|

लहान : सूर्यको पूजाअर्चनासहित भव्यतापूर्वक मनाइने छठ पर्वको दोस्रो दिन सोमबार कार्तिक शुक्ल पञ्चमी तिथिको ‘खरना’ विधि गरिंदैछ। ब्रतालुले खरनामा पानी समेत नपिई उपवास बस्ने र राती चन्द्र उदाएसँगै खिर (पायस) चढाई त्यही खिर प्रसादको रुपमा खाएपछि ब्रतालुको पूर्ण ब्रतको आरम्भ भएको मानिन्छ।

कार्तिक शुक्ल षष्ठीको साँझ अस्ताउँदो र सप्तमीको बिहान उदाउँदो सूर्यलाई अर्घसहित गरिने छठ पूजाले निरोगी हुने, निःसन्तान दम्पत्तिले सन्तान प्राप्ति गर्ने, सन्तान अकाल मृत्युबाट जोगिने, छालाजन्य रोगव्याधि नलाग्ने मान्यता रहेको छ। छठको पहिलो दिन अर्थात् कार्तिक शुक्ल चतुर्थीको दिन आइतबार ब्रतालुले माछा, मासु, लसुन, प्याज, कोदो, मसुर लगायतका खाना परित्याग गरी ब्रतको आरम्भ गरिन्छ।  

यो पल्ट मंगलबार परेको छठको षष्ठीका दिन नजिकको नदी, तलाउ पोखरीमा पुगेर अस्ताउँदो सूर्यलाई अर्घ दिने गरिन्छ। माटोको घैला, दियो, ढकनी, सर्वी, हात्ती, पाना लगायतका सामग्रीसहित बाँसको कोनिया, ढक्की, नाङ्लोमा केरा, ठकुवा, भुसवा, खजुरी लगायतका परिकारहरू राखेर जलाशयमा शरीर डुबाउँदै सूर्यलाई ढोग्ने गरिन्छ।अर्घमा नरिवल, मूला, गाँठी, ज्यामिर, सुन्तला, सुठनी र  केरा लगायतका फलफूल समेत चढाइन्छ। 

अस्ताउँदो सूर्यलाई अर्घ दिएपछि राती जलाशय, नदी, तलाउ किनारमा अघ्र्य दिइएका सामग्रीहरु कतिपयले घरमै ल्याउँछन् भने कतिपय त्यहीं राखेर रातभर नाचगान र रमाईलो गर्छन्। भोलिपल्ट अर्थात् अन्तिम तथा चौथो सप्तमीका दिन ‘पारन’ मा उदाउँदो सूर्यलाई अघ्र्य दिएपछि छठ पूजा समाप्त भएको मानिन्छ। 

सिंगारिए अर्घ दिन पोखरी तलाउ

छठमा सूर्यलाई अघ्र्य दिन सिरहाको विभिन्न ठाउँका पोखरी, तलाउ, खोना, नदी सिंगारिएका छन्। लहानस्थित मटियर्वा पोखरी, रघुनाथपुर पोखरी, खुट्टी बलान खोला छठमा सिंगारिएको छ। लहानस्थित खुट्टी खोलामा नगरपालिकाले नै व्यवस्थित घाटको निर्माण गरिदिएको छ भने अन्य ठाउँमा स्थानीय समुदाय स्वयम्ले घाटको निर्माण गरेर सिंगारेका छन्।

सिरहाको कमला नदी, गागन, सदरमुकामस्थित सुब्बा पोखरी, मखनाहा पोखरी लगायत जिल्लाका अन्य ठाउँका तलाउ, पोखरी छठ पर्वको अवसरमा सिंगारिएको चोहर्वामा रामभरोसी यादवले बताए। 

छठका सामानको मूल्य बढ्यो

छठमा अनिवार्य रुपमा प्रयोग गर्नै पर्ने बाँस तथा माटोका विभिन्न सामानका भाउ बढेका छन्। छठमा सूर्यको पूजाका लागि प्रयोग गरिने माटोको घैला, दियो, ढकनी, सर्वी, हात्ती, पाना तथा बाँसको कोनिया, नाङ्लो, ढक्की जस्ता सामानहरु अन्य दिन भन्दा करिब दोब्बर मूल्य बढेको छ। अन्य बेलामा माटोका सामग्री त्यति बिक्री नहुँदा घर खर्च धान्न कठिन हुने भए पनि छठमा माग बढ्ने भएकाले मूल्य सेमत बढेको लहानका नारायण पण्डितले बताए। पण्डितका अनुसार छठ पर्वमा माटोबाट बनेको सामग्री नै प्रयोग गर्नु पर्ने मान्यता रहेको छ। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.