बालुवाटारमा शान्ति र समृद्धिको 'फर्माइस'

|

काठमाडौं : बालुवाटारमा रहेको प्रधानमन्त्रीको सरकारी निवासको कार्यक्रम कक्षा। जहाँ बुधबार महाकवि लक्ष्मीप्रसाद देवकोटाको ११० औँ जन्मजयन्ती मनाउने कार्यक्रम थियो। कार्यक्रमको विशेष आकर्षण थिए प्रधानमन्त्री केपी शर्मा ओली।

बुधबार दिउँसो १:३० बजेका लागि बोलाइएको कार्यक्रममा सहभागी हुन साहित्यकार, लेखकहरू समयमै बालुवाटार पुगिसकेका थिए। आयोजक थियो, मदन भण्डारी कला तथा साहित्य प्रतिष्ठान। 

करिब पौने २ बजेतिर उपप्रधान तथा रक्षाममन्त्री ईश्वर पोखरेल, मन्त्रीहरू प्रदीपकुमार ज्ञवाली, रवीन्द्र अधिकारी कार्यक्रमस्थलमा पुगे। कार्यक्रमका लागि आयोजक तम्तयार थिए। पर्खाइ थियो प्रधानमन्त्री तथा नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष केपी शर्मा ओलीको। 

स्वास्थ्यमा समस्याका कारण अस्पतालबाट उपचार गराएर घर फर्केपछि प्रधानमन्त्री पहिलोपटक औपचारिक कार्यक्रममा सहभागी हुने कार्यक्रम थियो। २ बजेतिर प्रधानमन्त्री श्रीमती राधिका शाक्यसहित कार्यक्रममा सहभागी भए। कार्यक्रमका मुख्य आकर्षण प्रधानमन्त्री ओलीले उक्त कार्यक्रमको प्रमुख अतिथी भने सहभागी सबैलाई बनाइदिए।

कार्यक्रम महाकवि देवकोटा जन्मजयन्तीको थियो। प्रधानमन्त्री उपस्थित भएपछि कवि देवी नेपालले कार्यक्रमको शुभारम्भ गरे। बुधबार अरू विषयमा छलफल हुनेवाला थिएन। सबै विषयवस्तु केन्द्रित थियो महाकवि लक्ष्मीप्रसाद देवकोटामा।

प्रधानमन्त्रीको आग्रहमा इन्स्पेक्टरले गाए भक्तराजका गीत

देवकोटा जयन्तीको शुभारम्भ गरे जनगायक रामकृष्ण दुवालले गरे।

नटिप्नु हेर कोपिला !

नचुड्नु पाप लाग्दछ ।

नच्यात्नु फूल नानि हो !

दया र धर्म भाग्दछ ।।

दुवालले देवकोटाका कविता गाएर सुनाएपछि गायक निर्मल पनेरुले देवकोटाका यात्री कविता लिएर आए। आफ्नै सांगीतिक समूहसहित उपस्थित भएका युवा पनेरुले देवकोटाको यात्री कविता गाएर सबैलाई मन्त्रमुग्ध पारे।

कुन मन्दिरमा जान्छौ यात्री,

कुन मन्दिरमा जाने हो ?

कुन सामग्री पुजा गर्ने,

साथ कसोरी लाने हो ?

बालुवाटारमा शान्ति र समृद्धिको फर्माइस्

देवकोटाको यात्री कविता प्रस्तुत गरेका युवा पनेरु केही समयपछि भजन शिरोमणी भक्तराज आचार्यको 'हजार सपनाहरूको माया लागेर आउछ  र जहाँ छन् बुद्धका आँखा' बोलको गीत लिएर उपस्थित भए। देवकोटाको यात्री कविता प्रस्तुत गरेका प्रहरी निरिक्षक पनेरु दोस्रोपटक प्रधानमन्त्री ओलीको विशेष फर्माइसमा उपस्थित भएका थिए।

