्यसहित उदयपुरबाट यात्रा सुरु गरेको २० दिनमा आइतबार साइकल यात्री गुरूङ तेह्रथुमको म्याङ्लुङ बजार आइपुगेका छन्। यो अवधिमा झापा, इलाम, पाँचथर र ताप्लेजुङमा अवस्थित तीर्थस्थल पाथीभरा पुगेर तेह्रथुम आएको दिवशले बताए।

प्रदेश ४ का विभिन्न पर्यटकीय स्थलहरुको प्रचारप्रसारसँगै प्रदेश १ मा निस्किएको र लगत्तै प्रदेश २ का जिल्लाहरुमा जाने उनले बताए। उनले तेह्रथुममा गुराँसको राजधानी तीनजुरे–मिल्के–जलजले, एसियाको अग्लो ह्यात्रुङ झरनालगायत महत्त्वपूर्ण पर्यटकीय स्थानहरुको पुगेका छन्। उनले भने, ‘प्रदेश १ मा साँच्चै नै सुन्दर रहेछ, अब म यसको प्रचारप्रसारका लागि काम गर्छु।’

२०७२ सालको भूकम्पपछि भारतले गरेको अघोषित नाकाबन्दीले निम्त्याएको इन्धन संकटले आफूलाई साइकल चलाउन प्रेरित गरेको दिवशले बताए। अभियानलाई सार्थक बनाउन लाग्ने करिब एक लाख रुपैँया खर्चको व्यवस्थापन आफैंले गरेको गुरूङ बताउँछन्। शैक्षिक तथा समाजिक संघ संस्थाहरुसँग समन्वय, छलफल गर्दै यात्रा तय भएको उनको भनाइ छ। उनी भन्छन् ‘अभियानको क्रममा जागरुक युवाहरुलाई साइकल यात्राको महत्व बुझाउनुका साथै जलवायु परिवर्तनको न्युनीकणमा युवाको भूमिकालाई सक्रिय बनाउने छु।’ 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.