|

काठमाडौं : नेपालीहरूको मुख्य चाडको मौसम छ यतिबेला। चाडपर्वको मौसमलाई नेपालीहरू भव्‍य रूपमा मनाउँदैछन्। मिलन र खुसीको पर्व बडादसैं भर्खरै बिदा भएर उज्यालोको पर्व तिहारमा रमाइरहेका छौं। शुक्रबार भाइटीका लगाएर मनाइँदै छ। यस दिन परम्पराअनुसार दिदीबहिनीहरूले आफ्ना दाजुभाइलाई सप्तरंगी टीका लगाइदिएर दीर्घायुको कामना गर्ने गर्छन्।

अाज मुलुकको ठूलो दल नेपाल कम्युनिस्‍ट पार्टी (नेकपा)का शीर्ष नेताहरूले भाइटीका कसरी लगाउँदै होलान्? यो सबैको चासोको विषय पनि हो। नेकपाका शीर्ष नेताहरूले भाइटीका कोसँग कसरी लगाउँदैछन् भनेर हामीले खोजी गरेका छौँ।

पुष्पकमल दाहाल 'प्रचण्ड', अध्यक्ष

नेकपाका अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'को यसपाली चाडबाड मनाउने कार्यक्रम छैन। आफ्ना एक मात्र पुत्र प्रकाश दाहालको निधन भएका कारण अध्यक्ष प्रचण्डको परिवार शोकमा छ। चाडपर्व मनाउने कार्यक्रम नभए पनि उनी दसैँ, तिहार, छठ, नेपाल सम्वत्लगायतका चाडपर्वहरूको सन्दर्भमा देशका विभिन्न ठाउँहरूमा आयोजना गरिएका शुभकामना आदानप्रदान कार्यक्रमहरूमा भने सहभागी भएका छन्। यसपालीको तिहार परिवारसँगै घरमै बसेर मनाउने कार्यक्रम रहेको अध्यक्ष प्रचण्डका प्रेस सल्लाहकार विष्णु सापकोटा 'जुगल'ले जानकारी दिए।

माधवकुमार नेपाल, वरिष्ठ नेता

नेकपाका वरिष्ठ नेता माधवकुमार नेपालको पटक भाइटीका लगाउने कार्यक्रम छैन। पूर्वप्रधानमन्त्रीसमेत रहेका नेपालको भाइटीका लगाउने कार्यक्रम नभए पनि परिवारसँगै काठमाडौंमै बसेर मनाउने उनका स्वकीय सचिव मोहन गौतमले जानकारी दिए।

झलनाथ खनाल, वरिष्ठ नेता

नेकपा वरिष्ठ नेता झलनाथ खनालले यसवर्ष भक्तपुरमा भेला भएर भाइटीका लगाउने कार्यक्रम रहेको छ। दिदीबहिनीहरूसँग शुक्रबार टीकाको साइतमै पूर्वप्रधानमन्त्री खनालले टीका लगाउने कार्यक्रम रहेको छ।

नेता खनालभन्दा जेठो दिदी यशोधादेवी आचार्य भक्तपुरमा बस्ने भएकाले सबैजना त्यहीँ जम्मा भएर टीका लगाउने गरिएको छ। बहिनी कुसुम खनाल पनि भक्तपुर दिदीको घरमा आएर दाइ झलनाथ खनाललाई टीका र माला लगाइदिनेछिन। खनालले एकजना दिदी र एक जना बहिनीको हातबाट टीकाको साइतमा भक्तपुर गएर टीका लगाउने कार्यक्रम रहेको खनालको सचिवालयले जानकारी दिएको छ।

वामदेव गौतम, सचिवालय सदस्य

नेकपा सचिवालय सदस्य वामदेव गौतमका पाँच दिदीबहिनी र तीन दाजुभाइ छन्। यसपालीको भाइटीका नेता गौतमले आफ्ना पाँच दिदीबहिनीसँग लगाउँदै छन्। भैँसेपाटीस्थित निजी निवासमा भाइटीका लगाउने कार्यक्रम रहेको गौतमका स्वकीय सचिव दीपक टमटाले जानकारी दिए।