महाकवि देवकोटाको जन्मजयन्ती भजन शिरोमणी आचार्यलाई प्रधानमन्त्री ओली आफैले कार्यक्रममा आमन्त्रण गरेका थिए। कार्यक्रममा प्रधानमन्त्री ओली र आचार्य लहरै बसेका थिए। देवकोटाका रचना वाचन गर्ने कार्यक्रम चलिरहेको थियो। कार्यक्रमको अन्तिमतिर प्रधानमन्त्रीले पनेरुलाई खबर पठाए 'भक्तराज जीका हजार सपना र जहाँ छन् बुद्धका आँखा बोलका गीत गाएर सुनाइदिनु।'

देवकोटाको रचना वाचन गरेर बाजागाजा र वाद्यवादक बोकेर कार्यक्रमस्थलबाट बाहिरिइसकेका पनेरु पुनः कार्यक्रमस्थलमा उपस्थित भएर 'हजार सपनाहरूको माया लागेर आउछ  र जहाँ छन् बुद्धका आँखा' बोलका गीत प्रस्तुत गरे। प्रधानमन्त्री ओली केही दिनदेखि बिरामी भएर अहिले बालुवाटारमा डाक्टरको निगरानीमा आराम गरिरहेका छन्। तर उनको सांगितिक मन भने चुप लागेर बस्‍न सकेन।

बेला-बेला साहित्यिक तथा सांस्कृतिक कार्यक्रममा देखिने प्रधानमन्त्री ओली यसपटक समृद्धि र शान्तिको सपना बोकेको गीत गाउन लगाएर लामो समयसम्म कार्यक्रममा सहभागी बने।

को हुन् निर्मल पनेरु?

प्रधानमन्त्री ओलीको फर्माइसमा गीत गाउने पनेरु नेपाल प्रहरीका प्रहरी निरीक्षक हुन्। उनी बालुवाटारस्थित प्रधानमन्त्री विशेष सुरक्षा इकाइमा कार्यरत छन्। करिब एक वर्षदेखि बालुवाटारमा कार्यरत इन्स्पेक्टर पनेरु बेला-बेला गीत गाउने गर्थे। त्यो जानकारी प्रधानमन्त्री ओलीलाई थियो।

उनले बुधबार बालुवाटारमा आयोजना गरिएको देवकोटा जयन्तीमा गाउने अवसर पाए। कार्यक्रममा देवकोटाका रचना गाएर सुनाएपछि मन्त्रमुग्ध भएका ओलीले सँगै बसेका भक्तराजका गीत गाउन आग्रह गरेका हुन्।

बच्चामा १०/११ वर्षको उमेदेखि गीत गाउन थालेका पनेरुले ५ वर्ष पहिले नेपाल प्रहरी सेवामा प्रवेश गरेका हुन्। त्यसयता उनले राम्रोसँग गाउन पाएका छैनन्। तर अब आफ्नो रुचीलाई अगाडी बढाउदै लैजाने बताउँछन्। '६ वर्षयता गाउन पाएको छैन। अब यसलाई पनि बिस्तारै अगाडी बढाउने योजनामा छु', पनेरुले भने।

उनको आफ्नै एउटा रेकर्डेड गीत समेत छ। जो ६ वर्ष पहिले रेकर्ड गरिएको थियो। उनले नेपाल प्रहरीको संगठनात्मक गीत समेत गाएका छन्। पछिल्लो पटक गएको संविधान दिवसमा दिन सैनिकमञ्च टुंडिखेलामा उनले संयुक्त प्रस्तुती दिएका थिए।

त्यस अवसरमा जनगायक रामेश श्रेष्ठ, कवि डा.विप्लव ढकाल, गायिका कोमल ओली, कवि नरनाथ लुइँटेल, गायक सञ्जय तुम्रुक, कवि प्रभा भट्टराई, लक्ष्मण गाम्नामे लगायतले देवकोटाका रचना वाचन तथा गायन गरेका थिए। कार्यक्रमा प्रा.डा. महादेव अवस्थीले देवकोटाका व्यक्तित्व र कृतित्व बारेमा प्रकाश पारेका थिए।

यो पनिः

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.