|

तेह्रथुम : झिलीमिली बत्ती र फूलहरूको पर्व तिहारका पाँचै दिन बत्ती र फूलको प्रयोग गरिन्छ। विभिन्न किसिमका बत्ती र फूलहरूले तिहारका पाँचदिन गाउँ तथा सहरका घरहरू सजिसजावट हुने गर्दछन्। तिहारमा फूलको विशेष महत्व हुन्छ। काग तिहार, कुकुर तिहार, लक्ष्मी पूजा, गोबर्द्धन पूजा र भाइ टीकामा फूलको आवश्यकता पर्दछ। 

घरका झ्यालढोका, भाँडावर्तनका साथै कलश सजाउनसमेत फूलको प्रयोग गरिन्छ। अझ भाइटीकाको दिन दिदीबहिनीका हातबाट दाजुभाइको निधारमा सप्तरङ्गी टीकाको साथमा गलाभरी सयपत्री र मखमलीका माला लगाइदिने प्रचलन छ। सयपत्री मालाको सट्टामा आजभोलि प्लाष्टिकको माला लगाउनु पर्ने अवस्था सिर्जना भएकोमा स्थानीयबासी गुनासो गर्दछन्।

सयपत्री, मखमली, गोदावरी लगायत फूलको आफ्नै महत्व रहेको छ। तर पछिल्लो समय सयपत्री, मखमली, गोदावरी फूलको सट्टामा प्लाष्टिकका फूलको प्रयोग बढ्दै गएको पाइन्छ। जिल्लाका स्थानीय बजारहरुमा बत्ती तथा फूलको व्यापार पनि बढेको छ। तिहारमा प्राकृतिक फूलको सट्टामा बजारभरी रङ्गीविरङ्गी प्लाष्टिकका फूलहरूको कारोबार भइरहेको छ। 

तेह्रथुमको म्याङ्लुङ बजारमा लाग्ने हटियामा प्लाष्टिकका फूलले बजार ढाकेको छ। तिहारमा अनिवार्य रूपमा फूल चाहिने भएपछि प्राकृतिक फूलको अभावमा जिल्लाका बजारमा प्लाष्टिकका फूलहरूको कारोबार बढेको हो। अघिल्ला वर्षको तुलनामा यसवर्ष तेह्रथुममा सयपत्री, मखमली फूलको उत्पादनमा कमी आएको म्याङ्लुङ नगरपालिका ७ विरिखिम्तीकी संगीता काफ्लेले बताइन्। केहीवर्ष अघिसम्म ढकमक्क फुल्ने सयपत्री र मखमली फूल हिजोआज लोप हुँदै गएको उनले बताएकी छन्। 

सयपत्री र मखमली फूल नहुँदा विदेशी प्लाष्टिकका फूलले बजार ढाकेको छ। प्राकृतिक फूल कमै मात्र पाउन थालेपछि प्लाष्टिकको मालाको आयात बढेको हो। मङ्गलबार र शुक्रबार जिल्ला सदरमुकाम म्याङ्लुङमा लाग्ने हटियामा सयपत्री र मखमली फूल कमै मात्रमा बिक्रीका लागि आउने गरेकाले उपभोक्ताको माग धान्नका लागि प्लाष्टिकको फूल आयात गर्नुपरेको पुष्प व्यवसायीहरु बताउँछन्। 

बजारमा सहज र सस्तो रुपमा खरिद गर्न पाइने भन्दै प्राकृतिक फूलभन्दा प्लाष्टिकका फूलको माला धेरै सयम पनि टिक्ने भएकाले आफूले प्लाष्टिकको फूलको माला लगाएको स्थानीय व्यापारी विनिता ढुंगानाले बताइन्। घर, पसल सजाउन प्लाष्टिकका फूलको माला लगाउने र लक्ष्मी तथा भाइ पूज्न भने सयपत्री, मखमली फूलको प्रयोग गर्ने उनको भनाई छ। 

यस वर्षको तिहार सधैंको भन्दा केही ढिलो भएका कारण पनि फूलका थुङ्गा बोटमा नै ओइलाएको कृषकहरु बताउँछन्। समयमा पानी नपर्नुले पनि फूल उत्पादनमा कमी आएको उनीहरुको भनाई छ। फूल खरिद गर्न आएका कतिपय ग्राहक त खाली हात फर्कन विवस देखिन्छन्। उनीहरु भन्छन् ‘प्लाष्टिकका फूलको मालाले नै यस वर्षको तिहार टार्नुपर्ने अवस्था हुने भयो।’

विदेशी संस्कृतिको प्रभावका कारण मौलिकता हराउँदै तिहारमा खेलिने देउसीभैलो लोप हुँदै गएको आभास हुन्छ। मादल बजाउँदै लोक लयमा गाइने देउसीभैलोको सट्टामा रिमिक्स नेपाली तथा हिन्दी गीतको तालमा नाँच्दै तिहार मनाउन थालिएको छ। घरघर पुगेर देउसी खेल्दै नाँच्दै गाउँदै तिहारको शुभकामना बाँड्ने परम्परा लोप हुँदै गएकोमा स्थानीय अगुवाहरुले चिन्ता व्यक्त गरेका छन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.