|

कञ्चनपुर : कञ्चनपुरको महाकाली नगरपालिका ८ दोधाराचाँदनीमा सुख्खा बन्दरगाह बनाउनका लागि नेपाल-भारतका सांसदले साझा प्रतिबद्धता जनाएका छन्। 

महाकाली नगरपालिका ७ को गाउँबाबाथानमा तिहारको अवसरमा आयोजना गरेको शुभकामना आदान-प्रदान कार्यक्रममा नेपालका तर्फबाट प्रतिनिधिसभा सदस्य डा. दीपकप्रकास भट्ट र भारतका तर्फबाट उत्तराखण्ड प्रदेश खटिमा क्षेत्रका विधानसभा सदस्य पुष्करसिह धामीले सुख्खा बन्दरगाह निर्माणका लागि आ-आफ्नो देशका तर्फबाट पहल गर्ने प्रतिबद्धता जाहेर गरेका हुन्।

उनीहरूले नेपाल-भारतको सम्बन्ध बलियो बनाउनका लागि सुख्खा बन्दरगाह निर्माण गर्नुपर्नेमा जोड दिएका थिए। उत्तराखण्ड प्रदेश खटिमा क्षेत्रका विधान सभा सदस्य धामीले सुक्का बन्दरगाहको काम अघि बढाउनका लागि भारत सरकार सदैव नेपालको साथमा रहेको बताए। बन्दरगाह निर्माण नभएका कारण व्यापार घाटा बढेकाले त्यसको निराकरणका लागि बन्दरगाह निर्माण हुनुपर्ने उनले बताए। नेपाल-भारतको रोटी र बेटीको प्रगाढ सम्बन्ध भएकाले यसलाई अगाडि बढाउनुपर्ने उनको भनाई थियो। 

प्रतिनिधि सभासदस्य डा.भट्टले सुख्खा बन्दरगाह निर्माण र एकीकृत महाकाली सन्धि अनुसार दोधाराचाँदनीले पाउनुपर्ने बताए। उनले ३५० क्युसेक पानी पाउनका लागि भारत सरकारसँग पहल गरिरहेको बताए। एकीकृत सुरक्षा जाँच पोष्ट स्थापना गरेर दुवै देशका नागरिकलाई आवत-जावतमा सहजता ल्याउनका लागि कार्य अगाडि बढेको उनको भनाई थियो। 

सुदूरपश्चिम प्रदेशसभा सदस्य मानबहादुर सुनारले नेपालको पश्चिमी नाका कञ्चनपुरदेखि भारतको राजनीतिक दिल्ली नजिकको दूरीमा रहेको चर्चा गर्दै सुख्खा बन्दरगाह निर्माण भए नेपालको विकासमा टेवा पुग्ने बताए। नेपाल पत्रकार महासंघ कञ्चनपुरका अध्यक्ष विष्णु अवस्थीले नेपाल-भारत सदियौँदेखिको प्रगाढ सम्बन्ध रहेको प्रसंग उल्लेख गर्दै एकीकृत महाकाली सन्धिअनुसार नेपाली पक्षले पानी नपाएको भारतीय सांसद धामी समक्ष गुनासो गरे।

महाकाली नगरपालिका प्रमुख बीरबहादुर सुनारले जहिलेदेखि सीमा क्षेत्रमा भारतीय सीमा सुरक्षा बल (एसएसबी) खटिए त्यही समयदेखि दुवै देशका नागरिकबीचको सम्बन्ध चिसिएको गुनासो पोखेँ। 
 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.