|

जनकपुरधाम : महोत्तरीको सोनमा गाउँपालिकामा आइतबार राति डाँकाको एक समूहले लुटपाट गरेको छ। लुटपाटको क्रममा एकै परिवारका १० जनालाई घाइते बनाएर १० लाख बराबरको धनमाल लुटेर लगेका छन्।

अाइताबार राति १० बजेको समयमा १० जनाको समूहमा आएका हतियारधारी डाँकाले लुटपाट गरी महोत्तरीको सोनमा गाउँपालिका ३ मा खनाका श्रीचन्द्र यादवको घरमा आक्रमण गरी लुटपाट गरेको हो। डाँकाहरूले बम, गोली, लाठी र खुकुरीले प्रहार गरी यादवका १० जना परिवारका सदस्यलाई घाइते बनाएका छन्। घाइते हुनेहरूमा लेलिन यादव, संजीव यादव र सुरेन्द्र यादव, मुरनदेवी यादव, राजिवकुमार यादव रहेका छन्। यसैगरी अन्य घाइते हुनेहरुमा शान्तिदेवी, चित्रलेखा यादव, रिंकु यादव, जितेन्द्र यादव, दिदेन्द्र यादव रहेका छन् जसमध्ये सुरेन्द्र यादवको उपचार जनकपुरमा सम्भव नभएपछि विराटनगर रेफर गरिएको छ।  

डाँकाहरूले घरमा रहेको ४ लाख ५० हजार नगद, ७ तोला सुन, आठ तोला चाँदी र सात थान मोबाइललगायत १५ लाख बराबरको धनमाल लुटेर लगेको घरधनी श्रीचन्द्र यादवले बताए। डकैती भएको यादवको घरनजिकै करिब डेढ किलोमिटरको दूरीमा इलाका प्रहरी कार्यालय रघुनाथपुर रहेको छ। डाकाहरूले करिब ४५ मिनेटसम्म लुटपाट गरिरहँदा फोन गर्दासमेत प्रहरी समयमा नआएको पीडित यादवको गुनासो छ।

यता महोत्तरीका प्रहरी उपरीक्षक ईश्वर कार्कीले डाँकाहरूले एकाएक घरमा पसेर सुतेका तीनजनलाई भाटाले हिर्काएर घाइते बनाएको र अन्य सदस्यहरूलाई कुटपिट गरेका जानकारी दिए। डाँकाहरूले तर्साउनलाई सानो सुतली बम प्रयोग गरेकाले त्यसको विस्फोटबाट उनीहरूलाई छर्रा लागेको र थप अनुसन्धान जारी रहेको बताए। दशगजा क्षेत्र पर्ने हुनाले डाँकाहरू सीमापारीबाट आएको हुनसक्ने उपरीक्षक कार्कीले बताए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.