|

संयुक्तराज्य अमेरिकाको न्यूयोर्क सहरका पूर्व प्रमुख (मेयर) माइकल ब्लुमबर्गले आफूले पढेको जोन्स हप्किन्स विश्वविद्यालयलाई एक अर्ब ८० करोड अमेरिकी डलर दान दिएका छन्। यो विश्वविद्यालयमा अध्ययन गर्ने न्यून र मध्यम आय भएका विद्यार्थीका लागि वित्तीय सहायता उपलब्ध गराउन आफूले दान गरेको ब्लुमबर्गले बताए। 

बाल्टीमोरमा रहेको जोन्स हप्किन्स विश्वविद्यालयले अर्को सत्रदेखि उक्त रकम विद्यार्थीलाई उपलब्ध गराइने जनाएको छ। अमेरिकी इतिहासमा कुनै विश्वविद्यालयले प्राप्त गरेको यो नै सबैभन्दा ठूलो चन्दा रकम हो। विश्वविद्यालयले विद्यार्थीलाई छात्रवृत्तिका रुपमा रकम उपलब्ध गराउने स्पष्ट गरेको छ, र यस्तो रकम विद्यार्थीले पुनः भुक्तानी गर्नुपर्ने छैन्।

ब्लुमबर्गले जारी गरेको वक्तव्यमा 'विश्वविद्यालयलाई एउटा उपहार दिएको' जनाइएकाे छ। अमेरिकाको यो विश्वविद्यालय बाल्टीमोरका एकजना व्यापारी जोन्स हप्किन्सले उपलब्ध गराएको ७० लाख अमेरिकी डलरबाट सन् १८७६ मा स्थापना भएको थियो। 

ब्लुमबर्ग एल.पी. का संस्थापक ७६ वर्षीय माइकल ब्लुमबर्ग विश्वकै सर्वाधिक धनी व्यक्तिको सूचीमा छन्। उनले जोन्स हप्किन्सबाट सन् १९६४ मा स्नातक गरेका थिए। उनी सन् २००२ देखि २०१३ सम्म न्यूयोर्क सहरको मेयर हुनुका साथै अमेरिकी राष्ट्रपतिका सम्भाव्य उम्मेदवारमा रहेका थिए। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.