नारायणकाजी श्रेष्ठ, प्रवक्ता

नेकपाका प्रवक्ता नारायणकाजी श्रेष्ठ चाडपर्वका सन्दर्भमा आयोजना गरिएका विभिन्न कार्यक्रमहरूमा सहभागी भइरहेका छन्। सँगै यसवर्षको भाइटीका लगाउने कार्यक्रम काठमाडौंमै हुने नेता श्रेष्ठले बताए। उनले आफ्नी दिदीसँग भाइटीका लगाउने कार्यक्रम रहेको बताए। उनले भने, 'म काठमाडौंमै हुन्छु, साइँला बुवाको छोरी मेरो दिदीसँग भाइटीका लगाउँछु।'

ईश्वर पोखरेल, सचिवालय सदस्य

नेकपा सचिवाल सदस्य ईश्वर पोखरेलका चार जना दिदीबहिनी र चार दाजुभाइ हुन्। त्यसमध्ये उनी सबैभन्दा कान्छा हुन्। चार दाजुभाइमध्ये दुई जनाको मृत्यु भइसकेको छ। दिदीहरू पनि तीन जना मात्रै छन्।

उपप्रधान तथा रक्षामन्त्री पोखरेलका एक दिदी झापामा, एक दिदी सातदोबाटो र एक दिदी बौद्धमा बस्दै आएका छन्। यसवर्ष काठमाडौंमा रहेका दुई दिदीसँग भाइटीका लगाउने कार्यक्रम रहेको मन्त्री पोखरेलकी श्रीमती मिरा ध्वजुले जानकारी दिइन्।

सातदोबाटोमा रहेकी दिदीको घरमा भेला भएर भाइटीका लगाउने कार्यक्रम हुने उनले बताइन्। तिहारको सन्दर्भमा भाइटीकासँगै विभिन्न ठाउँमा भेटघाटलगायतका कार्यक्रमहरू नेता पोखरेलको रहनेछ।  

विष्णुप्रसाद पौडेल, महासचिव

दसैँ पोखरामा मनाएका नेकपा महासचिव विष्णु पौडेलले तिहारको भाइटीका भने काठमाडौंमा मनाउँदै छन्। आफ्ना दिदीहरूसँग यस पटक काठमाडौंमै भाइटीका लगाउने कार्यक्रम रहेको महासचिव पौडेलका स्वकीय सचिव याम पाण्डेले जानकारी दिए।

अष्टलक्ष्मी शाक्य, स्थायी समिति सदस्य

नेकपा स्थायी समिति सदस्य अष्टलक्ष्मी शाक्यले भूमिगत राजनीति सुरु गरेदेखि नै धेरै परम्पराहरू त्यागेकी हुन्। तर, परम्परा जोगाउनुपर्छ भन्ने मान्यताले चाडपर्वका मुख्य विधिहरू भने मान्ने गर्छिन्।

यसवर्ष अष्टलक्ष्मीको परिवारले तिहार मनाउँदै छ। नेवारी परम्पराअनुसार दाजुलाई पुज्ने चलन छैन भाइलाई मात्र पुज्ने गरिन्छ। उनका दुई दाईमध्ये एकको मृत्यु भइसकेको छ भने एक भाइ अमेरिकामा छन्। एकमात्र भाइ अमेरिकामा भएका कारण यसवर्ष भाइ पुज्ने कार्यक्रम नरहेको शाक्यले बताइन्। पहिले नाताका भाइ गोपाल शाक्यलाई पूजा गर्थिन् उनी। तर, अहिले त्यो पनि विस्तारै टुट्दै गएको उनले बताइन्। तिहारका सन्दर्भमा अायोजना गरिएका ठाउँहरूमा शुभकामना आदानप्रदान गर्न जाने कार्यक्रम रहेको शाक्य बताउँछिन्।

पम्फा भुसाल, स्थायी समिति सदस्य

नेकपा स्थायी समिति सदस्य पम्फा भुसालको पाँच जना दिदीबहिनी र एक भाइ छन्। सबैभन्दा कान्छो भाइ दिनेशसँग दिदीबहिनीहरूले यसपटक सँगै भाइटीका लगाउने कार्यक्रम रहेको छ। ललितपुर एकान्तकुनास्थित निवासमा नेता भुसालले भाइटीका लगाउने कार्यक्रम रहेको भुसालका स्वकीय सचिव श्याम केसीले जानकारी दिए।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.