|

तेह्रथुम : दीपावली मेलाको अवसरमा आठराई गाउँपालिका ५ छातेढुंगामा जिल्लाकै सर्वाधिक राशीको फुटबल प्रतियोगिता सञ्चालन हुने भएको छ। हरेक साल दीपावली मेलाको अवसरमा खेलाइने फुटबल प्रतियोगितामा एकलाख ५० हजार पुरस्कार रहेको आयोजकले जनाएको छ।

मेलाको अवसरमा पुरुष फुटबलका साथमा महिला फुटबल, पुरुष भलिबल र अन्य आकर्षक खेलकुद, सांस्कृतिक तथा मनोरञ्जनात्मक कार्यक्रमहरू सञ्चालन हुने भएका छन्। भगवती खुला पुरुष फुटबल प्रतियोगिताको विजेताले एकलाख ५० हजार र उपविजेताले ८० हजार रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन्।
योवर्ष पनि महिला फुटबल, पुरुष भलिबल, व्याडमिन्टन, बुद्धिचाल, धाननाँच र लोकनृत्य प्रतियोगिता तथा बहुभाषिक कवि गोष्ठी सञ्चालन हुने आयोजक दीपावली मेला समितिले जनाएको छ। मेला सञ्चालनका लागि ठूलो स्रोत र कोष नभए पनि मेलाको निरन्तरतामा स्थानीयबासीले चासो दिँदै आएका छन्। 

पाँचथरको अमरपुर निवासी रामकुमार लिङ्देन र नगेन्द्र लिङ्देनले वि.स.२०३९ सालमा स्थापना गरिदिएको दुईलाख रुपैयाँको कोष नै मेला सञ्चालनको मुख्य स्रोतको रूपमा रहेको मेला सञ्चालनका अगुवा तथा प्रदेश १ का सांसद तेजमान कन्दङ्वाले बताए। मेलाले आठराई क्षेत्रको खेल प्रबद्र्धनमा सहयोग पुगेको प्रदेश सांसद कन्दङ्वाको भनाई छ। मेला र खेलकुद कार्यक्रमकै कारण छातेढुंगा र आठराई क्षेत्र खेलकुदमा जिल्लाकै अग्रणी ठहर्दै आएको कन्दङ्वा बताउँछन्।

योवर्ष पनि मेलाका अवसरमा स्व. नारायणप्रसाद, इश्वरादेवी संग्रौला मेमोरियल खुल्ला रनिङ ट्रफी पुरुष भलिबल प्रतियोगिता सञ्चालन हुने भएको छ। सो प्रतियोगितामा विजेतालाई ५० हजार र उपविजेतालाई ३० हजार रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र प्रदान गरिने आयोजक तथा आठराई गाउँपालिका ५ का वडाध्यक्ष विष्णुप्रसाद ओलीले बताएका छन्। 

स्वीस लिगबाट सञ्चालन हुने बुद्धिचाल प्रतियोगितामा एकमुष्ट ५० हजार रुपैयाँ पुरस्कारको व्यवस्था गरिएको छ। महेन्द्र कन्दङ्वा स्मृति महिला फूटबलतर्फ विजेतालाई ४० हजार र उपविजेतालाई २५ हजार रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र प्रदान गरिनेछ। यस्तै व्याडमिन्टन सिंगल र डबलका लागि क्रमशः विजेता र उपविजेतालाई ५ हजार र ३ हजार तथा ७ हजार र ५ हजार रुपैयाँसहित कप, मेडल र प्रमाणपत्रले पुरस्कृत गरिने मेला समितिले जनाएको छ।  

स्थानीय लोक संस्कृतिको जगेर्ना गर्ने ध्येयले आयोजित धाननाँच प्रतियोगितामा पनि विजेता र उपविजेतालाई सात हजार र पाँचहजार रुपैयाँसहित पुरस्कृत गरिने जनाइएको छ। लोकनृत्य प्रतियोगितामा प्रथम, द्वितीय र तृतीयलाई क्रमशः नगद १५, १२ र ८ हजार रुपैयाँसहित पुरस्कृत गरिनेछ। साथै सहभागीहरूलाई जनही ५/५ हजार नगद दिइनेछ।  

मेलाको अवसरमा कात्तिक २७ गते भाषा साहित्यको जगेर्ना गर्ने उद्देश्यले बहुभाषिक कवि गोष्ठीको आयोजना हुनुका साथै आठराई गाउँपालिकाका वडास्तरीय लोकनृत्य प्रतियोगिता समेत सञ्चालन हुनेछ। मेला सञ्चालनले यस क्षेत्रको खेलकुद प्रबर्द्धन, पर्यटन विकास, साहित्य सिर्जनामा रचनात्मकता ल्याउनुका साथै आर्थिक समृद्धिका लागि सहयोग पुर्‍याउँदै आएको सरोकारवालाहरू बताउँछन्। 

कात्तिक २६ गतेदेखि सुरु हुने मेलाको पहिलो दिन विभिन्न जातजातिका झाँकीहरू प्रस्तुत गरिने आयोजकले जनाएको छ। विगत वर्षहरूमा तिहारको भाइ टीकाका पर्सिपल्टबाट सञ्चालन हुने पूर्वमै प्रसिद्ध दीपावली मेला यो वर्ष पनि कात्तिक २६ गतेदेखि मंसिर दुई गतेसम्म लाग्ने भएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.