|

रामेछाप : जिल्लाको दोरम्बा गाउँपलिकामा दुईदिने एकीकृत घुम्ती शिविर सञ्चालन गरिएको छ। सेवाग्राहीको घर गाउँमै पुगेर नागरिकता प्रदान गर्ने उद्देश्यले जिल्ला प्रशासन कार्यालय रामेछाप र दोरम्बा गाउँपालिकाको समन्वयमा सञ्चालन गरिएको शिविरमा ५०७ थान नागरिकता जारी गरिएको जिल्ला प्रशासन कार्यालय रामेछापले जनाएको छ।

गाउँमै नागरिकता लिन पाउँदा त्यहाँका स्थनीयले खुसी ब्यक्त गरेका छन्। जिल्ला प्रशासन कार्यालयको टोली गाउँमै आएर नागरिक प्रदान गर्दा सदरमुकाम जानुपर्ने झन्झटबाट मुक्त भएको सेवाग्राही प्रमिला थापामगरले बताइन्।

आफ्नै घरआगनमा नागरिकता लिन पाउँदा नागरिकता बनाउँनकै लागि सदरमुकाम मन्थली जाँदा लाग्ने तीन दिन समय र खर्चसमेत जोगिएको स्थानीको समाजसेवि कृष्ण कडेलको भनाई छ। 'नागरिकता बनाउन मन्थली जाँदा तीन दिन लाग्छ, काजगपत्र पुगेन भने कागजपत्र लिन पुनः गाउँमै आउँनु पर्दा एउटा नागरिकताको लागि एक हप्तासम्म समय खर्च हुन्छ, पैसा त्यत्तिकै खर्च' कडेलले भने। घुम्ती शिविरले स्थानीलाई धेरै सुविधा भएको छ उनको भनाई छ।      

शिविरबाट सेवाग्रहीले सहज रूपमा नागरिकता प्राप्त गर्दा आफूलाई पनि खुसी लागेको दोरम्बा गाउँपालिका–७ का अध्यक्ष रेमबहादुर थापामगरले बताए। सदरमुकाम जान समस्या हुने, बृद्धबृद्धा, अपाङ्गता र अशक्तहरुलाई लक्षित गरि नागरिकता, फोटोसहितको मतदाता नामावलीलगायतका सेवा स्थानीको घर गाउँमै पुगेर दिने उद्देश्यले शिविर सञ्चालन गरिएको रामेछापका प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद शर्माले बताए।

दोरम्बा गाउँपालिकाको केन्द्रमा सञ्चालन गरिएको दुई दिने शिविरमा सोचे भन्दा बढी स्थानीयले सेवा लिएको पनि प्रजिअ शर्माले बताए। एकीकृत घुम्ती शिविरमा २७३ जना महिला र २३४ जना पुरुषले नागरिकता लिनुका साथै फोटोसहितको मतदाता नामावलीमा आफ्नो नाम दर्ता गराएका छन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.